हेटौंडा : हेटौंडा उपमहानगरका प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष सविन न्यौपानेमाथि सांघातिक आक्रमण भएको छ।
भूमिसम्बन्धी समस्या देखाउँदै कालो पोशाक लगाएर मोटरसाइकलमा आएका ४ जनाले उनलाई कार्यकक्षमै आक्रमण गरेको हो। उनीहरूले कार्यालयमा रहेका सामानले वडाध्यक्षको टाउकोमा प्रहार गरेर मोबिल छ्यापेका थिए।
आक्रमणबाट वडाध्यक्ष न्यौपानेको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार वडाध्यक्ष न्यौपानेले चलाउने दुईवटै मोबाइल आक्रमणकारीले लिएर गएका छन्।
केही दिनअघिबाट हेटौंडा– १ स्वर्गलोक हेटौंडा अस्पताल पछाडि रहेको सार्वजनिक जमिनमा घर टहरा निर्माण गर्न खोज्नेलाई हटाउँदै उपमहानगर र वडाले संरक्षणको कार्यक्रम अघि बढाएको थियो। आक्रमणकारीले सोही विषयमा वडाध्यक्षमाथि आक्रमण गरेको आशंका गरिएको छ।
घटनापछि मेयर मीनाकुमारी लामा, उपमेयर राजेश बानियाँसहित अन्य वडाका अध्यक्ष घटनास्थल पुगेका छन्।
प्रमुख लामाले प्रहरीलाई घटनाको गम्भीरताका साथ अनुसन्धान गर्न, दोषी पहिचान गरी कडा कानूनी कारबाही गर्न आग्रह गरेकी छन्।
हेटौंडा उपमहागनरले सविन न्यौपानेमाथि सांघातिक आक्रमण गर्ने आक्रमणकारीलाई छिटोभन्दा छिटो पक्राउन गरी कारबाही गर्न माग गरेको छ। बुधवार साँझ आकस्मिक पत्रकार सम्मेलन आयोजना गर्दै जनप्रतिनिधिहरूले आक्रमणकारीलाई कारबाही गर्न माग गरेको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।