|

सिरहा : सिरहाको १७ स्थानीय तहमध्ये शनिबार दिउँसोसम्म सम्म सिरहा नगरपालिका बाहेक सबै स्थानीय तहको मतगणना सकिएको छ।

अहिलेसम्म सार्वजनिक भएको सिरहाको १६ स्थानीय तहमध्ये नेकपा (माओवादी केन्द्र)ले ६ वटा स्थानीय तहमा विजयी भएको छ, भने संघीय समाजवादी फोरम नेपाल र नेकपा एमालेले चार-चार तथा नेपाली कांग्रेसले दुई स्थानीय तहमा विजयी हासिल गरेका छन्।

पछिल्लो पटक आज बिहान सम्पन्न सिरहाको गोलबजार नगरपालिकामा नेकपा माओवादी, लहान नगरपालिकामा नेकपा एमाले र सिरहाको बरियारपट्टि गाउँपालिका तथा लक्ष्मीपुर पतारी गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी भएका छन्।

सिरहाको गोलबजार नगरपालिकामा नेकपा माओवादी केन्द्रका देवनाथ साह ६ हजार ४४३ मतसहित प्रमुखमा र रेशमकुमारी थापा(यशु) ६ हजार ३४९ मतसहित उपप्रमुखमा निर्वाचित हुएका छन्।

उनीहरुका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमुख पदका उम्मेदवार श्यामकुमार श्रेष्ठले पाँच हजार ८९ मत प्राप्त गरे, भने नेकपा एमालेकै उपप्रमुख पदका उम्मेदवार सुनितादेवी सिंहले चार हजार ९२५ मत प्राप्त गरे।

यस्तै सिरहाको लहान नगरपालिका प्रमुखमा नेकपा एमालेका मुनि साह सुडी ११ हजार ३०७ मतसहित प्रमुखमा र एमालेकै सरियारकुमारी चौधरी ११ हजार १६८ मतसहित उपप्रमुखमा विजयी भएका छन्।

उनीहरुका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार अचमितलाल चौधरीले नौ हजार १३१ मत प्राप्त गरे। भने कांग्रेसकै उपप्रमुख पदकी उम्मेदवार पुनम चौधरीले नौ हजार ९०६ मत प्राप्त गरिन्।

त्यस्तै सिरहाको बरियारपट्टि गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालले विजयी हासिल गरेको छ। फोरमका सन्तोषकुमार महतोले तीन हजार ९७९ मतसहित प्रमुखमा विजयी भएका छन्, भने फोरम नेपालकै रेखाकुमारी यादव तीन हजार ७६३ मतसहित उपाध्यक्षमा विजयी भएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ।

उनीहरुका निकटतम प्रतिद्वन्द्वी अध्यक्षमा काँग्रेसका बालेश्वर यादवले दुई हजार ८८१ र उपाध्यक्षमा काँग्रेसकै कुमारी यादवले दुई हजार ८५५ मत ल्याएका छन्।

त्यस्तै सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरमका रामबल्लभ साह चार हजार चार मतसहित विजयी हुनुभएको छ भने उपाध्यक्षमा फोरमकै आशादेवी यादव तीन हजार ६४६ मतसहित विजयी भएका छन्।

उनीहरुका निकटतम प्रतिद्वन्द्वी काँग्रेसबाट अध्यक्ष पदका उम्मेदवार चतुरानन्द ठाकुरले तीन हजार २४५ र उपाध्यक्षमा काँग्रेसकै अमरकला यादवले तीन हजार ३७१ मत प्राप्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.