|
फोटो: भूपाल थापा

  • भूपाल थापा-

कपिलवस्तुः प्रायः तिहारको बेला उत्साहित हुने कपिलवस्तुका कोहार र कसघड जातिहरू केही वर्षयता भने निराश बनेका छन्। विगतका वर्षहरूमा अधिक मात्रामा बिक्री हुने माटोका विभिन्न सामग्रीहरू तिहारको बेलामा समेत न्यून संख्यामा बिक्री भएपछि उनीहरू निराश बनेका हुन्।

तिहारको बेलामा समेत माटोका भाँडा खरिद गर्न उपभोक्ताहरूले कम रुचि देखाउँदा उनीहरू चिन्तित बनेका हुन्। 

माटोको भाँडाकुँडा बिक्री हुन छाडेपछि कपिलवस्तुका कोहार जातिलाई पुख्र्यौली पेसा जोगाई राख्नसमेत गाह्रो भएको छ । प्रविधिको विकासका कारण विद्युतीय सामग्री र प्लाष्टिकजन्य सामग्री प्रयोगले माटोका भाँडाकुँडा बनाएर बिक्री गरी जीविकोपार्जन गर्न कठिन हुन थालको उनीहरूको भनाइ छ। माटाका भाँडाकुँडा बिक्न छाडेपछि आफूहरूको पेसा संकटमा परेको कपिलवस्तु नगरपालिका– ५ महुवाका रामगोपाल कोहारले बताए। ३० वर्षयता माटाका भाँडाकुँडा बनाएर बिक्री गर्दै आएका उनले अहिले माटाका भाँडाकुँडाको प्रयोग ह्वात्तै घटेको भन्दै दुखेसो पोखे। 

विशेषगरी दसैँ र तिहारका बेला माटोका भाँडाकुँडाको माग बढी हुने गरे पनि चार/पाँच वर्षयता बिक्री हुन छाडेको उनले बताए। बजारमा आकर्षक डिजाइनका विद्युतीय बत्ती र प्लाष्टिकका भाँडाकुँडा पाउन थालेपछि माटोका भाँडाकुँडाले बजार पाउन छाडेको स्थानीय रामदेव कोहारले गुनासो गरेका छन् । गाउँ शहरका प्रत्येक घरमा पहिले तिहारका बेला माटोको दियोमा बत्ती बालिन्थ्यो तर आजभोलि दियो बाल्ने घर निकै कम पाइन्छ। त्यस्तै, तिहारका बेला केटाकेटी खेल्ने माटाका भाँडाकुँडाका ठाउँमा पनि आजभोलि प्लाष्टिकको आएपछि माटोका भाँडाकँडाको बजार घटेको हो। 

होटलहरूमा प्रयोग गरिँदै आएका माटोका गिलास र प्लेटको ठाउँमा प्लाष्टिकका भाडाकुँडा आएपछि माटोका भाँडाकुँडाले बजार पाउन छाडेको उनको अनुभव छ। ‘माटाका भाँडाकुँडा भन्दा प्लास्टिकका भाँडाकुँडा सजिलै र सस्तो मूल्यमा पाइने हुँदा उपभोक्तहरू सजिलै आकर्षित भएका हुन्’, उनले भने। 

यस वर्ष पनि तिहार आउन लाग्दासमेत बत्ती बाल्न प्रयोग गरिने दियो, खुत्रुके, गमला र गाग्रीलगायतका सामग्रीको मागै नभएको उनीहरू बताउँछन्। 

चार/पाँच वर्षअघिसम्म माटोका दियो बेचेर राम्रो आम्दानी गर्दै आएका महुवा गाउँका पुन्नवासी कोहारले अब यो पेसाले परिवार थेग्न नसकिने बताए। उनले विद्युतीय र प्लाष्टिकको झिलिमिली बत्ती, मैनबत्तीको प्रचलन गाउँसम्म पुगेपछि अब पुख्र्यौली पेसा छोड्नुको विकल्प नभएको बताए। 

उता, पाँच वर्षअघिसम्म तिहारको बेला माटोका भाँडाकुँडा बेचेर १५ देखि २० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका सोही नगरपालिका– ८ कुदानका चिन्कु कोहारले यस वर्ष १० हजार रुपियाँको पनि व्यापार गर्न कठिन भएको अनुभव सुनाए। स्वास्थ्यका हिसाबले पनि माटोका भाँडाकुँडा राम्रा हुन्छन् तर उपभोक्ता प्लाष्टिकका सामानतर्फ नै आकर्षित भइरहेका छन् । 

पेसा संकटमा परेपछि पुख्र्यौली पेसा बुढापाकाले सम्हालेको र युवा भने वैदेशिक रोजगारी र अन्य वैकल्पिक पेसामा लागेको स्थानीय पत्रकार नारद कोहार बताउँछन् । तराईमा माटोका भाँडाकुँडा बनाउने जाति कोहार हुन् । राष्ट्रिय जनगणना, २०६८ ले कपिलवस्तु जिल्लामा कोहार जातिको जनसंख्या २९९ रहेको देखाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.