|

काठमाडौं : धादिङ राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका हो। पूर्व तथा पश्चिमबाट राजधानी प्रवेश गर्ने अधिकांश सवारीहरु पृथ्वी राजमार्ग हुँदै आउँछन्। मकवानपुरतिरबाट आउने पुरानो बाटो त्रिभुवन राजपथ पनि धादिङ हुँदै आउँछ। यी दुवै राजमार्ग धादिङ क्षेत्र नम्बर- १ मा पर्छन्। धादिङमा प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र छन्।

धादिङ क्षेत्र नम्बर- १ भौगोलिक रूपमा निकै विशिष्ट छ। काठमाडौंको थानकोटदेखि नुवाकोट, मकवानपुर, चितवन र गोरखा जिल्लासँग सिमाना जोडिएको यस क्षेत्रमा राजमार्ग आसपासमा शहरीकरण हुँदै गरेका बजारदेखि विकट चेपाङ बस्तीसमेत पर्छन्। यस क्षेत्रमा धुनिबेसी नगरपालिका तथा थाक्रे, गल्छी, गजुरी, बेनिघाट रोराङ र सिद्धलेक गाउँपालिका समेटिएका छन्। आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि धादिङ- १ मा वाम गठबन्धनका तर्फबाट एमालेका भूमि त्रिपाठी तथा कांग्रेसका तर्फबाट विश्वप्रसाद अर्याल मुख्य प्रतिस्पर्धामा छन्।

को हुन् त्रिपाठी?

२०२३ सालमा धादिङको मलेखुमा जन्मिएका त्रिपाठी तीन दशकभन्दा लामो समयदेखि कम्युनिष्ट राजनीतिमा क्रियाशील छन्। तत्कालीन आदर्श माध्यमिक विद्यालय गजुरीमा अध्ययनरत रहँदा २०३६ सालमा अनेरास्ववियुको प्रारम्भिक कमिटीबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेको बताउने त्रिपाठी उच्च शिक्षाका लागि काठमाडौं आएपछि पनि अनेरास्ववियुमै क्रियाशील रहे। त्यस क्रममा उनी ल क्याम्पसको स्ववियु सचिवसमेत बनेका थिए। धादिङ-काठमाडौं सम्पर्क मञ्चमा आबद्ध भएर जिल्लाको राजनीतिसँग पनि जोडिएका त्रिपाठी २०४५ मा पार्टी विभाजन भएपछि जिल्लामा फर्किएर सक्रिय राजनीतिमा लागे। राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातकसम्मको औपचारिक अध्ययन गरेका त्रिपाठी हाल एमाले धादिङका अध्यक्षसमेत हुन्।

'मुख्य प्रतिस्पर्धी नै मिलेपछि प्रतिस्पर्धा नै छैन'

एमालेका प्रभावशाली नेता राजेन्द्र पाण्डेले चुनाव लड्दै आएको यस क्षेत्रमा टिकट पक्का गर्न त्रिपाठीले निकै संघर्ष गर्नुपर्‍यो। जिल्ला कमिटीबाट नाम सर्वसम्मत सिफारिस भए पनि मनोनयन दर्ताको अघिल्लो दिनसम्म उनी आफैँले टिकट पाउनेमा ढुक्क थिएनन्। अन्तत: पाण्डेलाई प्रदेशसभाका लागि उम्मेदवार बनाउँदै एमालेले त्रिपाठीलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनायो। त्रिपाठी यस्ता भाग्यमानी नेता ठहरिएका छन्, जसले दुई प्रभावशाली नेतालाई आफ्नो क्षेत्रमै पर्ने प्रदेशका दुई क्षेत्रमा साथमा लिएर चुनावी अभियान चलाउन पाएका छन्। धादिङ- १ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर- १ मा पाण्डे र प्रदेशसभा क्षेत्र नम्बर- २ मा माओवादीका जिल्ला इञ्चार्ज एवम् मजदूर राजनीतिका प्रभावशाली नेता शालिकराम जम्कट्टेल वाम गठबन्धनका साझा उम्मेदवार छन्। यस क्षेत्रबाट २०६४ को संविधानसभा निर्वाचनमा जम्कट्टेल र २०७० मा पाण्डेले जीत हात पारेका थिए। 

त्रिपाठी यसपटक आफ्नो जीत सुनिश्चित रहेको दाबी गर्छन्। 'यहाँ मुख्य प्रतिस्पर्धी दुई दल नै एकसाथ छौँ, त्यसैले कसैसँग प्रतिस्पर्धा नै छैन', उनले थाहाखबरसँग भने। वामपन्थीको नेतृत्वमा यसअघि बनेका केही सरकारले बजेट नै ल्याउन नपाएको र केहीले आफैँले ल्याएको बजेटसमेत कार्यान्वयन गर्न नपाएको भन्दै उनले अब पाँच वर्षसम्म सरकारको नेतृत्व गरेर मुलुकलाई समृद्धितर्फ अग्रसर गराउने जिम्मा जनताले वाम गठबन्धनलाई दिने जिकिर पनि गरे।

त्रिपाठीले आफ्नो क्षेत्रको विकास र जनजीविकामा सुधारका केही एजेण्डा अघि सारेका छन्। २०७२ को विनाशकारी भूकम्पबाट अतिप्रभावित धादिङमा हालसम्म पनि धेरै भूकम्पपीडितले घर बनाएका छैनन्। २०७६ सालभित्र कुनै पनि भूकम्पपीडित घरबारविहीन रहन नदिने उनको बाचा छ। यस्तै अर्ग्यानिक तरकारी खेती, उद्योग कलकारखानाबाट गाउँमै रोजगारीलगायतका एजेण्डालाई पनि उनले अघि सारेका छन्। पाँच वर्षभित्र दक्षिणी धादिङको विकट क्षेत्रमा बसोवास गर्ने कुनै पनि चेपाङलाई घरबारविहीन रहन नदिने उनको अर्को बाचा छ। यसैगरी चीनको केरुङबाट धादिङको गल्छी र चीतवनको ठोरी हुँदै भारततर्फ जाने सडकको स्तरोन्नति, ग्रामिण सडकहरूको स्तरोन्नति र कालोपत्रेलाई पनि आफूले प्राथमिकतामा राखेको उनको भनाइ छ।

को हुन् अर्याल?

