ब्याडमिण्टनमा सिआईटी, प्रभु र मुक्तिनाथको वर्चस्व

|

काठमाडौँ : मर्चेन्ट बैंकर्सहरूको छाता संगठन नेपाल मर्चेन्ट बैंकर्स संघको आयोजनामा शुक्रबारबाट तेस्रो एमबिएएन स्पोर्टस् मिट २०२५ सुरु भएको छ। 

काठमाडौँको हाडिगाउँस्थित धनवन्तरी स्पोर्टस्‌मा शुक्रबारबाट फुटसल, ब्याडमिण्टन र टेबलटेनिसका गरी २ दिने खेलकुद प्रतियोगितामा सुरु भएको हो। 
शुक्रबार टेबलटेनिस र ब्याडमिण्टनका खेल सम्पन्न भएका छन् भने फुटसलका महिला र पुरुषका समूह चरणका खेल सकिएका छन्। 

प्रतियोगिता संयोजक दयाकृष्ण घिमिरेका अनुसार फुटसलका पुरुषको क्वार्टरफाइनल, सेमिफाइनल र फाइनलका खेल तथा महिलातर्फको सेमिफाइनलर फाइनलका खेल शनिबार हुनेछ।

धनवन्तरी स्पोर्टस्‌को टेबलटेनिस बोर्डमा सम्पन्न खेलमा टेबलटेनिसको पुरुषतर्फ ग्लोबल आइएमई क्यापिटलका प्रदीपराज खनाल विजेता भएका छन्। 
उनले एनआईएमबी क्यापिटलका परन्जय नेपाललाई हराउँदै १५ हजार नगद हात पार्ने भएका छन्।  

महिलातर्फ सिद्धार्थ क्यापिटलका कल्पना प्रधानले ग्लोबल आइएमइका वीना अधिकारीलाई हराउँदै उपाधि जितेकी छिन्। विजेता प्रधानले १५ तथा उपविजेता अधिकारीले १० हजार पाउनेछन्।  

टेबलटेनिसकै भेट्रान्सतर्फ एनआइएमबिका पराग विष्टले उपाधि जिते। उनले कुमारी क्यापिटलका अनुप शाक्यलाई हराउँदै उपाधि जितेका हुन्। 

ब्याडमिण्टनको पुरुष डबल्समा सिआईटीका पुरुषोत्तम र अनिल बस्नेत, महिलातर्फ प्रभु क्यापिटलकी सिर्जना र पूजा विजयी भए। उनीहरूले मुक्तिनाथका खेलाडीलाई फाइनलमा हराए। यसैगरी भेट्रानतर्फको उपाधि गरिमा क्यापिटलका अशोक र तुलसीले जितेका छन्। उनीहरूले फाइनलमा सानिमाका खेलाडीलाई हराएका छन्।  

उद्घाटन कार्यक्रममा बोल्दै नेपाल धितोपत्र बोर्ड सेबोनका अध्यक्ष विनयदेव आचार्यले स्वास्थ्यका लागि खेलकुद अति आवश्यक रहेको बताएका छन्। 
उनले खेलको माध्यमबाट एक आपसमा सद्भाव कायम गर्दै भातृत्व स्थापना गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको बताए। 

मर्चेन्ट बैंकर्सहरूमा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई एकै ठाउँमा उपस्थित गराई खेलकुदको माध्यमबाट एक आपसमा चिनजान गर्ने र उनीहरू सबैलाई स्वस्थ बनाउने स्पोर्टस् मिटको उद्देश्य रहेको संघका अध्यक्ष रामेन्द्र रायमाझीले बताए।  

सो प्रतियोगितामा संघमा आबद्ध २६ मध्ये २२ वटा बैंकर्सले भाग लिएका छन्। प्रतियोगिता अन्तर्गत फुटसलमा पुरुष र महिला गरी २ इभेन्टमा प्रतिस्पर्धा भइरहेको छ। फुटसलमा पुरुषतर्फ १५ वटा र महिलातर्फ ८ वटा टिमले भाग लिएका छन्।  

फुटसलको पुरुषतर्फ विजेता टिमले ८० हजार नगदसहित शिल्ड र प्रमाणपत्र पाउनेछ भने उपविजेताले ४० हजार प्राप्त गर्नेछ। महिलातर्फ विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद प्राप्त गर्नेछ। 

पुरुष र महिला दुबैतर्फका उत्कृष्ट खेलाडी , गोलकिपर र सर्वाधिक गोलकर्ताले नगद क्रमशः १०–१० हजार प्राप्त गर्नेछन्। 

प्रतियोगिता सञ्चालनका लागि विभिन्न मर्चेन्ट बैंकबाट ५ जनाको एमबिएएन स्पोर्टस् मिट कमिटी बनाइएको थियो। जसमा दयाकृष्ण घिमिरे, अमोद अधिकारी, विपिन नेपाल, विजय पोखरेल र सबिन बुढाथोकी रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.