|

हेटौंडा : बागमती प्रदेशसभा बैठकले आर्थिक वर्ष ०८२।०८३ का लागि सरकारको विनियोजन विधेयकलाई सर्वसम्मत स्वीकृत गरेको छ।

शनिवार बसेको प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले संसद्‌मा टेबुल गरेको प्रदेश सञ्चित कोषबाट सेवा तथा कार्यका लागि रकम विनियोजन र खर्च गर्नेसम्बन्धी प्रस्तावमाथि बैठकले विचार गरियोस् भन्ने प्रस्ताव सभामुख भुवनकुमार पाठकले निर्णायार्थ प्रस्तुत गरेका थिए।

यसअघि आन्तरिक मामिला तथा योजनामन्त्री सुरजचन्द्र लामिछानेले बजेटमाथिको पूरक प्रस्ताव पेश गरेका थिए। विपक्षी दलहरूको मागअनुसार तयार पारिएको पूरक प्रस्तावमा पूर्व प्राथमिकतामा छुट भएका योजना तथा कार्यक्रम समावेश गरिएको जनाइएको छ। संसद्‌बाट पारित भएको पूरक प्रस्तावले सरकारलाई तिनको कार्यान्वयनका लागि निर्देशन दिएको छ।

विनियोजन विधेयकमाथिको सामान्य छलफल शनिबारकै बैठकमा सुरु गरिएको थियो, जसमा प्रमुख रूपमा विपक्षी दलका सांसदहरूले सहभागिता जनाएका थिए। छलफलमा माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकाल, राप्रपाका उद्धव थापा, एकीकृत समाजवादीका कृष्णप्रसाद शर्मा खनाल र नेमकिपाका सुरेन्द्रराज गोसाई सहभागी थिए।

सांसदहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आन्तरिक सन्तुलन कायम गर्न, बजेटका अव्यवहारिक तथा असन्तुलित कार्यक्रम सच्याउन र समृद्ध बागमती प्रदेश निर्माणमा गम्भीरता देखाउन आग्रह गरेका थिए।

उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री काफ्लेले सरकार समृद्ध बागमती प्रदेश निर्माणमा स्पष्ट दृष्टिकोणसहित अघि बढेको र आयस्रोत व्यवस्थापन तथा खर्च प्रणाली सुधारमा केन्द्रित रहेको जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.