विद्यासुन्दरबारे टिप्पणी, 'उहाँकोमा अलि स्लो छ'

|

काठमाडौं : 'खर्च गर्नै नपाइने अवस्था छ। आजकलको जमानामा खर्च नगरी कुनै काम हुँदैन। खर्च नलाग्ने जे जति काम गर्न सकिन्छ, त्यही गरिरहेका छौं।' निर्वाचित भएर कार्यभार सम्हालेको सय दिन नाघिसकेपछि भेट्दा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कानुनी जटिलताप्रति गुनासो पोखे। तै पनि आफूले महानगरमा धैरै प्रशासनिक सुधार ल्याएको दाबी उनको छ। 'विगत २० वर्षदेखि कर्मचारीतन्त्रले शासन चलाइरहेको थियो। हामी आइपुग्दा एकदमै लगालिंग, भगवान् पशुपतिनाथको कृपाले चलेजस्तो देखिने कर्मकाण्डी काम मात्र हुन्थ्यो। त्यसमा व्यापक सुधार गरिसकेका छौं तर, अझै पनि 'वी आर नट स्याटिस्फाइड', धेरै गर्न बाँकी नै छ।'

उनले सेवाग्राही महानगरका कर्मचारी जोडिइराख्नुपर्दा धेरै चलखेल भएको देखे। उनकै भाषामा अब 'सम्बन्धविच्छेद' गराउन चाहन्छन्। 'जनता र नगरपालिकाका कर्मचारीबीच जति नजिकको अट्याचमेन्ट हुन्छ, त्यसमा नचाहिने काम नै बढी हुन्छ। त्यसकारण हामीले जनतालाई नगरपालिकासँग सम्बन्धविच्छेद गराउने अर्थात् अहिलेको विज्ञान प्रविधिलाई सदुपयोग गरेर नगरपालिका आउनै नपर्ने, घरबाटै काम गर्न सकिने किसिमको सिस्टम अपनाउन थालेका छौँ।' सुरुवाती चरणमा 'बिल्डिङ क्न्स्ट्रक्सन पर्मिट' (भवन निर्माण अनुमति) अनलाइनबाटै प्रदान गर्न सुरु गरेको महर्जनले बताए। जटिलता त यहाँ पनि छ। 'एउटा आइटी सेक्सनसमेत छैन। इमेल, इन्टरनेट चेक गर्ने म्यानपावरकै अभाव छ,' उनले भने।
…..

चुनावी अभियानका क्रममा महर्जनले मतदातासामु केही वाचा गरेका थिए। जसमा कुपण्डोल-पुल्चोक फ्लाइओभर सबैभन्दा महत्वपूर्ण थियो। महानगर प्रमुखमा निर्वाचित भएपछि उनले फ्लाइओभर निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने निर्णय नगरसभा बैठकबाट गराएका छन्। 'फ्लाइओभरको कुरा छ, जुन हामीले चुनावका बेला घोषणा गरेका थियौं। १.४ किलोमिटर फ्लाइओभर बनाउनका लागि सम्भाव्यता अध्ययन गर्ने निर्णय बोर्ड बैठकबाटै गराएर हामी कन्सल्ट्यान्ट छान्ने तरखरमा छौं, त्यो एक किसिमले प्रोग्रेस नै हो,' उनले भने।

ललितपुर महानगरपालिकाले फ्लाइओभरका लागि सुरुमा सिधै जाइका (जापानी सहयोग नियोग) सँग सम्झौता गर्ने प्रयास गरेको थियो। तर, जाइकाले सम्भाव्यता अध्ययन स्थानीयस्तरमै गर्न सुझाव दिएपछि अहिले लोकल कन्सल्ट्यान्ट खोज्ने निर्णय भइसकेको छ। १.४ किलोमिटर फ्लाइओभर बनाउन साढे ३ देखि ४ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान रहेको उनले जानकारी दिए।

