जनकपुरधाम : नेपाल कांग्रेसका नेता विमलेन्द्र निधिले जनकपुरधाममा राजर्षि विश्वविद्यालयको केन्द्रीय प्रशासकीय भवन बनाउन एमालेका दुई सांसदले अवरोध गरेको बताएका छन्।
शनिबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा नेता निधिले राजर्षि स्वतन्त्र रूपमा स्थापना भएको बताए। त्यसैले यसलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको स्पष्ट गरे।
‘राजर्षि विश्वविद्यालयको भवन बनाउन आठ करोड रुपैयाँ बजेट छुट्याइसकेको छ तर राजनीतिक दुर्भावनाका कारण कार्यान्वयनमा अवरोध भइरहेको छ’, निधिले भने, ‘नगराइन नगरपालिकाको फलगामा अवस्थित मणियारी उपयुक्त ठाउँ हो। त्यहीँ भवन बने मधेश प्रदेशको शैक्षिक प्रतिष्ठा बढ्नेछ।’
धनुषा क्षेत्र नम्बर ३ र ४ बाट निर्वाचित एमाले सांसदहरूको नाम नलिईकन उनीहरूले विश्वविद्यालयको भवन निर्माणमा अवरोध गरिरहेको बताए। ती क्षेत्रबाट निर्वाचित सांसद जुली महतो र रघुवीर महासेठ हुन्।
नेता निधिले विश्वविद्यालय स्थापनाका प्रारम्भिक चरणमा धनुषा र महोत्तरीका प्रत्येक गाविसबाट एक लाख रुपैयाँ संकलन गरिएको स्मरण गरे। अहिले विश्वविद्यालय स्थापना भइसकेको र त्यसको सञ्चालनमा जनकपुरधाम उपमहानगर, नगराइन नगरपालिका, प्रदेश सरकार र संघ सरकार सबैको सकारात्मक भूमिका रहेको उनले बताए।
उनले आफूले वर्षौंदेखि राजर्षि विश्वविद्यालय स्थापनाका लागि संघर्ष गरेको उल्लेख गर्दै विगतमा पनि एमालेका नेताहरू विश्वविद्यालय स्थापनाविरुद्ध रहेको दाबी गरे। ‘त्यस वेला रामचन्द्र झाजस्ता नेताहरू विरोधमा थिए, अहिले क्षेत्र नं. ३ र ४ का वर्तमान सांसदहरू विरोध गर्दै छन्’, निधिले भने।
उनले विकासका विषयमा राजनीति गर्नु अनुचित भएको जनाउँदै सकारात्मक धारणा प्रवाह गर्न आग्रह गरे।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियार, प्रदेश सांसद रामसरोज यादवलगायतका नेता तथा कार्यकर्ता उपस्थित थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।