धादिङको थाक्रे गाउँपालिका वडा नम्बर- ३ मल्डुङका स्थायी बासिन्दा अर्याल राजनीतिभन्दा व्यावसायिक छवि बलियो भएका व्यक्ति हुन्। पेट्रोलियम डिलर्स एसोसिएसनको महासचिवसमेत रहेका अर्याल दुई दशकभन्दा लामो समयदेखि कांग्रेस राजीनितमा क्रियाशील रहेको बताउँछन्। रत्नराज्यलक्ष्मी क्याम्पसबाट पत्रकारितामा स्नातक अर्याल २०४८ सालमा धादिङको तत्कालीन क्षेत्र नम्बर- ३ (हाल क्षेत्र नम्बर- १) को क्षेत्रीय सचिव भएर सक्रिय राजनीतिमा होमिएका थिए। उनी हाल कांग्रेसको महासमिति सदस्य हुन्।

कम्युनिष्टहरुको बलियो जनाधार भएको यस क्षेत्रमा कांग्रेसले हरेक निर्वाचनपिच्छे फरक-फरक उम्मेदवार मैदानमा उतार्ने गरेको छ। तर, झण्डै ३० वर्षयता कांग्रेसका कुनै पनि उम्मेदवारले यो क्षेत्रमा वामपन्थी उम्मेदवारलाई नजिकबाट चुनौती दिन सकेका छैनन्।

'गठबन्धनका मतदाताले समेत मत दिन्छन्'

अर्याल यस पटक नतिजा उल्ट्याउने लक्ष्यसहित चुनावी मैदानमा छन्। 'यहाँका जनताले ३० वर्षदेखि एमाले र माओवादीका उम्मेदवारलाई जिताउँदै आए, तर जितेपछि उनीहरूले के गरे त? जनतालाई जवाफ दिनसक्ने अवस्थामा छैनन्, यही नै मेरो जीतको आधार हो', अर्यालले थाहाखबरसँग भने।

यस क्षेत्रमा आफूहरूको विशेष प्रभाव रहेको बताउने एमाले र माओवादी सत्तका लागि केन्द्रमा मिले पनि स्थानीयस्तरका जनता मिलिनसकेकाले गठबन्धनभित्रकै दलका मतदाताले समेत आफूलाई मत दिने उनको जिकिर छ। 'एमाले-माओवादीको मेल सर्प र बिच्छीको जस्तो छ, सत्ताका लागि केन्द्रमा मिले पनि स्थानीयस्तरका कार्यकर्ता मिलिसकेका छैनन्, पाएका बेला एकअर्कालाई ठुङ्ने क्रम जारी छ', उनी भन्छन्।

यस क्षेत्रबाट युद्धकालमा २५१ जना बेपत्ता भएको र ४८ जना मारिएको तथ्यांक पेस गर्दै उनले मार्ने र मर्ने तथा बेपत्ता बनाउन सहयोग गर्ने र बेपत्ता हुनेका परिवारहरू मिल्न नसक्ने जिकिर गरे।

उनी मत माग्ने क्रममा आफूले जनतासँग ठूला बाचा नगरेको बताउँछन्। 'मैले पूरा गर्न नसकिने खालका ठूला बाचा गरेको छैन', उनी भन्छन्, 'भूकम्पपीडितले घर बनाउन प्रयोग गर्ने सामग्रीमा समेत कर लगाइएको छ, त्यसलाई करमुक्त बनाउँछु, यस क्षेत्रमा एउटा नमुना व्यावसायिक कलेज खोल्छु। खानेपानीलगायतका समस्यालाई सम्बोधन गर्छु, यही नै हो मेरो प्रतिबद्धता।'

कसको प्रभाव कति?

गत बैशाखमा भएको स्थानीय तह निर्वाचनमा छ स्थानीय तहमध्ये पाँचवटामा एमाले र एउटामा माओवादी केन्द्रले जीत हात पारेका थिए। यस क्षेत्रका अधिकांश गाउँपालिका अध्यक्ष/उपाध्यक्षमा त्यतिबेला कांग्रेस र माओवादीबीच तालमेल भएकाले वडामा प्राप्त मतलाई आधार मान्दा एमाले सबैभन्दा अघि छ। दोस्रोमा माओवादी र तेस्रोमा कांग्रेस छन्।

त्यतिबेला एमालेले ३५ हजार १८२, माओवादीले २० हजार ९८४ र कांग्रेसले १९ हजार १७७ मत ल्याएका थिए। एमाले र माओवादीले प्राप्त मतलाई जोड्दा ५६ हजार १६६ हुन आउँछ। उता, राप्रपाले पाएको एक हजार ४१४ मत कांग्रेससँग जोड्ने हो भने २० हजार ५९१ हुन्छ। यसरी हेर्दा वाम गठबन्धन यहाँ झण्डै ३६ हजार मतले अगाडि छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.