पूर्व वडाध्यक्ष नै संलग्न

|

विराटनगर : अशोक राई धनकुटाको सहिदभूमि गाउँपालिका– १ का पूर्ववडाध्यक्ष हुन्। कार्यकाल सकिए पनि उनको प्रभाव कायमै छ।

उनको मुख्य व्यवसाय नै लागुऔषध गाँजाको भण्डारण र ओसारपसार रहेको स्थानीय बताउँछन्। सामान्यतया कुनै व्यक्तिले लागुऔषध कारोबारलाई वैकल्पिक आम्दानीको माध्यम बनाउँछ भन्ने बुझाइ हुन्छ।

राईको हकमा त्यो बुझाइ उल्टो छ, स्थानीयको दाबीअनुसार गाउँमा अरू केही काम गर्दैनन्, गाँजाकै भरमा घर ठड्याए, महँगो गाडी कुदाउँछन्।

उनको तस्करीको शैली पनि व्यवस्थित छ। उनको आफ्नै तस्करीको सञ्जाल छ। खेतबारीमा गाँजा रोप्ने, काट्ने, सुकाउने, प्याकेजिङ गर्ने र ट्रान्सपोर्टमा संलग्न ‘भरोसायोग्य चालक’ छन्।

नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका राईविरुद्ध पदमा रहँदासमेत गाँजा ओसारपसारमा प्रत्यक्ष संलग्न रहेको आरोपमा मुद्दा दायर भएको प्रहरी स्रोतले बतायो। तर राजनीतिक आड र हस्तक्षेपका कारण प्रहरीले उनीविरुद्ध कारबाही अघि बढाउन सकेन।

 प्रहरी स्रोतका अनुसार पदमै रहँदा लागुऔषध कारोबारमा मुछिएका राईमाथि पक्राउ र अनुसन्धानको प्रक्रिया थालिए पनि दलगत दबावका कारण मुद्दा कमजोर बनाइएको थियो। गाँजा तस्करमा राईको संलग्नता प्रमाणित भए पनि राजनीतिक पहुँच र प्रभावका कारण उनी कानुनको कठघरामा उभिनबाट जोगिए।

पूर्ववडाध्यक्ष राईमाथि गाँजा ओसारपसारमा संलग्न रहेको आरोप नयाँ होइन। २०८१ मंसिर ११ गते राति सुनसरी प्रहरीले धरान–१३ अमरहाटमा चेकिङ छलेर भाग्ने २ वटा गाडीलाई हवाई फायर गरी नियन्त्रणमा लिइयो। दुवै गाडीबाट ६९० किलो गाँजा बरामद भयो। बा १ झ ५१२७ र बा १ झ ४६०५ नम्बर प्लेट भएका ती गाडीको नम्बर सरकारी निकायसँग मिल्दोजुल्दो थियो।

पहिलो गाडीको नम्बर कानुन तथा न्याय मन्त्रालयसँग र दोस्रो गाडीको नम्बर अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग गाडीको नम्बरसँग मिल्दोजुल्दो थियो।

प्रहरीले त्यतिबेला मोरङको सुन्दरहरैंचा–११ का श्यामकुमार विश्वकर्मालाई पक्राउ गर्‍यो। विश्वकर्माको बयानको आधारमा राईलाई प्रहरीले फरार प्रतिवादी बनाएर मुद्दा दायर गर्‍यो। प्रहरीले औपचारिक रूपमा खोजी जारी राखे पनि राई पक्राउ परेनन्।

राई पछि अदालतमा हाजिर भएर धरौटीमा रिहा भएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी प्रकाश जबेगुले जानकारी दिए।

‘अशोक राईलाई प्रतिवादी बनाइयो, अदालतमा हाजिर भएर धरौटीमा निस्किसक्नुभयो’, डीएसपी जबेगुले भने, ‘चालक पुर्पक्षका लागि थुनामा छ।’

डिएसपी जबेगुले विश्वकर्माको वयानको आधारमा राईलाई प्रतिवादी बनाएको बताए। त्यसपछि ‘फलोअप’ नभएको उनको भनाइ छ।

फोनमा प्रयोग हुने सिम भारतीय नामबाट झिक्ने र प्रयोग गर्ने भएकाले मुख्य व्यवसायी नभएर ओसारपसार गर्ने व्यक्ति मात्रै पक्राउ पर्ने गरेको प्रहरीको भनाइ छ।

सरकारी नम्बर प्लेट प्रयोग गरिएको गाडी अशोक राईको भनेर नखुलेको प्रहरीले बताएको छ। स्थानीय स्रोतले भने सरकारी नम्बर प्लेट प्रयोग गरेको गाँजा ओसारपसार गरिएको गाडी उनै राईको रहेको दाबी गरेको छ।

सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिना प्रहरीको सुरक्षा जाँच छल्न सरकारी नम्बर प्लेट प्रयोग गरेर गाँजाको ओसारपसार गर्ने गरिएको बताउँछन्। ‘गाँजालगायतका लागुऔषध नियन्त्रण गर्न प्रहरी सक्रिय भएर लागेको छ’‚ उनले भने, ‘कतै त्यस्तो भइरहेको पाइयो भने प्रहरीलाई तत्काल जानकारी दिएर सहयोग गर्नुपर्छ।’

