यतिवेला मध्यपूर्व संकटमा छ। इजरायलले आफ्ना छिमेकी मुलुकमा निरन्तर आक्रमण गरेर मध्यपूर्वमा आफ्नो पकड बलियो देखाउन चाहिरहेको छ। इजरायलले सिरिया, लेबनानको हिजबुल्लाह, प्यालेस्टाइनको हमास, यमनको हुथीमाथि निरन्तर आक्रमण गर्दै आएको छ। यसबाट मध्यपूर्वका नागरिकहरूले ज्यान गुमाइरहेका छन्। शरणार्थी जीवन बाँच्न बाध्य छन्। सबैभन्दा मुख्य कुरा जीवन र मरणको दोसाँधमा छन्। इजरायलले ती सशस्त्र समूहबाट आफ्ना नागरिकको सुरक्षा चाहन्छ। आफ्नो देशको सुरक्षा चाहन्छ। सशस्त्र समूहमाथि इजरायलले धावा बोलिरहन्छ।
ती सशस्त्र समूहले पनि निरन्तर इजरायलमाथि वेला-वेलामा युद्ध छेड्छन्। बाहिरबाट हेर्दा इजरायल र ती सशस्त्र समूहबीचको लडाइँ देखिए पनि यसको मुख्य जड भने इरान-इजरायल र पश्चिमा देश अमेरिकालगायतको एलाइन्सको टकराव नै हो।
उक्त युद्ध र यसका बाछिटाहरू विश्वका धेरै देशहरू प्रत्यक्ष रूपमा प्रभावित छन्। जसमा नेपाल पनि प्रभावित छ।
गत वर्ष सन् २०२३ अक्टोबर ८ मा हमासले इजरायलमा आक्रमण गर्यो। जसमा १० जना नेपालीले ज्यान गुमाए भने विपिन जोशी हमासको कब्जामा परे। विपिन हालसम्म पनि अज्ञात छन्। उनी जिउँदै छन् या मारिइसके यसको कुनै सूचना बाहिरिएको छैन। हमासबाट बन्धक बनाइएका विपिन जोशीको रिहाइका लागि नेपालले कुटनीतिक हिसाबले विभिन्न देशसँग समन्वय गर्यो। परराष्ट्र मन्त्रालयदेखि नेपालका प्रधानमन्त्रीसमेतले हमास-इजरायल युद्ध रोक्न मध्यस्थ गरिरहेका कतारलगायतका देशहरूसँग संवाद गर्यो।
हमासले बन्धक बनाएका दुई सय ५१ जनामध्ये ३४ जनाको मृत्यु भइसकेको छ भने हमासले ५० बन्दी मुक्त गर्ने निर्णय गरेको थियो। बदलामा उसले आफ्ना कयौँ नागरिक फिर्ताको सर्त राख्यो। नेपालले त्यो फिर्ताको सूचीमा जोशीको पनि नाम समेटिने आशा राखेको भए पनि उक्त आशामा तुषारापात लाग्यो। अन्य देशका बन्दी मुक्त गर्दा पनि त्यस सूचीमा नेपाल पर्न सकेन।
इजरायल हमास युद्धको रापताप अहिले पनि उस्तै छ। त्यसैमाथि इजरायलले लेबनानमा पनि हिजबुल्लाह समूहमाथि आक्रमण गर्यो।यसमा झन इजरायलले हिजबुल्लाहका सदस्यले चलाउने पेजरमा बम जडान गरेर उनीहरूलाई हायलकायल बनाइदियो।
यसैबीच हाल इजरायल र इरानबीच युद्ध छेडिएको छ। विश्वका विभिन्न देशले युद्ध हुनु अगाडि नै आफ्ना नागरिक स्वदेश फिर्ता गरिसकेका छन्। भारत, अस्ट्रेलिया र युरोपका देशहरूले आफ्ना नागरिक फिर्ता गरे पनि नेपालले भने बल्ल स्वदेश फर्कन चाहने नेपालीले अनलाइन फर्म भर्न भन्दै विज्ञप्ति जारी गरेको छ।
स्वदेश फिर्तामा विदेशी आक्रमक, नेपाल सुस्त