महानगरलाई छिट्टै हरियाली बनाउने आफ्नो अर्को वाचा पूरा गर्न कम्तीमा ८/९ फिट अग्लो रुख रोप्ने तयारीसहित सम्बन्धित निकायसँग स्वीकृति लिइसकेको उनले बताए। 'हिजोअस्ति जस्तो फुच्चे रुख अब हामी रोप्दैनौँ। कम्तीमा एकैचोटि हलक्क बढेको ८/९ फिटको रुख रोप्छौँ। त्यसका लागि कस्तो रुख रोप्ने भनेर हामीले 'डिस्ट्रिक्ट फोरेस्ट अफिस' (जिल्ला वन कार्यालय) बाट सिफारिस लिइसक्यौँ। नयाँ ऐन आउनासाथ यसलाई द्रुत गतिमा सुरु गर्छौं।'

निकै साना रुख रोप्दा आफ्नो कार्यकालभित्र हुर्किनै नभ्याउने र हरियाली बनाउने आफ्नो वाचा पूरा नहुने चिन्ता उनलाई रहेछ। सोहीकारण ८/९ फिट बढिसकेका रुख रोप्न लागेको महर्जनले सुनाए।

सामाजिक सुरक्षा भत्ता घरघरमा पुर्‍याउने वाचा पनि महर्जनको थियो। त्यसका लागि भने नीतिगत कठिनाइ भएको उनले बताए। 'वृद्ध भत्ता घरघरमा दिने कुरा गर्‍यौँ, तर, हामीले त्यो पूरा गर्न सकेनौं,' कठिनाइबारे प्रस्ट्याउँदै महर्जनले भने, 'हामीले यसमा अझै हात छाडेका छैनौं। राष्ट्र बैंकलाई मैले सबै रेस्पोन्सिबिलिटी लिन्छौं, यो काम हामीलाई गर्न दिनुस् भनेर आग्रह गरें। त्यस्तै, ललितपुरका सबै बैंकका ब्रान्च म्यानेजरहरुलाई यहाँ बोलाएर पनि कुरा गरें। त्यो कुरामा उहाँहरुलाई गाह्रो रहेछ।' सामाजिक सुरक्षा भत्ता अहिले बैंकमार्फत नै वितरण गर्नुपर्ने नियम छ। यस्ता एकदुई कुरा पूरा गर्न नसके पनि आफूले जनतासामु गरेका अधिकांश वाचा पूरा गर्ने क्रममै रहेको उनको दाबी छ।

…..

आफ्नो कार्यकालमा ललितपुरलाई हेर्नलायक सहर बनाउने इच्छ महर्जनले हामीसँग सुनाए। कस्तो हुन्छ त सपनाको सहर? आफ्नो सुन्दर ललितपुरका सपना सुनाउँदै गर्दा रोमाञ्चित बनेका महर्जनले सडकहरु हिलो र धुलोमुक्त हुने बताए। 'निकट भविष्यमै मेलम्चीको पानी आउँदै छ। त्यो आएपछि हामी यहाँ सबै मुख्य सडक गन र वाटर क्यानल लगाएर सफा गर्छौं। सडकलाई हिलाम्मे र धुलाम्मे हुन दिने छैनौं।' 'सडकहरु हरियाली हुनेछन्, खाली ठाउँमा पार्क निर्माण गरिनेछ,' उनी भन्दै गए, 'कम्तीमा ८/९ फिट अग्ला कम्फोर र जाकाराण्डा ट्री रोप्न अनुमति पाइसकेका छौं।'

त्यतिमात्र होइन, ऐतिहासिक पाटन सहरलाई कहिल्यै सुत्न नदिने उनको योजना छ। 'अहिले टुरिस्टहरु आउँदा ललितपुरमा आधा दिन पनि खर्चि‌ंदैनन्। उनीहरुलाई थोरैमा ३ दिन यहीँ भुल्याउने वातावरण बनाउने सोचेका छौं। हामीले भनेका छौं, 'पाटन सिटी डज नट स्लिप'। त्यसका लागि चाहिने पूर्वाधार तयार गर्दै छौं।' पाटनलाई ललितकला सहरको रुपमा व्यख्या गर्दै उनले थपे, 'यो हाम्रो हेरिटेज साइट हो, यसलाई छिट्टै 'फाइन आर्ट सिटी' भनेर घोषणा गर्दै छौं। टुरिस्टहरु आएर हेर्दा त्यहीँ काठको मूर्ति बनाइरहेको हुन्छ, अलि उता जाँदा अर्कोले ढुंगाको मूर्ति….।'

