साँझको बेला थियो। केहि दिन अघि म मेरो ८६ वर्षीय मावली हजुरबुबासँग घरको आँगनमा बसेर गफ गरिरहेकी थिएँ। सोही दिन छिमेकमा एकजना बहिनीको विवाह थियो, जुन विवाह समारोहमा सहभागी भएर मेरी आमा घर आउनुभयो।
आउँदा आउँदै उहाँले सोही विवाहको एउटा प्रसङ्ग सुनाउनुभयो – 'कन्यादानको बेलामा बेहुलीका बुबा बेहोस भएर ढल्नुभयो, आधा घण्टा लाग्यो होस खुल्न !'
त्यो वाक्यले मेरो मनमा चसक्क बिझ्यो, मैले तुरुन्तै मेरो हजुरबुबासँग सोधेँ, 'हजुरबुबा, शास्त्रमा कन्यादान बारे के लेखिएको छ त?
उहाँले विस्तारमा भन्नुभयो,
'कन्यादानं महादानं सर्वपापप्रणाशनम्।
स्वर्गलोकप्रदं पुण्यं धर्मकामार्थसाधनम्।।'
विष्णु धर्म सूत्रमा विवाह संस्कारलाई पवित्र यज्ञ सरह मानिएको छ, जसमा कन्यादान गर्नाले पिताले स्वर्ग प्राप्त गर्ने कुरा लेखिएको छ।
हिन्दू शास्त्रहरूमा कन्यादानलाई अनिवार्य जस्तै गरेर उल्लेख गरिएको छ:
'इयं कन्या त्वां ददामि धर्माय सहधर्मचारिणीम्।।'
(अर्थः म यो छोरी तिमीलाई धर्मपूर्वक सहधर्मिणीका रूपमा दिन्छु।)
त्यसैले कन्यादान त विवाहको अनिवार्य विधि हो नि नानी। उहाँको कुरा सकिँदा नसकिँदै मैले झट्ट मेरी छोरीलाई सम्झिएँ।
मेरो छोरी अहिले जम्मा ६ वर्षकी मात्र छिन्। उमेरमा उनी सानै छिन्, संसार बुझ्ने उमेर आउन अझै धेरै समय बाँकी छ। तर म एक आमा भएर, आमाको नाताले आज एउटा गहिरो र धेरैले असहज ठान्न सक्ने कुरा भन्न गइरहेकी छुः म मेरी छोरीको 'कन्यादान' गर्दिनँ।
यो कुराले धेरैलाई आश्चर्यमा पार्न सक्छ। कसैले मलाई धर्मको विरोधी भन्न सक्छ, कसैले भन्न सक्छ कि म परम्पराको विरोध गर्दैछु। म त आफू पनि यस्तै परम्पराको बीच हुर्केकी हुँ – मलाई पनि मेरा बुबा आमाले कन्यादान गर्नुभएको थियो। म त विवाहमा पिताले 'धर्म, कर्तव्य र पुण्यको निम्ति' छोरीलाई दान गर्नु पवित्र हो भन्ने विश्वासमै हुर्केकी थिएँ।
तर आमा बनेपछि केही बुझिन्छ, केही महसुस हुन्छ – जुन धर्म वा परम्पराले छोरीलाई 'दान' को पात्र बनाउँछ, त्यो धर्मले भन्दा बढी मलाई मेरी छोरीप्रति माया, स्नेह, जिम्मेवारी र समानताको भावना महत्त्वपूर्ण लाग्छ।
म मेरी छोरीलाई कदापि 'पुण्यको निम्ति' दान गर्न सक्दिनँ।
किनकि मेरी छोरी वस्तु होइनन्। उनी एक सजीव अस्तित्व हुन्, आत्मा हुन्, भावना हुन्।
उनी मेरै रक्त, पसिना, माया र संघर्षको परिणाम हुन्। उनी मेरो सपनाको निरन्तरता हुन्। अनि कसरी म त्यस्तो जीवन्त आत्मालाई परम्पराको नाममा ‘दान’ गर्न सक्छु?
मलाई थाहा छ विवाह हाम्रो संस्कृति, हाम्रो परम्परा र मानव जीवनको आवश्यकता हो। म यसको विरोध गर्न चाहन्न। विवाह एक सम्बन्ध हो – साथ, विश्वास र समझदारीको आधारमा बन्ने सम्बन्ध। म मेरी छोरीको विवाह गराउँछु, अवश्य गराउँछु – तर त्यो समारोहमा म उनलाई माया गर्छु, आशीर्वाद दिन्छु, आँखाभरि स्नेहले विदा गर्छु... तर 'दान' गर्दिनँ।
म 'कन्यादान' शब्दलाई नै पुनः व्याख्या गर्न चाहन्छु – त्यो शब्दले जतिखेर छोरीलाई कुनै पूजा सामग्री जस्तो बनाई एकजनाबाट अर्को जनामा सुम्पिन्छ, त्यो क्षणमा एक आमाको मन टुक्रिन्छ। किनकि यो केवल एक धार्मिक कर्म होइन, यो मानसिकता हो – जसले आज पनि छोरीलाई 'अर्काको घर जाने' वा दान दिने वस्तु ठान्छ।
तर मेरी छोरी... उनी 'अर्काको घर जाने' होइनन्।
उनी जुनसुकै घर जाओस्, त्यो उनको घर होस्।
उनी जुनसुकै सम्बन्धमा बाँधिऊन्, त्यो बराबरीको सम्बन्ध होस्।
मैले उनलाई माया गरेर हुर्काएकी छु र उनी मेरी अभिमान हुन्।
आज यो लेख मेरो व्यक्तिगत विद्रोह मात्र होइन – यो एउटा आह्वान हो। म जस्ता हजारौँ आमाहरूको आवाज हो, जो अब आफ्ना छोरीहरूलाई आत्मसम्मानसहित, समानताको सँस्कारमा हुर्काउन चाहन्छन्।
परम्परा तबसम्म राम्रा हुन्छन्, जबसम्म तिनीहरूले कसैको अस्तित्वलाई नछेकेका हुन्छन्। तर जब परम्पराले छोरीलाई ‘दान’को पात्र बनाउँछ – त्यस क्षणदेखि त्यो परम्परालाई प्रश्न गर्नु हाम्रो कर्तव्य हो।
कन्यादान होइन,
आशीर्वाद गरौं।
स्वामित्व होइन,
समानता दिन सिकौँ।
कुनै दिन मेरी छोरी पनि विवाह गर्नेछिन् – तर त्यो दिन म उनलाई न कुनै धर्मशास्त्रको आदेशमा, न कुनै परम्पराको दबाबमा, तर एक आमाको आत्मा र ममताबाट विदा गर्नेछु – सम्मानसहित।
किनकि छोरी ’दान’ होइन – उनी आत्मा हुन्। जीवन हुन्। र मेरी सान हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।