|

काठमडौँ : काठमाडौँ महानगरपालिका शिक्षा विभाग र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा महानगरअन्तर्गतका ४६ विद्यालयमा सञ्चालित शिक्षामा सीप कार्यक्रमअन्तर्गत विद्यार्थीबाट सिर्जित कलाकृतिको आजदेखि प्रदर्शनी सुरु भएको छ। 

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रदर्शनीको उद्घाटन गर्दै शिक्षा र कलालाई सँगसँगै जोडेर लैजान जरुरी रहेको बताए। उनले भने, “यो हेर्दा सामान्यजस्तो लाग्छ तर समाजमा भोलि सृजनात्मक रूपले बौद्धिक र प्राज्ञिक क्षेत्रमा जानुका साथै विभिन्न व्यक्तित्व निर्माणका लागि पनि प्रारूपमा कला सृजना आधारभूत विषय हो।”

प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रदर्शनीमा करिब एक हजार ३०० भन्दा बढी विद्यार्थीले सृजना गरेका चित्र तथा मूर्ति राखिएको जानकारी दिए। उनले सृर्जनशील समाजसँगै सृर्जनशील नागरिक बनाउन कलाको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै यस प्रदर्शनीले भोलिका दिनमा नेपाल कस्तो हुन्छ भनेर चित्र/मूर्तिमार्फत सङ्केत गरिएको धारणा राखे।

कार्यक्रम संयोजक एवं प्रतिष्ठानका बहुआयामिक तथा अन्य सृजनात्मक कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारीले कलाकार बन्नु उपलब्धिमूलक भएकाले अन्य क्षेत्र जत्तिकै यस क्षेत्रमा प्रगति गर्न सकिने बताइन्।

यही असार १७ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा काठमाडौँ महानगरअन्तर्गतका पशुपति मित्र स्रोत केन्द्र मावि, श्रम राष्ट्रिय मावि, बाल व्यसायी केन्द्र मावि, शिवपुरी मावि, शान्ति विधागृह मावि, बाँसबारी मावि, महेन्द्र राष्ट्रिय मावि, धुम्रबराह मावि, टङ्गाल मावि, नन्दी मावि, पद्मोदय मावि, सहिदशुक्र मावि, पद्मकन्या माविका विद्यार्थीको सृजना समावेश छ। 

यस्तै विजय स्मारक मावि, भानु मावि, संस्कृत बौद्घ मावि, रत्नराज्य मावि, महेन्द्रबौद्ध मावि, नवजागृति मावि, जनकल्याण मावि, ज्ञानोदय मावि, जनप्रभात मावि, नील बाराही मावि, कुलेश्वर मावि, जन विकास मावि, जनपथ मावि, शान्ति निकुञ्ज मावि, नेपाल आदर्श मावि, बाल सेवा मावि, विश्व निकेतन मावि, गुहेश्वरी बाल शिक्षा मावि, सरस्वती निकेतन मावि, कन्या मन्दिर माविका विद्यार्थीको पनि सहभागिता छ।

साथै शान्ति शिक्षा मन्दिर मावि, गीतामाता मावि, शारदा मावि, भिमसेनगोला मावि, शीतला मावि, सिद्धिगणेश मावि, तरुण मावि, जुद्धोदय मावि, नेपाल युवक मावि, जनजागृति ज्ञान रश्मि मावि, सिद्धेश्वर मावि, कोटेश्वर सरस्वती माविका विद्यार्थीले सृजना गरेका कलाकृतिहरू यहाँ राखिएका छन्। 

यससँगै प्रदर्शनीको सन्दर्भ पारेर प्रशिक्षक तथा सहायक प्रशिक्षकहरूले सृजना गरेका कलाकृति समावेश गरेर ‘एकता’ शीर्षकमा सोही कार्यक्रममा अर्को कला प्रदर्शनी पनि सुरु भएको छ। आजको उद्घाटन कार्यक्रममा ४६ विद्यालयका विद्यार्थीको पनि सहभागिता थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.