थाहाखबर प्रालि द्वारा संचालित थाहाखबर डटकम आजबाट दशौं वर्षमा प्रवेश गरेको छ। वि.सं २०७३ साल असार १५ गतेका दिन ‘निष्पक्ष सक्रियताको अभ्यास’ भन्ने मूल मन्त्रसहित हामी हाम्रा प्रिय पाठक माझ उपस्थित भएका थियौं। थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको स्मृति दिवसको अवसर पारेर असार ७ गतेदेखि परीक्षण सुरु गरिएको अनलाइन पोर्टल एक सातापछि असार १५ गते औपचारिक शुभारम्भ गरिएको थियो।
यो १० वर्षको अवधिमा सबै क्षेत्रमा धेरै परिवर्तन भइसकेको छ। प्रविधिको विकासले फड्को मारेको छ। जसले गर्दा अनलाइन सञ्चारमाध्यमहरूले पनि समयको माग अनुसार आफूलाई परिष्कृत र परिमार्जित गर्दै लैजानुपर्ने आवश्यकता छ। डिजिटल प्रविधिको कायापलटका कारण अहिले पठनीय सामग्रीमा श्रव्य दृश्यको माग हुने गरेको छ। त्यसैले हामीले पनि थाहाखबर युट्यूब च्यानलमार्फत् यहाँहरूको सूचनाको भोकलाई मेटाउने गरी श्रव्य दृश्य सामग्री प्रस्तुत गर्न थालिसकेका छौँ।
हामीले अहिलेसम्म तथ्य र प्रमाणभन्दा बाहिर गएर कुनै पनि स्वार्थ प्रेरित समाचार पस्किएका छैनौँ । यही अठोट र प्रतिवद्धताप्रति सधैँ अडिग रही सत्य र न्यायका पक्षमा हाम्रो खबरदारी जारी रहनेछ।
हाम्रो मूल मन्त्र नै ‘निष्पक्ष सक्रियताको अभ्यास’ रहेको छ। हामी हाम्रो व्यावसायिक सीमा, मर्यादा र आचरणबाहिर कहिल्यै गएका थिएनौँ र जानेछैनौँ भन्ने प्रण पाठक तथा दर्शनसामू गर्न चाहन्छौँ।
हामी आवाजविहीनका आवाज बन्नका लागि सदैव सकारात्मक प्रयासमा रहनेछौँ। थाहाखबरलाई यो अवस्थासम्म ल्याउन अहोरात्र खटिने थाहाकर्मीहरूका साथै यो ९ वर्षको यात्रामा हामीलाई साथ सहयोग र मार्गदर्शन गर्नुहुने हाम्रा शुभेच्छुक, सूचनादाता, विज्ञापनदाता, लेखक, साहित्यकार, कलाकार, विभिन्न पेसाकर्मी, व्यवसायी, पाठक/श्रोता/दर्शकले गरेको विश्वास र दिएको मायाले हामी पुलकित छौँ। यो विश्वास र माया निरन्तर कायम रहनेछ भन्ने विश्वास व्यक्त गर्दै हार्दिक आभार एवं कृतज्ञता ज्ञापन गर्दछु ।
अस्मिता सुमार्गी
अध्यक्ष,थाहाखबर प्रा.लि
तपाईंको ईमेल गोप्य राखिनेछ ।