|

काठमाडौं :  मेरो नाम जगन्नाथ हो, घर नुवाकोट। अंग्रेजी लवजमा उनले यसो भन्दा धेरैले विश्वास गर्दैनन्, कि उनी नुवाकोटका जगन्नाथ नै हुन्। विश्वास गरुन् पनि कसरी?

उचाइमा नेपालीजस्तै र अनुहारको रङ पनि मिल्दोजुल्दो देखिए पनि लवजमा नेपालीपन छैन। यद्यपि, उनी आफूलाई जगन्नाथ भनेर चिनाउँदैमा खुसी छन् र नेपालमा नै स्थायी बसोबास गर्ने सोच बनाइसकेका छन्। उनी नुवाकोटको त्रिशूली नजिकैको गाउँ जफतीमा बस्न थालेको साढे ५ वर्ष भइसक्यो।

'म लाङटाङ घुम्न आएका बेला टुरिस्ट गाइड भगवान् बोगटीसँग उहाँको गाउँ (जफती) गएको थिएँ, त्यो गाउँ मलाई राम्रो पनि लाग्यो' उनले नेपालीमै भने, 'यहाँ धेरै सम्भावना पनि देखे‌ं अनि यहीँ बस्न थालें।'

खासमा उनको घर अष्ट्रिया हो र नाम हो राफेल लाङ्गेरहोस्ट। सन् २०१२ मा नेपाल घुम्न आएका राफेल अन्तत: यतै लोभिए। नुवाकोटमा स्थानीय एक व्यक्तिले उनको नाम जगन्नाथ राखिदिएका हुन्। जुन नाम उनले मन पराए र आफूलाई जनन्नाथकै नामले चिनाउन थाले।

उनी बेला बेलामा मात्र आफ्नो देश जान्छन्। नेपालमा नमुना सौर्य प्रविधि नामको कम्पनी छ। त्यसमा ५० लाख रुपैयाँ लगानी गरेका छन्। जफतीमा उनको अफिस छ, चारजना तलबी कर्मचारी छन्। सौर्य प्रविधिका सामान र विद्युतीय गाडीका पार्टपुर्जा बनाउँछन्। पेसाले इलेक्ट्रोनिक र आइटी इन्जिनियर उनी ती सामान अष्ट्रिया निर्यात पनि गर्छन्।

राफेलको अष्ट्रियामा पनि एउटा कम्पनी छ। त्यही कम्पनीको नाफा रकम नेपालमा ल्याएर लगानी गरेका हुन्। नेपालमा उत्पादन गरेका सामान उनले अष्ट्रियाको कम्पनीमार्फत बेच्छन्।

नेपालमा २०७२ वैशाखको भूकम्पपछि भने उनले इलेक्ट्रिकल कामबाहेक काठको घर बनाउने काम पनि सुरु गरेका छन्। अष्ट्रियादेखि काठ ल्याएर उनले नुवाकोट र रसुवामा गरी ८ वटा घर बनाइसकेका छन्। केहीको अर्डर लिएर बसेका छन्। ६ वटा घर नुवाकोटमा र २ वटा घर रसुवाको कालिकास्थानमा बनाएका छन्।

भूकम्पका कारण नेपालमा सिर्जना भएको विशिष्ट परिस्थितिमा उनले नयाँ व्यापारको सम्भावना देखे। त्यसैले आफ्नै देशबाट राम्रो र चिल्ला देखिने काठ ल्याएर यहाँ घर बनाउन थाले।

'आजभोलि गाउँघरमा ढुंगामाटोको घर बनाउन कोही चाहँदैन, गाउँमा सिमेन्ट लैजान पनि महँगो पर्छ। घर चिसो हुन्छ त्यसैले गाउँघरमा काठको घर उपयुक्त हुन्छ' उनी भन्छन्। अष्ट्रियाबाट काठ ल्याए पनि आफूले बनाउने घर नेपाली बजेट अनुसारकै हुने राफेल बताउँछन्।  

परिवारको संख्या र बजेटअनुसार घरको डिजाइन पनि धेरै छ। २ कोठाको घर ३ देखि ४ लाख, ३ कोठाको घर ७ लाख, ४ कोठाको १२ लाख र दुई तले घर २० लाख पर्ने उनी बताउँछन्। यी घर १०० वर्षसम्म टिक्ने उनको दाबी छ। 'यही घर अष्ट्रियामा अलि महँगो पर्छ किनभने त्यहाँ पैसा खर्च गर्न सक्ने मान्छेहरु छन्' उनले भने, 'नेपालको गाउँमा धेरै खर्च गर्न सक्ने मान्छे छैनन् त्यसैले सस्तो डिजाइनका घरहरु बनाउँछु।'