इजरायल इरान युद्धलाई मध्येनजर गर्दै विभिन्न देशहरूले आफ्ना नागरिकलाई स्वदेश फर्काएका छन्।
युद्ध अगाडि नै जर्मनी, इटाली, ग्रीस, इजिप्ट, अल्बानिया, अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, फ्रान्स, जर्मनी, जर्जिया, हङ्गेरी, इटाली, लिथुआनिया, रोमानिया, स्वीडेन, स्विट्जरल्याण्ड, संयुक्त राज्य अमेरिकाका र पोल्याण्डले आफ्ना नागरिकहरू फिर्ता लगे पनि नेपालको हकमा भने त्यो लागू हुन सकेन्।
नेपालीलाई स्वदेश फर्काउन त परै जाओस इजरायलमा कति नेपाली छन् भन्ने कुराको यकिन तथ्यांक छैन। इजरायलमा ५ देखि ७ हजार नेपाली रहेको अनुमान भने छ। जी टु जीमार्फत रोजगारीका लागि आएकाको संख्या २ हजार छ।
इजरायलमा बसेका, अध्ययनका लागि आएका घरजम गरी बसेकाको संख्या मुस्किलले एक हजार छन्। उनीहरूलाई राजदूतावासले घर फर्कन अनलाइन फारमको व्यवस्था गरेको छ। इजरायलको अन्तरराष्ट्रिय विमानस्थल हाल बन्द रहेकाले नेपालीहरू घर फर्कन सक्ने अवस्था के होला सोचनीय विषय बनेको छ। कुनै पनि देशले विपत्ति आउनु अगाडि पूर्वतयारी गरे पनि नेपाल भने यसमा पनि चुकेको छ।
इरानमा पनि आक्रमण
इजरायल र अमेरिकाको दोहोरो चपेटामा परेको इरानले अहिले कुनै पनि हालतमा उनीहरूसँग आत्मसर्पण नगर्ने बताइसकेको छ। अहिले लगातार इजरायल इरानबीच मिसाइल आक्रमणहरू भइरहेका छन्। उता अमेरिकाले पनि इजरायलको साथ दिँदै इरानका विभिन्न स्थानमा आक्रमण गरेको छ।
तर यो आक्रमण हुनु अगाडि नै विभिन्न मुलुकले आफ्ना नागरिकहरूलाई इरान छाड्न एड्भाइजरी जारी गरिसकेका थिए। इजरायलले इरानमा आक्रमण गरेपछि इरानमा रहेका भारतीय विद्यार्थीहरूलाई सुरक्षित स्थानमा स्थानातरण गरिसकिएको छ। केही भारतीय नागरिकले तेहरान छोडिसकेका छन्।
इरानमाथि आक्रमण सुरु गरेको चार दिनपछि इजरायलले आफ्नो आक्रमण जारी राख्ने वाचा गरेपछि नयाँदिल्लीले भारतीय विद्यार्थीलाई पहिले नै तेहरान छोडाइसकेको छ। अस्ट्रेलिया सरकारले इरानबाट नागरिकहरू निकालेको छ।
परराष्ट्र मन्त्रालयले इरानमा रहेका नेपाली फिर्ता ल्याउन मद्दत गर्न भारतलाई आग्रह गरेको छ। भारतले इरानबाट आफ्ना नागरिकसँगै नेपाली र श्रीलंकालीलाई पनि उद्धार गर्ने जनाएको छ। इरानस्थित भारतीय दूतावासले नेपाल र श्रीलंका सरकारको अनुरोधमा इरानस्थित दूतावासद्वारा भइरहेको उद्धार प्रयासमा नेपाली र श्रीलंकाली नागरिकलाई पनि समेटिएको बताएको छ।
नेपाल र श्रीलंकाका नागरिकहरूले आपत्कालीन अवस्थामा तुरुन्त आफूलाई सम्पर्क गर्न सक्ने भारतीय राजदूतावासले जनाएको छ।
महँगीको मार!