भूकम्पले भत्काएका सम्पदासमेत ३ वर्षभित्र बनाइ छाड्ने उनको अठोट छ।

आफैँले नुहाएर हुर्केको ढुंगेधारामा पानी सुकेपछि महर्जनलाई खल्लो लागेको छ। त्यसका लागि पनि उनले केही सोचेका रहेछन्। 'यहीँ मुनि एउटा ढुंगेधारा छ। म यसैमा नुहाएर हुर्केको मान्छे। अहिले यो धारामा पानी आउँदैन। हामीले दोस्रो बोर्ड बैठकबाट ललितपुर महानगरभित्रका सबै ढुंगेधारामा पानी ल्याउने निर्णय गरेका छौं, बाइ हुक अर बाइ क्रुक जसरी हुन्छ पानी ल्याउने। पानी विशेषज्ञहरुसँग बैठक गरेर मैले भनेको छु, 'कसरी पानी आउँछ सिफारिस गर्नुस्, पैसा कति लाग्छ टाउको नदुखाउनुस्, दयाट इज माई हेड्याक, त्यो जिम्मा म लिन्छु।'

यति सबै गरिसकेपछि फ्लाइओभर चढेरै बिदा हुने उनको इच्छा छ।

…..

विकासका कतिपय कामका लागि छिमेकी महानगर (काठमाडौं महानगरपालिका)सँग पनि छलफल गरिरहेको उनले सुनाए। चुनावताका काठमाडौंमा मेट्रो रेल, मोनोरेल तथा केवलकारको चर्चा निकै चल्यो। तर, यसका लागि दुई सहर नमिल्दासम्म सम्भव नहुने निष्कर्षमा उनी पुगेका छन्।

लगानीकर्ता तथा निर्माता कम्पनीहरुले एउटै महानगर मात्र पर्याप्त नहुने बताएका रहेछन्। 'मेट्रो रेल निर्माता कम्पनीका प्रतिनिधिले हामीलाई भन्नुभो, गोदावरीदेखि बूढानीलकण्ठसम्मकै क्षेत्र समेटियो भने हुन्छ कि! नत्र इट्स टु मच स्मल बिजनेस। यसका लागि अलि ठूलो एरिया चाहियो। एक घन्टामै डेढदेखि २ सय किलिमिटरको रफ्तारमा कुद्‍ने चिजलाई यो त सानो ठाउँ भयो नि!' महर्जनले भने।

यसै विषयमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसँग उनको कुराकानी भएको रहेछ। 'मैले काठमाडौंका मेयरसापसँग धेरैपटक सँगै बसेर कुरा गरिसकेको छु। उहाँसँग मेरो मन मिलेको छ। सम्भावना यो छ कि हामी दुवै मिलेर यो काम फत्तै गर्छौं होला।' तर, आफूले जत्तिको तदारुकता छिमेकी महानगरले नदेखाएको उनको गुनासो छ। 'एउटा कुरा के छ भने, म जुन कुरा पनि रफ्तारमा गरौं भन्छु, मलाई चुड्की बजाउँदा काम गरौं भन्ने हुन्छ। तर उहाँकोमा खै के कति कारणले हो, अलिकति स्लोचाहिँ छ।'

…..

