राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेको संसद्को एक मात्र दल हो। व्यवस्था, संविधान तथा सिंगो प्रणालीकै विपक्षमा उभिँदै आएको राप्रपा अहिले संसद्मा पनि आन्दोलनमा छ।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा तथा उनीमाथि निष्पक्ष छानबिनको माग गर्दै रास्वपासँग सदनमा विरोध जारी राखेका छन्। सरकार भने पेलेर अघि बढिरहेको छ। तसर्थ राप्रपा–रास्वपाको विरोध अर्थहीन छ।
अब यो विरोध कहिलेसम्म? रास्वपासँग संसद्को एजेन्डामा मात्रै ट्युनिङ मिलेको हो कि अन्य विषयमा पनि मिल्दै गएको छ? राजावादी आन्दोलन तुहिएको हो कि बाँकी छ? यिनै विषयमा हामीले राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीसँग कुराकानी गरेका छौँ।
प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः–
निजामती सेवा विधेयकमा राखिएको दुईवर्षे कुलिङ पिरियडका सन्दर्भमा अनधिकृत चलखेल हुने अवस्था कसरी बन्यो ? के लाग्छ तपाईंलाई ?
यो राज्यविरुद्धको कसुर हो। यो देश बेच्ने कुरा हो। सार्वभौम संसद्ले एउटा विधेयक पास गर्ने, समिति सभापति र केही कर्मचारी मिलेर राति खुसुक्क अर्को गडबडी गर्ने ?
देशको विधायिकामाथि नै छलकपट र अपराध गरियो। यो राज्यविरुद्धको कसुर हो। यसमा राजीनामा मात्र दिएर हुँदैन। यसअन्तर्गत मुद्दा चलाएर यस्तो अपराध गर्नेलाई कानुनी सजाय पनि हुनुपर्छ।
भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्रीविरुद्ध संसद्मा विरोध कायमै राख्नुभएको छ रास्वपासँग। तर सरकार निरन्तर पेलेर अघि बढिरहेको छ भनेपछि विरोध गरिरहनुको अर्थ के ?
पहिलो कुरा भिजिट भिसाविरुद्ध हामी रास्वपासँँग होइन, हामीसँग रास्वपा हो। हामीले बहिष्कार गरेपछि रास्वपाले पनि बहिष्कार गरेको हो।
अर्को रास्वपाका साथीहरूलाई हामीले भनेका थियौं- कांग्रेस, माओवादी र एमाले यी तीनवटा दलहरू एउटै हुन्। त्यो भएकाले भोलि अप्ठ्यारो पर्न सक्छ।
त्यसकारण पहिला नै एकीकृत शक्ति बनाएर जाऔं भन्ने प्रस्ताव मेरो थियो तर उहाँहरू (रास्वपा) माओवादीसँग नजिक हुनुभयो। माओवादीकै कारण उहाँहरूका साथीहरू जेल पर्नुभएको छ भनेर आज पनि थाहा छैन कि।
अब उहाँहरूले के गर्नुहुन्छ थाहा छैन। हामीले चाहिँ संसद्को संख्याभन्दा एजेन्डा महत्त्वपूर्ण कुरा हो। यो मान्छे बेच्ने, देशलाई अन्ताराष्ट्रिय बजारमा कालोबजारीमा राख्ने कुरा हो। मुलुक धराशायी पार्ने कुरा हो। विरोध जारी राख्छौं।
बलियो सरकार, कमजोर प्रतिपक्ष, त्यसमाथि पनि प्रमुख प्रतिपक्षले साथ छाडेको अवस्था, कसरी सुरक्षित अवतरण हुन्छ त। कहिलेसम्म बहिष्कार गरिरहने ?