मध्यपूर्वको युद्धले नेपाल जस्ता देशका भान्सामा सिधै असर पर्ने देखिन्छ। यसका लागि इरानले सहयोग गरिरहेको विद्रोही समूह हुथीको चर्चा गर्न जरूरी छ। यमनमा रहेको विद्रोही समूह इरानको असल मित्र हो भने पश्चिमा मुलुकहरू र इजरायल उसको परम शत्रु।
इरानले आफ्नो क्षेत्र विस्तारका लागि हुथीलाई आर्थिक तथा हातहतियार सहयोग गर्दै आएको बताइन्छ। इरानले यमनस्थित हुथी विद्रोहीलाई पनि समर्थन गर्दछ। गृहयुद्धले आक्रान्त यमनको अधिकांस हिस्सा हुथी विद्रोहीको कब्जामा छ। हुथी विद्रोहीले व्यवसायिक सामुद्रिक पानी जहाजहरूमाथि पनि आक्रमण गर्दै आएका छन्। हुथी हमलाको जवाफमा अमेरिका तथा वेलायतले उसका कैयन् स्थानहरूमाथि हवाई आक्रमण गरेका छन्।
चर्चा गरौँ तेल आपूर्तिको। हाल नेपाल पेट्रोलियम पदार्थका लागि भारतसँग आश्रित छ। भारतले पेट्रोलियम पदार्थहरू सबै देशमा नै उत्पादन गर्न सक्दैन। खपतको ८५ प्रतिशत उसले विदेशबाट आयात गर्ने तथ्यांकहरूले देखाउँछन्। साउदी अरब र लाल सागर मार्गहरूबाट तेल आयात गर्ने भारतले हुथीको आक्रमणबाट बच्नुपर्ने अबको चुनौती छ।
यस्ता अवरोधहरूले भारतमा तेलको मूल्य बढाउन सक्ने समाचारहरू बाहिरिरहेका छन्। रेड सीको महत्त्वपूर्ण जलमार्ग अवरुद्ध गर्दै आएका हुथीहरूले अब इरानमाथि भएको आक्रमणको बदला लाल सागरबाट लिन सक्ने छन्। उनीहरूले यसअगाडि पनि अन्तरराष्ट्रिय व्यापार ठप्प पार्ने प्रयास गरेका थिए। रेड सीको तनाव जारी रहे ढुवानी शुल्क ४० प्रतिशतसम्म वृद्धि हुन सक्ने आँकलन अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
यसअगाडि पनि हुथी विद्रोहीहरूले इजरायलले हमासमा युद्धविराम नगरेसम्म रेड सी हुँदै जाने जहाजहरूमा आक्रमण जारी राख्ने बताउँदै आएका थिए। अब झन आफूलाई आर्थिक तथा हतियार सहयोग गरिरहेको इरानमाथिको आक्रमणको बदला लिन सक्ने छ। तेलको आपूर्ति कम हुँदा यसको सोझै असर नेपाल जस्ता मुलुकमा व्यहोर्नुपर्छ।
राजनीतिक अस्थिरता,अन्योलग्रस्त भविष्य
हमास इजरायलको युद्धका बीच पनि नेपालीहरू विशेष गरी ‘केयर गिभर’का रूपमा इजरायल पुगिरहेका छन्। सरकारले केयर गिभरका लागि यसअगाडि पनि इजरायलमा नेपाली पठाएको हो।
तर इरान-इजरायल युद्धले भने एअरपोर्ट पुगेका नेपाली ३५ जनालाई फिर्ता गरिदियो। इजरायलले अर्को सूचना जारी नगरेसम्म उनीहरूलाई नपठाउन भनेको हो। युद्ध मत्थर भएपछि र उडानहरू नियमति भएपछि उनीहरू इजरायल जान पाउनेछन्।
वैदेशिक शिक्षा तथा रोजगारमा विदेशिनु नेपालका लागि बाध्यता हो। यो कतिका लागि रहर भए पनि धेरैका लागि बाध्यता हो। नेपालीहरू विशेष गरेर आर्थिक, सामाजिक, शैक्षिक, र राजनीतिक कारणले विदेशीन बाध्य छन्।
