|

  • रमेश तिमल्सिना-

रौतहट : असोज २ गते हुने स्थानीय चुनावमा जिल्लाको चन्द्रपुर नगरपालिकामा प्रमुख तीन दलबीच नै मुख्य प्रतिस्पर्धा हुने भएको छ। सतारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबीच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ।

तीनवटै पार्टीका उम्मेदवारले आफूले जित्ने दावी गर्दै चुनाव प्रचार प्रसारलाई तिब्र पारेका छन्। चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेसले रामचन्द्र चौधरी, नेकपा एमालेबाट उद्धव रेग्मी र नेकपा माओवादी केन्द्रबाट युवराज भट्टराई उम्मेदवार छन्।

चौधरीको नारा गुणस्तरीय शिक्षा

नेपाली कांग्रेसबाट चन्द्रपुर नगरपालिका प्रमुखको उम्मेदवार रहेका चौधरीले शैक्षिक विकास र नगरभरीका किसानहरुको जीवनस्तर उकास्ने मुख्य लक्ष्य रहेको बताएका छन्। चन्द्रपुर नगरपालिकामा ७५ प्रतिशत किसान रहेको बताउँदै उनले आफनो प्रमुख लक्ष्य भनेको शिक्षाको विकास नै भएको बताएका छन्। आफू चन्द्रपुर नगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि नगरभरीका विद्यालयहरुको भौतिक पूर्वाधारको विकाश र गुणस्तरीय शिक्षाको लागि नमुना शहरको रुपमा चन्द्रपुरलाई स्थापित गर्ने चौधरीले बताए।

'नगरबासी शिक्षित भए मात्र नगर शिक्षित हुने हो, नगरबासी शिक्षित भएपछि नगरको विकास आफै हुन्छ, तसर्थ मैले सबैभन्दा पहिला गुणस्तरीय शिक्षाको लागि पहल गर्नेछु' उनले भने, 'चन्द्रपुर नगरपालिका किसानहरुको नगर हो, किसानहरुको आर्थिक स्तर उकास्नको लागि भुमिका निर्वाह गर्नेछु र किसान दाजुभाइको जीवनयापन सहज गर्न उतरदायी भूमिका मेरो हुनेछ।'

चौधरी रौतहटको साबिक सन्तपुर गाविसको पूर्व अध्यक्ष हुन्। चन्द्रपुर नगरपालिकामा नदी नियन्त्रण, सिञ्चाईको ब्यवस्था, सडक निमार्ण तथा स्तरउन्नति लगायतका समस्या समाधान गर्न आफूले जित्नुपर्ने उनको दाबी छ।

रेग्मीको नारा समृद्ध चन्द्रपुर

नेकपा एमालेको तर्फबाट नगर प्रमुखको उमेदवार उद्धब रेग्मीले समृद्ध चन्द्रपुर नगरपालिकाको नारा दिएकाछन्। चन्द्रपुर नगरपालिकालाई आधुनिक शहरको बनाउने नाराका साथ मत माग्दै हिँडेका उनले आफूले बोलेको कुरा पूरा गरेर छाड्ने प्रतिवद्धता जनाएका छन्। चन्द्रपुर नगर ढल निकासको अभावमा कुरुप भएको बताउदै रेग्मीले सबैभन्दा पहिला ढल निकासलाई प्राथमिकता दिने बताए।

'चन्द्रपुर नगरपालिका सबैको आर्कषण स्थल हो, यहाँ धेरै पर्यटनस्थलहरुको विकासको आवश्यकता छ। त्यसको लागि मैले योजनाबद्ध रुपमा काम गर्नेछु, मलाइ आम नगरबासीले सहयोग गर्नुपर्छ' उनी भन्छन्, 'यो नगर विकासोन्मुख नगरको रुपमा रहेको हुँदा यहाँ धेरै पूर्वाधारहरु निर्माण गर्नुछ। जुन काम मैले निवार्चन जितेमा ५ वर्षभित्र पूरा गर्नेछु।'

रौतहटको साविक चन्द्रनिगाहपुर गाविसको अध्यक्ष भएर काम गरिसकेका रेग्मी फेरि यस पटक आफूलाई जनप्रतिनिधिको रुपमा मतदाताल चयन गर्नेमा ढुक्क छन्।

भट्टराईको नारा युवाको नेतृत्व

नेकपा माओवादी केन्द्रका उमेदवार युवराज भट्टराईले चन्द्रपुर नगरपालिका विकासका लागि युवा नेतृत्व चाहिने बताएका छन्। यथास्थितिवादीबाट नगरको विकास नहुने देखेपछि आफूले उम्मेदवारी दिएको बताउने भट्टराई आम युवाहरुको साथ आफूलाई रहेको दावी गर्छन्। 'अबको शहर आधुनिक शहर हुनुपर्छ, आधुनिक शहर निमार्णमा धेरै समस्याहरु छन्, ती समस्या समाधानको लागि मेरो उम्मेदवारी हो' उनले भने, 'चन्द्रपुर नगरपालिकाभित्र सडक, खानेपानी, सरसफाइ, ढल तथा नाला निकास लगायतका यावत समस्या छन्, ती समस्या चाँडै समाधान गर्ने मेरो लक्ष्य हो।'

शहरी विकास मन्त्रालयले स्मार्ट सिटी बनाउने भनी चयन गरेको १० वटा शहरमा चन्द्रपुर नगरपालिका पनि परेको छ। भट्टराईले आफ्नो पहलमा स्मार्ट सिटीका लागि चयन भएको दावी गर्दै त्यसलाई कार्यान्वयन आफैले गर्ने दावी गरे। 'मतदाताहरुको अमूल्य मतले यस चन्द्रपुर नगरपालिका नेपालकै एउटा आधुनिक शहर निमाण गर्ने काम मबाट शुरु हुन्छ' उम्मेदवार भट्टराईले भने। चन्द्रपुर नगरपालिकाभित्र पर्यटकीय सम्भावनाका धेरै ठाउँ रहेकाले त्यसका लागि पूर्वाधार विकासका काम पनि गर्नुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.