जबसम्म सरकारले यसको निराकरण गर्दैन त्यस वेलासम्म हामी विरोध कायम राख्छौं। हामीले सिट संख्याको आधारमा विरोध गरेको होइन। एजेन्डामा विरोध गरेका हौं। अरूको ग्यारेन्टी लिन सक्दैनौं। हाम्रो लिन्छौं।
माओवादीलाई पनि कति दोष दिनु बिचरा उसको बाध्यता छ। जहाँ पनि फसेको छ। यसो हेर्यो सुनमा फसिहाल्छ। यसो हेर्यो भिजिट भिसामा फस्छ, यसो हेर्यो मान्छे मारेको केसमा फस्छ, यसो हेर्यो बलात्कारमा फस्छ। बिचरा प्रचण्डलाई पनि गाह्रो छ कार्यकर्ता बचाउनलाई हरेकपल्ट सेटिङ गर्नुपर्या छ। अहिले अग्नि सापकोटा र आफै फस्ने भएपछि माओवादीले चौकामा दाउ हान्या हो।
अब चाहिँ साथीहरू (रास्वपा)ले बुझ्नुपर्छ, पुराना र ठूला भनिएकाहरूसँग मिलेर गयो भने यिनले फसाउँछन्, एजेन्डा तुहिन्छ। राजनीतिक परिपक्वता एडप्ट गर्न सक्नुपर्छ।
भिजिट भिसा प्रकरणमा बनेको छानबिन समिति र समिति संयोजकमाथि प्रश्न उठाएर यसलाई अस्वीकार गर्नुभएको छ। कस्ता र कसको नेतृत्वमा समिति बन्यो भने तपाईंहरूका लागि स्वीकार्य हुन्छ ?
सबैभन्दा राम्रो संसदीय समिति हुन्छ, त्यो भयो भने सबै पार्टीका मान्छे हुन्छन्। सत्यतथ्य बाहिर आउँछ। जसरी सहकारी प्रकरणमा भयो।
सरकारले अहिले बनाएको समिति त जसका उपर छानबिन हुनुपर्ने उनैले बनाएको समिति कसरी वैधानिक हुन्छ ? अहिलेको त ढाकछोप समिति मात्र हो। काम गर्नेभन्दा भएका प्रमाण लुकाउने समिति हो।
रास्वपासँग यही विषयमा मात्रै हो कि अरू विषयमा पनि साथ सहयोगका सन्दर्भमा छलफल कुराकानी भइरहेको छ ?
यसो छ, उहाँहरू पनि नयाँ हामी पनि पार्टी पुरानो होला तर व्यक्ति नयाँ हो। हामी पनि चुनाव जितेर आएका हौँ तर हामी चाहिँ हामीले चुनाव जित्यौँ भनेर उपरखुट्टी लाएर हुई... चाहिँ गर्दैनौँ। त्यत्ति हो। यो कुरा साथीहरू (रास्वपा)ले बुझ्नुपर्छ।
किनभने चुनावमा ८-९ सिट जितेर देशमा केही हुँदैन। आज ८८ सिट ल्याउने कांग्रेसको हालत के छ। केपी ओली कमरेडलाई र प्रचण्ड कमरेडलाई प्रधानमन्त्री मान्नु बाहेक ऊसँग अरू केही विकल्प रह्यो ?
अनि जाबो २०-२१ सिट ल्याएका साथीहरूले ठूलो कुरा गर्नु हुँदैन। आकाशै खस्ला, धर्ती फाट्ला र ४० सै सिट आउला रे ! अनि सब चिज हुन्छ त ? केही हुँदैन। त्यसकारण सहकार्य गरेर जानुपर्छ। राजनीतिक विचार नमिल्ला, केही मुद्दा त मिल्न सक्छन्। त्यसो हुनाले हामीले सबै मिलेर जाऔं भन्ने प्रस्ताव राखेका हौं।
राज्यसत्ता कब्जा गरेका, अख्तियार, न्यायालय, प्रहरी प्रशासन सबै कब्जा गर्नेहरूसँग लड्नुपर्ने छ अनि सानो चराको मुटु लिएर हुन्छ ? राजाको मुद्दा मिलेन मिल्दैनौं भनेर जितिन्छ?