नेपालमा रोजगारीका अवसरहरू सीमित छन्। बढ्दो गरिबी र बेरोजगारी अर्को कारण हो। अस्थिरता, सुरक्षित भविष्यको कल्पनालगायतका विभिन्न कारणले नेपालीहरू जस्तोसुकै जोखिम लिन तयार छन्। त्यसैले त इजरायलमा भइरहेको युद्धका बीच पनि नेपाली युवाहरू विदेशीन कम्मर कसिरहेका छन्।
इजरायल-इरान युद्धले मध्यपूर्वमा नेपाली कामदारहरूको सुरक्षा र नेपालको अर्थतन्त्रमा अप्रत्यक्ष प्रभाव पार्ने देखिएको छ। महँगी बढ्ने छ भने थप आर्थिक संकट देखिने प्रबल छ।
अमेरिकाका सैनिक तैनाथी, नेपाली कामदार
विश्वको कुनै पनि देशको युद्धमा अमेरिका जोडिए त्यसको असर संसारभरका नागरिकलाई पर्नु स्वभाविक हो। त्यसमाथि मध्यपूर्वको युद्धमा अमेरिकाको संग्लनता थप जटिल समस्या नेपालका लागि पनि पर्न सक्छ। कारण नेपाली युवाहरूको वैदेशिक रोजगारको मुख्य देश खाडी हुन् भने अमेरिकाले आफ्ना सेनाहरूको तैनाथी।
नेपालीहरूका लागि युएई, कतार, साउदी अरब, कुवेत,ओमानका खाडी देशहरू मुख्य वैदेशिक रोजगारका केन्द्र हुन्। करिब तीस लाख नेपालीहरू यस क्षेत्रमा काम गरिरहेको बताइन्छ। यो चर्चा गर्नु अगाडि वैदेशिक रोजगारबापत नेपाल भित्रिने रेमिट्यान्सको चर्चा गर्नु अनिवार्य छ।
केही दिन अगाडि राष्ट्र बैंकले जारी गरेको तथ्यांकअनुसार चालु आर्थिक २०८१/८२ को दश महिनामा १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। दश महिनाको विवरणअनुसार यो रेमिट्यान्स गत वर्षको पहिलो १० महिनाको तुलनामा १३ दशमलव २ प्रतिशतले वृद्धि भएको हो। रेमिट्यान्सको ठूलो हिस्सा खाडी मुलुकको हो।
अब चर्चा गरौँ अमेरिकी बेस क्याम्पको। त्यस्तै अमेरिकाले यी मुलुकमा आफ्ना सैनिक क्याम्पहरू राखेको छ। अमेरिकाले आंतकवादविरूद्धको लडाइँ, सुरक्षा र आफ्ना सहयोगी देशहरूको सुरक्षा गर्ने भन्दै सैनिक क्याम्पको औचित्य पुष्टि गर्दै आएको छ। अमेरिकाले कतारमा अल उदेद एयर बेस राखेको छ, जहाँ १० हजार सैनिक रहेको आंकलन गरिन्छ।
प्रिन्स सुल्तान एयर बेस साउदी अरबमा रहेको छ, जहाँ तीन हजार सैनिक रहेको अनुमान छ। अल धफ्रा एयर बेस युएई, क्याम्प एरिफजान र अलि अल सालेम एयर बेस कुवेत, नेभल सपोर्ट एक्टिभिटी बहराइन, मसिराह टापुमा रहेको बेस ओमानमा राखेको छ।
यदि इरान वा उसका सहयोगी समूहले अमेरिकासँग युद्ध लड्दा यी बेसक्याम्पहरूमा पनि हमला गर्न सक्छ। यदि इरान र इरान समर्थित सशस्त्र समूहले ती देशका अमेरिकी सैनिक क्याम्पमा आक्रमण गरेको खण्डमा पनि युद्धको नयाँ श्रृंखला खुल्ने कुरालाई नकार्न सकिँदैन। जसले गर्दा नेपालीहरूलाई सोझै प्रभावित बन्न सक्छन्। अब अन्त्यमा इरान र इजरायल किन लड्दैछन्? भन्ने कुरा आम जनचासो हुन सक्छ। अब लागौँ इजरायल-इरानको इतिहास र शत्रुताको कथामा :
