|
अर्घाखाँचीमा कांग्रेस कार्यकर्ताले च्यातेका मतपत्र

काठमाडौं : छिटपुट घटनाबाहेक प्रतिनिधिसभा तथा प्रदेशसभा दोस्रो चरणको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ। ४५ जिल्लाका १२८ प्रतिनिधिसभा र २५६ प्रदेशसभा निर्वाचन क्षेत्रमा बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो।

निर्वाचनका क्रममा केही रोचक प्रसंग पनि देखिएका छन्। त्यस्ता केही घटनालाई यहाँ प्रस्तुत गरिएको छ।

१. देउवा-ओलीको जुहारी

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रामकरुपमा प्रस्तुत हुँदै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेपछि पनि ओलीमाथि निसाना लगाउन छाडेनन्। असीग्राम मावि डडेल्धुराबाट मतदान गरेपछि देउवाले भने, ‘चुनाव सर्दैछ भन्नेहरुको मुख बन्द हुनुपर्ने हो। ओलीजीले त भोट हालिसकेपछि पनि चुनाव सर्छ, भन्न बेर छैन।’ देउवाले यसअघि पनि 'ओलीले २१ गतेपछिसमेत चुनाव सर्छ भन्छन्,' भनेर कटाक्ष गर्दै आएका थिए।

ओली पनि के कम, आफ्नै शैलीमा जवाफ फर्काए। भक्तपुर क्षेत्र नम्बर- २ अन्तर्गत पर्ने बालकोटमा मतदान गरेपछि ओलीले निर्वाचन सार्ने प्रधानमन्त्री देउवाका सबै प्रयासहरु असफल भएको बताए। ओलीले भने, 'उहाँले (देउवा) आफ्ना सहयात्रीलाई अदालत पठाउनेदेखि मतपत्र छाप्न नभ्याउनेसम्मका अनेक बखेडा र समस्या खडा गर्नुभयो, तर अब उहाँका सबै प्रयासहरु असफल भएका छन्।'

२. लास बोकेरै भोट हाल्न पुगे मलामी

पाल्पा क्षेत्र नम्बर- २ अन्तर्गत पर्ने रिब्दीकोट गाउँपालिका- ७ को पालुङमैनादी मतदान केन्द्रमा मलामीहरुले शवसहित मतदान केन्द्र पुगेर भोट हाले। पालुङमैनादीकी १०१ वर्षीया लीलाकुमारी गैरेको निधन भएपछि उनको अन्तिम संस्कारका लागि रिडीघाटतर्फ लैजान लागेको शव र दाउरा लिएरै मलामीहरु मतदान केन्द्र पुगेका थिए। मृतकका छोरासहित मलामीहरुले मतदान गरे, अनि घाटतर्फ लागे।

३. सीके राउतको उर्दीपछि उनको गाउँमा शुन्य मतदान

स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतको उर्दीपछि सप्तरी-२ मा पर्ने महादेवा गाउँपालिका वडा नम्बर- २ मा एक मत पनि खसेन। सो ठाउँ संयोजक राउतको पैतृक गाउँसमेत हो। यद्यपि राउत भने जनकपुरबाट पक्राउ परेका छन्। कर्मचारीहरु मतदाताको पर्खाइमा दिनभर बसे। तर, कोही मतदाता नभएको निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले जानकारी दिए।

४. ज्याकेट लगाएर मतदान गरेको विवादमा लफडा

जनकपुर उपमहानगरपालिका- २४ स्थित बसहियाको गान्धी आश्रम मतदान केन्द्रमा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भयो। बिहान बसहीयाको गान्धी मतदान केन्द्रमा कांग्रेस कार्यकर्ता प्रदेश- २ को राजधानी जनकपुर लेखिएको ज्याकेट लगाएर मतदान गर्न पुगेका थिए। ज्याकेट फुकाल्न माग गर्दै राजपा कार्यकताले होहल्ला गरेपछि हातहालाहालको स्थिति सिर्जना भयो। अन्त्यमा ज्याकेट फुकालेर मतदान गर्ने सहमति भयो।

५. हस्ताक्षर नगरेको मतपत्र दिएपछि लफडा र तोडफोड

अर्घाखाँचीको सन्धीखर्क नगरपालिका- ५ स्थित मथुरा मावि मतदान केन्द्रको (ख) बुथमा निर्वाचन अधिकृतले हस्ताक्षर नगरेको मतपत्र दिएको भन्दै कांग्रेस कार्यकर्ताले मतपत्र च्याते। उनीहरु त्यतिमै रोकिएनन्, मतपेटिका फालेर मतदानस्थलमा तोडफोड समेत गरे।

६. नातिको बुइ चढेर मतदान केन्द्रमा वृद्धा

प्युठानको गौमुखी गाउँपालिका- ३ रजवाराकी १०२ वर्षीय दुर्पती मल्ल नातिको बुइ चढेर मतदान केन्द्र पुगिन्। नाति जितबहादुर मल्ल बोकेर उनलाई मतदान केन्द्र पुर्‍याएका थिए। उनले स्थानीय खरा मावि केन्द्रबाट मतदानको शुभारम्भ गरिन्।

७. र, यो पनि, नातिनी बोकेर मतदान गर्न पुगे कमल थापा

मतदान गर्न अशक्त वा असहजता भएमा कोही सहयोगी लगेर मतदान गर्न पाउने व्यवस्था छ, तर उपप्रधान एवम् उर्जामन्त्री कमल थापा नाबालक नातिनी बोकेर मतदान गर्न पुगे। राप्रपा अध्यक्षसमेत रहेका थापाले मकवानपुरको वंशगोपाल उच्च मावि चौघडाबाट मतदान गरेका हुन्। 'मतदान गर्न जाँदा मैले नातिनी सुभाली थापालाई पनि सँगै लगें। मेरो मत मेरो नातिनी पुस्ताको उज्वल भविष्यका लागि समर्पित गर्दछु,' उनले ट्वीट गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.