हेर्नुस् भिडियो

अष्ट्रिया काठमा निकै धनी देश हो। त्यहाँको गाउँगाउँमा काठको उद्योग रहेको राफेल बताउँछन्। 'अष्ट्रियामा काठको उद्योग राम्रो छ। सबै गाउँहरुमा काठको उद्योग छ' उनी भन्छन् 'चिरेको चिल्लो काठ राम्रो देखिन्छ। बलियो पनि हुन्छ।' अष्ट्रियाबाट पानी जहाजमा भारतको कोलकातासम्म काठ ल्याउँछन्। त्यहाँबाट ठूला ट्रकमा नेपाल ल्याउँछन्।

नेपालका गाउँघरमा पनि काठ त पाइन्छ। तर ती काठबाट राम्रो घर बनाउन नसकिने र बलियो पनि नहुने राफेल बताउँछन्। यसलाई ट्रिटमेन्ट गरेमा मात्र बलियो हुने उनको भनाइ छ। 'यहाँको काठको मिलहरु राम्रो छैन, त्यसैले काठ राम्रो पनि देखिदैन, ट्रिटमेन्ट नगरी बलियो पनि हुँदैन' उनले भने।

केही समय आफ्नो प्रमुख काम घर बनाउने नै हुने राफेल बताउँछन्। 'मैले बनाउने घर नेपालको गाउँघरका लागि उपयुक्त छ। ढुंगामाटो र सिमेन्टका घरभन्दा सस्तो पनि हुन्छ' उनी भन्छन्। ढुंगामाटो र सिमेन्ट प्रयोग गरेर घर बनाउन धेरै जनशक्ति चाहिन्छ तर, काठको एक हप्तामा नै तयार गर्न सकिन्छ। उनी आफूले बनाउने सानो घर एक हप्तामा र ठूला घर एक महिनासम्ममा बनाइसक्ने बताउँछन्।

नेपालमै घरजम गर्ने चाहना

राफेलको सोचाइ अब नेपालमै बस्ने रहेको छ। उनी आइटी र इलेक्ट्रिकल इन्जिनियर भएकाले आफ्नो खाँचो यहाँ रहेको बताउँछन्। 'हाम्रो देशमा यस्तो काम गर्ने धेरै छन्, नेपालमा अहिले यस्ता जनशक्ति कम छन् त्यसैले धेरै काम गर्न सकिन्छ' राफेल भन्छन्।

त्यसैले उनले अब नेपाल नै बस्ने र यतै घरजम गर्ने योजना बनाएका छन्। 'नेपालमै बिहे गर्ने मन छ। त्यसको लागि कुरा पनि गरिरहेको छु' राफेलले भने। उनले आफूसँग बिहे गर्ने केटी धेरै पढेलेखेको पनि हुन नपर्ने बताएका छन्। 'धेरै पढ्ने केटीहरुले काम नगर्ने उनको बुझाइ छ। नेपालमा धेरै पढेका केटीले काम गर्दैनन्। त्यसैले एसएलसी वा प्लस टु गरेको राम्रो हुन्छ' राफेलले भने।

उनी आफ्नै देश अष्ट्रियामा भने बिहे गर्न चाहँदैनन्। त्यहाँ विवाह विकृति भइसकेको उनी बताउँछन्। नेपालमा परिवारमा मिलेर बस्ने, एक अर्काको ख्याल गर्ने खालको बानी व्यवहार उनलाई मन पर्छ।

नेपाल बस्ने भएपछि उनले नेपाली भाषा सिकाउने किताबहरु किनेर आफै‌ं सिक्ने प्रयास गरेको उनले बताए। अहिले उनी नेपाली राम्रोसँग बोल्छन्। लेख्न पनि सक्छन्। हिजोआज उनी अंग्रेजीमा कुराकानी गर्न त्यति मन गर्दैनन्।  'नेपालमा धेरैको अंग्रेजी राम्रो पनि छैन, बोलेको राम्रोसँग बुझिँदैन, त्यसैले म नेपालीमा नै कुराकानी गर्छु' उनले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.