|
विद्युत प्राधिकारण बागलुङ वितरण केन्द्र प्रमुख कपिलराज काफ्ले आफ्नै कार्यकक्षमा।

बागलुङ  : नेपाल विद्युत् प्राधिकरण बागलुङले लामो समयदेखि विद्युत् महसुल तिर्न अटेर गर्दै आएका ग्राहकको लाइन काटेरै महसुल रकम उठाउन थालेको छ। पाँच महिनाभन्दा धेरै समयदेखि महसुल नतिरेका २ सय ८ ग्राहकको लाइन काटेर तिर्न ताकेता गरेपछि २ महिनामै २३ लाख ५० हजार रुपैयाँ उठिसकेको विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्र प्रमुख कपिलराज पाण्डेले जानकारी दिए।

भदौ २१ गते आफू सरुवा भएर बागलुङ आउँदा झन्डै पौने करोड रकम नउठेको पाएपछि आफूले बक्यौता महसुल उठाउन कडाइ गरेको उनले बताए। ‘जिल्ला भित्रको अभिलेख हेर्दा ४ वर्षदेखि महसुल नतिर्ने ग्राहक पनि भेटिए,’ पाण्डेले भने, ‘७०/७५ लाख रुपैयाँ महसुल बक्यौता रहेको पाएपछि म यहाँ आएको भोलिपल्टदेखि नै यो रकम उठाउन लागिपरेको छु।’

ताकेता गरेपछि बजार क्षेत्रमा सडक बत्ती बालेको ३७ लाखभन्दा बढी बक्यौता महसुल नेपाल सरकारमार्फत नेपाल विद्युत् प्राधिकरणलाई  दिन कागजी प्राक्रिया अघि बढेको छ। ‘सडक बत्तीको महसुल एक पटकका लागि अहिले नेपाल सरकारले नै तिरिदिने भनेको छ,’ वितरण केन्द्र प्रमुख पाण्डेले भने, ‘तिर्नका लागि नगरले आवश्यक प्रक्रिया पूरा गरी सरकारलाई सिफारिस गर्नुपर्छ, हामीले ताकेता गरेपछि नगरपालिकाले प्रक्रिया अघि बढाएको छ।’

विद्युत् काटिएकामध्ये झन्डै ३० जना ग्राहकको महसुल उठ्न अझै बाँकी रहेको उनले बताए। समयमै महसुल नतिरेका जिल्लाका ५÷६ वटा सरकारी कार्यालयको समेत बिजुली काटिएको प्राधिकरणले जनाएको छ। विद्युत् महसुल ५ हजार रुपैयाँभन्दा बढी पुगेका र कम्तीमा पाँच पहिनादेखि महसुल नतिरेका ग्राहकको सूची बनाएर पहिलो चरणमा लाइन काटिएको हो।

झन्डै १ वर्षदेखि यहाँको विद्युत् प्राधिकरणसँग सम्पर्कमै नरहेका युनाइटेड टेलिकम र नेपाल स्याटेलाइट टेलिकम प्रालिको महसुल उठाउने प्रक्रिया अघि बढाउन क्षेत्रीय कार्यालय पोखरामा सिफारिस गरेको पाण्डेले जानकारी दिए। यी दुई कम्पनीले प्राधिकरणलाई १ लाख ३० हजार रुपैयाँ महसुल तिर्न बाँकी रहेको कार्यालयको तथ्यांक छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.