अदालतबाट छुटेका पूर्ववडाध्यक्ष राई भने खुलेआम गाँजा तस्करीमा सक्रिय छन्। सहिदभूमि– १ मा रहेको पूर्ववडाध्यक्ष राईको घरलाई गाँजा ‘प्याक’ गर्ने केन्द्रको रूपमा प्रयोग गरिन्छ। स्थानीयका अनुसार घरभित्रै गाँजालाई सुकाउने, झोला–बोरामा प्याक गर्ने र गाडीमा लोड गरेर पठाउने काम खुलमखुला हुन्छ।

स्थानीयका अनुसार गाउँको सोझासिधा मान्छेहरूलाई खाजा नास्ताको भरमा पैसा नदिई राईले काम लगाउने गरेका छन्। प्रहरी र नेताहरुसँग ‘सेटिङ’ मिलाउन भन्दै गाउँमा रकम असुल्ने गरेको स्थानीयको गुनासो छ।

स्थानीयले राईको घरमै गाँजा प्याकिङ भइरहेको र ओसारपसारका लागि तयारी भइरहेको भिडियो शनिबार प्रहरीलाई बुझाएका थिए तर प्रहरी पुग्नुअगाडि नै गाँजा राख्ने ठाउँ परिवर्तन गरियो। जुन प्रमाण नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापा समक्षसमेत पुगेको छ।

गाँजा ‘प्याकेजिङ’को सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालय विराटनगरबाट डीएसपी दुर्गा दाहालको कमाण्डमा प्रहरी परिचालन भएको थियो। प्रहरी पुग्दा सबै सामान उठाइसकिएको थियो। त्यहाँ गाँजा फेला परेन।

गाँजा कारोबार भइरहेको स्थानमा पुगेको प्रहरीले गाँजा नभेट्नु शंकास्पद छ। पहिले नै सूचना चुहावट भएपछि गाँजा ओसारपसारमा संलग्न समूहहरू प्रहरीको चेकजाँचभन्दा अघि नै सामानसहित भागेको स्थानीय बताउँछन्। यसले डीएसपीको कार्यक्षमता मात्रै होइन, भूमिकामा समेत प्रश्न उठेको छ।

त्यसो त सुनसरी, मोरङ, धरान, धनकुटाजस्ता जिल्लामा देखिएका घटनामा गाँजा बोकेको गाडी प्रहरी चेकजाँचबाट जोगिन सफल भएका उदाहरण प्रशस्त छन्। कतिपय ठाउँमा अक्सर कारबाहीमा भरिया पक्राउ पर्छन् तर मुख्य व्यवसायी पक्राउ पर्न मुस्किल पर्छ। प्रहरी प्रधान कार्यालयसम्म पुगेको विषयमा कारबाही फितलो देखिनु प्रहरी संयन्त्रमा नै प्रश्न उठेको स्थानीयको गुनासो छ।

पूर्ववडाध्यक्ष राई धनकुटा सहिदभूमि–१ मा गाँजा प्याक गराउँछन् तर अधिकांश समय इटहरीमा बसेर तारिख धाउँछन्। नक्कली सरकारी नम्बर प्लेट भएको गाडीमा प्रहरीले बरामद गरेको गाँजाको केसमा मुद्दा खेपिरहेका राई गाँजा ओसारपसारमा प्रत्यक्ष रूपमा बाहिर नआए पनि उनको भरपर्दा सहयोगी आफ्नै भाइहरू चिरञ्जीवी थुलुङ राई, पूर्ण भन्ने बुद्धप्रसाद थुलुङ राई र डुकुराम थुलुङ राई रहेको स्रोतले बतायो।

स्रोतका अनुसार सुनसरी चतराका भकभके भनिने राम राईले चतराबाट लागुऔषध गाँजा भारतसम्म पुर्‍याउने गरेको पाइएको छ। भुषण राई, सन्तोष राईले धनकुटाबाट सुनसरी हुँदै गाँजा बोकाउने, कटाउने र भारत पुर्‍याउने काम गर्छन्। उनीहरु सहिदभूमिका हुन्। बाले भनिने बालकुमार राई पनि उनका भरपर्दा व्यक्ति हुन्। अहिले उनी अहिले फरार प्रतिवादीमा छन्।

उनीहरुको समूहसँग भौगोलिक चिनजान मात्र होइन, प्रहरी मुभमेन्टबारे सटिक सूचनासमेत हुने गरेको स्रोतहरू बताउँछन्। यही सूचनाका कारण गाडी र चालक पटक–पटक पक्राउ परे पनि मुख्य नाइके उम्किन सफल भएका छन्।

यस विषयमा बुझ्न खोज्दा पूर्ववडाध्यक्ष राई भने सम्पर्कमा आउन चाहेनन्। पटकपटक गरेको फोन उठाएनन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले घटनाबारे थाहा नपाएको बताए। घटनाका बारेमा थाहा नभएको भन्दै जवाफ दिनबाट उनी पन्छिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.