इजरायल र इरान अहिले जुन हिस्साको शत्रुताको व्यवहार गर्छन्। यि दुई देशको इतिहास त्यस्तो कटुतापूर्ण थिएन सन् १९७९ सम्म। तर सन् १९७९ मा इरानमा इस्लामिक क्रान्ति भइदियो। र इजरायलसँगको सम्बन्धमा दरार सुरू भयो। किन भने त्यसपछि इरानमा नयाँ सरकारको स्थापना भयो। जसको विचारधारा इजरायलको टाउको दुखाइ बन्यो।
हाल इरान कुनै पनि हालतमा इजरायललाई पृथ्वीको नक्साबाट हटाउन चाहन्छ। त्यसका लागि उसले जुनसुकै मूल्य चुकाउन सक्ने बताइसकेको छ। यतिसम्म इरानले अहिले इजरायलको अस्तित्व नै स्वीकार गर्दैन। इजरायलाई अमेरिकाको गोटीका रूपमा मात्र चित्रण गर्छ।
इजरायललाई क्यान्सरको ट्युमरका रूपमा अर्थ्याउँछन् इरानका सर्वोच्च नेता रहेका आयातुल्लाहअली खामेनी। इजरायलको अस्तित्व मेटाउन उसले गोप्यरुपमा परमाणु हतियार बनाइरहेको आरोप पनि इजरायलको छ।
जुन इरानले सधैँ इन्कार गर्छ। इजरायलले पनि इरान आफ्नो अस्तित्वका लागि खतराको रुपमा रहेको र इरानको परमाणु हतियार बनाउनबाट रोक्न जुनसुकै मूल्य चुकाउन तयार छ।
इजरायलले आफूविरूद्ध लड्न इरानले हुथी, हिजबुल्लाह र हमासजस्ता शसस्त्र समूहलाई आर्थिक तथा विस्फोटक सामाग्रीहरू उपलब्ध गराउँदै आएको बताउँछ।
इजरायलमाथि सशस्त्र समूहसँग लड्दा इरान सोझै युद्धमा होमिएको थिएन। तर जब गत अप्रिल १ मा दमास्कसस्थित इरानी कन्सुलेटमा भएको हवाई आक्रमणमा धेरैजना वरिष्ठ इरानी कमान्डरहरू मारिए तब उसले इजरायललाई जिम्मेवार ठहर्यायो। मारिनेमा इरानका कुद्स फोर्सका ब्रिगेडियर जनरल मोहम्मद रेजा जाहेदी पनि थिए। कुद्स फोर्स इरानको सैन्य दस्ता रिपब्लिकन गार्डस् अन्तरगतको देशबाहिर क्रियाशील सैन्यबल हो।
पछिल्ला दिनमा इरानको रिपब्लिकन गार्डस्का कतिपय ठूला कमान्डरहरू सिरियामा मारिए। रिपब्लिकन गार्डस्ले सिरियाको बाटो हुँदै हेजबुल्लाहका लागि हतियार तथा सैन्य सामग्रीहरू पठाउने गरेको आरोप इजरायलको रहेको छ।
पछिल्लो समय इरानका नेताहरूले सार्वजनिकरूपमै इजरायललाई विश्व मानचित्रबाट नामेट पार्ने धारणा राख्न थालेपछि इजरायलले आफूमाथि आक्रमण हुने र इरानमा परामाणु बम बनाउन काम भइरहेको भन्दै आइरहेको थियो।
इजरायल र इरानबीच वेला-वेलामा सानातिना द्वन्द्व भइरहेका थिए तर गत अक्टोबरमा इजरायलले साइबर आक्रमण गरेर इरानको हवाई रक्षा प्रणाली क्षतिग्रस्त बनाएपछि इरान आक्रमक बन्यो। उसले इजरायलमाथि तीन सयभन्दा बढी ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको थियो। हाल भने दुवै देश युद्धको मैदानमा छन्। अब यो युद्ध कसरी अन्त्य हुन्छ, त्यो भने हेर्न बाँकी नै छ।
लेखक रिमाल वेलायतमा अन्तरराष्ट्रिय सम्बन्ध तथा राजनीति शास्त्रका विद्यार्थी हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।