काठमाडौँ : राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विज्ञान प्रविधिमा आधारित उद्यमशीलताको विकासका लागि राज्यले पहल गर्नुपर्ने बताएका छन्।
राष्ट्रिय युवा परिषद्ले आज यहाँ आयोजना गरेको युवा वैज्ञानिक सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले वैज्ञानिक अनुसन्धान र प्रविधिमा आधारित उद्यमशीलता विकासका लागि राज्यको स्पष्ट नीति, पर्याप्त लगानी, सहकार्य प्रणाली र पूर्वाधार निर्माण आवश्यक रहेको बताए।
“वैज्ञानिक अनुसन्धान तथा आविष्कारको क्षेत्रमा नेपालले अन्तरराष्ट्रियस्तरमा उल्लेखनीय उपलब्धि हासिल गर्न अझै सकेको छैन,” उनले भने, “अनुसन्धान अनुकूल संरचना र पूर्वाधारको अभाव, सरकारी लगानीको न्यूनता र नवप्रवर्तनलाई व्यवसायमा रूपान्तरण गर्ने प्रणालीको कमजोरी समाधान गर्न राज्य गम्भीर हुनुपर्छ।”
नेपालका युवामा रहेको सिर्जनशील सोच, सीप र क्षमतालाई देशमै प्रयोग गरी राष्ट्र निर्माणमा परिचालन गर्नुपर्ने बताउँदै उनले युवाहरू विदेश पलायन हुनुपर्ने अवस्था न्यूनीकरणका लागि देशभित्रै भरोसा र अवसर निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए।
यस्ता सम्मेलनले युवामा आशा र सम्भावनाको नयाँ आधार खडा गर्ने उनको भनाइ थियो। विज्ञान प्रविधिमा नेपाल अझै पछाडि रहेको स्वीकार गर्दै अध्यक्ष दाहालले अनुसन्धान पूर्वाधार, सरकारी तथा निजी लगानी, विश्वविद्यालय र प्रयोगशालाबीच समन्वय अभाव, नवप्रवर्तनको व्यवसायीकरण गर्न नीतिगत प्रोत्साहनजस्ता पक्षमा सुधारको आवश्यकता औँल्याए।
उनले अनुसन्धान अनुदान, नवप्रवर्तन कोष, प्राविधिक शिक्षाको सुदृढीकरण तथा बौद्धिक सम्पत्ति अधिकारको संरक्षणका लागि स्पष्ट संरचना निर्माण गर्न जोड दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।