काठमाडौं : ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को लागि ४५ करोड ५९ लाख ७६ हजारको बजेट ल्याएको छ।
मंगलबार बसेको गाउँपालिकाको १६औं अधिवेशनमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो। गाउँपालिका अध्यक्ष कृष्णमान लामाले नीति तथा कार्यक्रम र उपाध्यक्ष राजनप्रसाद घिमिरेले बजेट प्रस्तुत गरेका थिए।
‘कृषि पर्यटन, संस्कृति, वातावरण र पुर्वाधारः सुशासनयुक्त, सभ्य र समृद्ध कोन्ज्योसोमको आधार’ भन्ने अवधारणासहित गाउँपालिकाका उपाध्यक्ष राजन प्रसाद घिमिरेले ४५ करोड ५९ लाख ७६ हजारको कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको छ । सभाले मंगलबार नै नीति तथा कार्यक्रम पारित गरिसकेको छ भने छलफलका प्रक्रिया सम्पन्न गरी १६ गते बजेट पारित गर्ने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष कृष्णमान लामाले बताए।
अध्यक्ष लामाले नागरिकका अपेक्षा अनुसारका काम गर्न सीमित स्रोत साधनले कठिनाइ भएपनि सक्दो कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने बताए। पालिकाले आर्थिक विकासका कृषि, पर्यटन, उद्यमशीलनलाई प्राथमिकतामा राखेको उनको भनाइ छ।
गत असोजमा गएको बाढीका कारण क्षतिको पुन निर्माणलाई प्राथमिकता दिइएको नीति तथा कार्यक्रममा उल्लेख छ। नीति तथा कार्यक्रममा जनपरिचालन देखि अन्तर सरकार समन्वयमार्फत गाउँपालिकाको समृद्धिको लक्ष्यमा अगाडि बढ्नेमा जोड दिइएको छ। विकासमा जनताको अपनत्व बढाउन ‘एक महिनाको एक दिन समुदायका लागि’ भन्ने मौलिक कार्यक्रम अगाडि सारिएको छ।
यस्तै गाउँपालिका भित्रका उद्यमशील बन्न चाहनेहरूलाई गाउँपालिकाले आफू जमानी बसेर ऋण उपलब्ध गराउने भएको छ। विभिन्न बैंक तथा वित्तीय संस्थासँगको समन्वयमा यस्तो कार्यक्रम कार्यान्वयन गरिने अध्यक्ष लामाले बताए।
कृषि उद्यम प्रवर्द्धन बहुउद्देश्यीय बिक्री केन्द्र संचालन गरिने भएको छ। बिउ बैंक दलचोकीको व्यवस्थापनदेखि दुग्धजन्य पदार्थहरूलाई उपभोग्य तथा पर्यटक कोसेलीको रुपमा प्रवर्द्धन गर्ने कार्यक्रम ल्याएको छ।
पालिको १६ औं अधिवेशनको उद्घाटन समारोहमा सेवानिवृत शिक्षक, कर्मचारीलाई सम्मानसहित बिदाइ गरिएको थियो भने गाउँपालिकाको लोगो अनावरण गरिएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।