३१ वैशाखमा भएको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा नेपाली कांग्रेसबाट टिकट लिने क्रममा चिरीबाबुले आफूले चुनाव जित्छु भनेर सभापति शेरबहादुर देउवासँग बाजी राखेका थिए। सभापतिले उनले चुनाव जित्नेमा आशंका गरेपछि चिरीबाबुले भनेका थिए रे, 'सभापतिज्यू मैले चुनाव जितें भने तपाईंले मलाई १ सय रुपैयाँ दिनुपर्छ, हारें भने एक लाख दिन्छु।' अन्तत: उनले चुनाव मात्र होइन, बाजी पनि जिते। बाजी जितेबापत उनले १ सय नभएर १ हजार रुपैयाँ सभापतिबाट पाएको त्यतिबेलै सार्वजनिक भएको हो।

त्यसपश्चात उनले हाल प्रधामन्त्रीसमेत रहेका सभापति देउवालाई दुईपटक भेटेका रहेछन्। सभापतिलाई भेट्न जाँदा आफूलाई अझै पनि डर लाग्ने उनी बताउँछन्। 'उहाँलाई भेट्न जाँदा मलाई अलि अप्ठ्यारो फिल हुन्छ। मतलव त्यस्तै, किनऽ किनऽऽ किनऽऽऽ? भन्नुहोला। भनुम् न उहाँको एक किसिमको पिआर (जनसम्पर्क) अलि कमजोर नै छ। त्यसको सिकार म बनुँला भनेर डर लाग्छ।'

तर, दुवैपटकको भेटमा आफूले सभापतिबाट निकै राम्रो व्यवहार पाएको उनी बताउँछन्। 'सभापतिज्यूसँग मैले त्यसपछि दुईपल्ट भेटिसकेँ। हामीले यहाँको महानगरपालिकाकै विकासको सन्दर्भमा भेट्यौं। अब त उहाँले मलाई एकदमै राम्रो व्यवहार गर्नुहुन्छ। हुन त उहाँको शैली अलि फरक नै छ। तर, मैले भेट्दा साह्रै राम्रो व्यवहार पाएँ,' चिरीबाबुले भने, 'उहाँले त उठेर मेयरसाप आउनुस् भनेर हात मिलाएर बसाल्नुभो। त्यति होला भन्ने मैले सोचेकै थिइनँ।' उनले हाँस्दै थपे, ' मलाई जहाँसम्म लाग्छ अहिले त म उहाँको नजरमा 'गुड ब्वाई' मा पर्छु होला।'

…..

शुक्रबार निकै व्यस्त सेड्युलमा हामीलाई समय दिएका चिरीबाबुले निर्वाचित भएपछि राम्रोसँग सुत्नसमेत नपाएको गुनासो गरे। दिउँसो साढे २ बजे पुल्चोकस्थित महानगरपालिकाको कार्यालयमा पुग्दा उनी भुटानी प्रतिनिधि मण्डललाई स्वागत गर्ने तयारीमा थिए।

भुटानी टोली आइपुग्न केही मिनेट ढिला भएपछि हामीसँग कुराकानी गरेका उनले कुराकानीलाई बीचमै रोकेर सो टोलीसामु विपद् व्यवस्थापनसम्बन्धी एउटा कार्यपत्र प्रस्तुत गरे। त्यसपश्चात निरन्तरता दिइएको कुराकानीका क्रममा महर्जनले निर्वाचित भएको १०० दिनभित्र आफूले गरेका कामप्रति सन्तोष व्यक्त गरे।

'हामी एकदम बचेका छौं। त्यस्तो कुनै किसिमको क्रिटिसिजम हामीमाथि भएको छैन। मात्र अस्ति यहाँ फोहोर उठेन, त्यो हाम्रो कारण होइन।' यद्यपि, राम्रो कामको स्वावासी भने पाइरहेको उनको भनाइ छ। फोहोर व्यवस्थापन गर्ने स्थानमै आएको समस्याका कारण केही दिन फोहोर नउठ्दा स्थानीयले गुनासो गरेपछि फोहोर व्यवस्थापनको वैकल्पिक स्थान खोजी गर्ने निर्णयसमेत गरिसकेको जानकारी उनले दिए।

पढ्नुस् : ललितपुरका महानगर प्रमुखको अनुभव : चुनाव जित्न भन्दा कांग्रेसबाट टिकट पाउन गाह्रो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.