|

काठमाडौँ : उपभोक्ता अदालतबाट चिकित्सकहरूले उपचारमा लापर्बाही गरेको भन्दै केही निजी अस्पताल र चिकित्सकलाई दोषी करार गर्दै क्षतिपूर्ति भराउने आदेश जारी भएपछि नेपाल चिकित्सक संघ आन्दोलनमा उत्रिएको छ। 

उसले धर्ना, आकस्मिक बाहेकका उपचार सेवा बन्द र चिकित्सक लाइसेन्स नै फिर्ता गर्नेसम्मको विरोधका थप कार्यक्रम सार्वजनिक गरेको छ। 

संघले शुक्रबारसम्म कालोपट्टी बाँधेर विरोध गरेकोमा अब संघका शाखा कार्यालयहरूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने, २२ असार आइतबार सम्पूर्ण चिकित्सकहरूद्वारा आ-आफ्नो कार्यस्थलमा पहिलो एक घण्टा धर्ना दिने, सोमबार २३ असारका दिन देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ।

संघका महासचिव डा. सञ्जीव तिवारीद्वारा जारी विज्ञप्तिमा संघका सम्पूर्ण शाखा कार्यालयहरूद्वारा यस सन्दर्भमा चिकित्सकहरूको हस्ताक्षर र नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र संकलन गरी सोमबार नै केन्द्रीय कार्यालयमा पठाउने समेत निर्णय गरेको जनाइएको छ।

 जसको लागि आगामी  २४ असार मंगलबारका दिन सम्पूर्ण चिकित्सकहरूको लाइसेन्स (दर्ता प्रमाणपत्र) मेडिकल काउन्सिलमै बुझाउने कार्यक्रम रहेको संघले जनाएको छ। 

संघले नेतृत्व गरेको यो आन्दोलनमा निजी मेडिकल कलेज तथा डेन्टल कलेज संघ, अस्पताल सञ्चालकहरुको संस्था अफिन, औषधि उत्पादकहरूको संस्था एपोन, मेडिकल उपकरण व्यवसायीहरूको संस्था केमसान, नेपाल नर्सिङ संघ, फार्मेसी एसोसिएसन, फिजियोथेरापी एसोसिएसन, भेटनरी एसोसिएसन लगायतका संस्थाको ऐक्यबद्धता रहेको उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.