त्यसकारण देश बनाउनका लागि लड्ने हो कि दुई चार सिट बढाउन लड्ने भन्ने हो। देश बनाउन लागि हो भने रास्वपा र राप्रपा एक ठाउँमा आउनैपर्छ। त्योभन्दा अर्को विकल्प छैन। होइन दुईचार वटा सिट ल्याएर मन्त्री पड्काउनलाई हो भने एक्लै कुद्दा हुन्छ।
नयाँ हौं भनेर चुनावी एकता नगर्ने, एक्लै लड्छौं भनेर घमण्ड देखाउने हो भने पुरानाहरू एकजुट भएर पाहा पछारेझैँ पछार्छन्।
राजा फर्काउने आन्दोलन तुहिएको हो ?
होइन। यसो हो। समुद्रमा ठूलो छाल आउनु अघिसम्म पनि सुनसान हुन्छ नि ! ठ्याक्कै त्यही अवस्था हो अहिले।
र अर्को ध्रुवसत्य कुरा के भने कुनै पनि राज्यव्यवस्था जनताको इच्छा र अकांक्षामा आउनुपर्छ। यो देशमा सबैले राजसंस्था मान्छन् भन्ने पनि होइन। जसले मान्दैनन्, उनीहरूलाई सम्मान हुनुपर्छ र जसले मान्छन् उनीहरूको पनि सम्मान हुनुपर्छ।
अहिले हामीले स्थापित गर्न लागेको राजसंस्थाले जनताको घर बेचेर खाइदिन्छ त ? के जनताको शासन गर्ने अधिकार खोसिदिन्छ त ? हामीले कुरा गरेको राजतन्त्र होइन, राजसंस्थाको कुरा गरेको बेलायत र स्पेनको जस्तो।
हिजो केपी ओलीले भन्दै हुनुहुन्थ्यो, राजा भएको देश नर्क भनेर। अहिले उहाँ नर्क जानुभएको छ नि ! अनि नेपालको राजालाई गाली गर्छन्। त्यसकारण सपुत र कपुत भन्या ओलीलाई नै हेरेर थाहा हुन्छ।
नेपालमा राजाको इतिहास राम्रो छैन नि त ?
इतिहास राम्रो छैन भन्ने लाग्छ भने हामी नेपाली भएका छैनौं। इतिहास त लेख्नेले गलत लेखे भन्नेले गलत भने।
फेरि राजाहरूको इतिहास भनिन्छ, यो देशमा शासन कहिले गरे ? नेपाल एकीकरण १८०१ देखि १८७२ सम्म भयो। राजाले पहिलो चरणमा प्रत्यक्ष शासन गरेको त्यो समयमा हो। त्यो पनि पुरा नेपालको राजा होइन, गोरखाको राजा हुँदै आएका हुन्।
१८७१ देखि १९०३ सम्म शासन गरे। युरोप कस्तो थियो। अंग्रेजले भारतमा शासन गरेको अवस्था थियो। देश बचाइदिए। २००७ सालसम्म राणाले, २०१७ देखि राणा, कांग्रेस र प्रजापरिषद् मिलेर शासन गरे। राजा छैन।
त्यसपछि २०१७ देखि ०४६ सालसम्म राजाले शासन गर्या हो। त्यो स्वर्णिम युग हो। अहिले जुन बाटो हिँड्छौं, त्यतिखेरै बनेको हो। जुन एयर्पोर्टबाट उड्छौं त्यखिरै बनेको। जुन क्याम्पसमा पढ्न जान्छौं त्यतिखेरै बनेको। नेपालका ४४ वटा उद्योग संस्थान त्यतिबेलै बनेका। सबै विकासको ढाँचा त त्यही बेला हो नि। २०४६ सालदेखि २०६४ सम्म राजाले शासन गरेकै होइन। राजा सेरेमोनियल हो। अनि राजाले देश बिगारे भनेर कसरी भन्ने ?
आन्दोलनकै कुरा गर्दा माहौल दुर्गा प्रसाईंले तताइदिएपछि सबै उचालिए तर प्रसाई थुनिएपछि सब चुपचाप भनेर पनि टिप्पणी भइरहेको छ ?
त्यस्तो होइन। दुर्गा प्रसाईंले गर्या पनि होइनन् पहिलो हामीले गरेको हो राजाको स्वागत। हामी नदेखिएको मात्र हो। उहाँ गइसकेपछि उहाँको कारण रोकिएको पनि होइन। राप्रपा पनि छ। यहाँ सबै राष्ट्रवादी साथीहरू पनि छौँ तर दुर्गा प्रसाईंलाई जसरी थुनियो त्यसविरुद्ध चाहिँ हामी छौं।
राजतन्त्रका पक्षमा गर्ने सडक आन्दोलनलाई लिएर राप्रपाभित्रै पनि मतभेद देखियो नि ?
यो दल हो। दलभित्र भइहाल्छ। यो सामान्य कुरा हो। एउटा घरभित्र त कतिपय कुरामा चित्त बुझ्दैन भने यो त दल हो। चित्त नबुझे पनि जानुपर्ने एउटै ठाउँमा हो।
अब कहिलेबाट कसरी हुन्छन् राजसंस्था पक्षधरहरूको आन्दोलन ?
यो चाहिँ जनताको इच्छाको कुरा हो। म त्यो भन्छु र अर्को के स्पष्ट पार्न चाहन्छु भने राजसंस्था हामीले चाहेको जम्मा दुईतीनवटा कारणका लागि मात्रै हो। शासन गर्न होइन।
पहिलो देशको इज्जत मानसम्मानका लागि हो। अहिले देशको राष्ट्रपति प्रधानमन्त्री विदेश जाँदा र विगतमा राजा विदेश जाँदा कति फरक छ। दोस्रो, इतिहासका लागि र तेस्रो राष्ट्रिय एकताका लागि।
प्रदेश खारेज गर्नुपर्छ तर स्थानीय तह चाहिँ राख्नुपर्छ भन्ने लाइनमा छ राप्रपा। के अहिले स्थानीय तहको अवस्था ठिकठाक छन् कि सुदृढीकरणको लागि के गर्नुपर्ला ?
स्थानीय तह सुधार गर्नुपर्छ। कसरी भने स्थानीय तहलाई नियन्त्रण गर्ने एउटा विभाग खडा गर्नुपर्छ ऐन बनाएर। के गर्न हुने, के गर्न नहुने ? किनभने अहिले जे मन लायो त्यही भइरहेको छ स्थानीय तहमा। अनि स्थानीय सरकार होइन निकाय बनाउनुपर्छ जब कि ऊभन्दा माथि अर्को निकाय हुन्छ। अहिले स्थानीय सरकारहरू खुला साँढे जस्ता भएका छन्।
संसद्मा राप्रपाको प्रमुख सचेतक भूमिकामा पनि हुनुहुन्छ, प्रमुख भूमिका र चुनौतीहरू के–के छन् ?
प्रमुख सचेतक भएपछि संसदीय अभ्यासमा पूर्णरूपमा गर्नुपर्छ। सबैभन्दा बढी नियमावली ऐनहरू थाहा हुनुपर्छ। केमा विरोध गर्ने, केमा पछाडि हट्ने ? केमा अघि बढ्ने? कहिलेकाहीँ सानो एउटा गल्तीले देशलाई नै घाटा भइरहेको हुन्छ। यस्ता कुराचाहिँ साह्रै ख्याल गर्नुपर्छ। फाइदाको कुरा रहेका ठाउँमा सहभागी हुन पाइन्छ।
तपाईंलाई ‘अति आक्रोशित’ शैलीको नेताको रूपमा लिइन्छ, तपाईं यो आलोचनालाई कसरी हेर्नुहुन्छ?
आलोचनाविनाको जीवन छैन, हुँदैन र हुनुहुँदैन। सधैँ गुलियो खाएर हुँदैन। पिरो‚अमिलो सबै खानुपर्छ।
अन्तरवार्ता भिडियाेमा हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।