|

काठमाडौं : नेकपा एमाले प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ ८० सिटमा जित हासिल गरेर सबैभन्दा ठूलो पार्टी बनेको छ। एमाले, माओवादी केन्द्रलगायतका दलहरुबीचको गठबन्धनबाट एमालेले प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये १०३ वटामा उम्मेदवारी दिएको थियो। त्यसमध्ये ८० स्थानमा जित हासिल गरेको हो। उम्मेदवार बनेका एमालेका उपाध्यक्ष वामदेव गौतमलगायतका केही नेताहरु भने पराजित भएका छन्।

यी हुन् प्रत्यक्षतर्फ चुनाव जित्ने एमालेका ८० (सूर्य चिह्न लिएका २ स्वतन्त्रसहित) सांसद

. केपी शर्मा ओली

झापा निर्वाचन क्षेत्र ५ बाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित केपी शर्मा ओली नेकपा एमालेका अध्यक्ष हुन्। ५७ हजार १ सय ३९ मत ल्याएर निर्वाचित ओलीले कांग्रेसका उम्मेदवार डा. खगेन्द्र अधिकारीलाई पराजित गरेका हुन्। अधिकारीले २८ हजार २ सय ५७ मत ल्याए।

२०२३ सालदेखि राजनीतिमा प्रवेश गरेका ओलीले २०२७ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएर भूमिगत भएका थिए। कम्युनिस्ट पार्टीको सदस्यता लिएकै वर्ष ओली पञ्चायतविरोधी आन्दोलनमा सहभागी भएको आरोपमा पक्राउ परे। उनले निरन्तर १४ वर्ष जेल जीवन बिताए।

नेता ओली २०२९ सालमा झापा आन्दोलन कमिटीको प्रमुख भए। २०४८, २०५१ र २०५६ सालको आम निर्वाचनमा झापा ६ बाट निर्वाचित ओली २०६४ सालको संविधानसभा चुनावमा झापा ७ बाट पराजित भए। सोही क्षेत्रबाट ओलीले २०७० सालको दोस्रो संविधानसभा चुनावमा विजय हासिल गरे। त्यसपछि भने ओली नेपालको राष्ट्रिय राजनीतिमा चर्चामा रहे। लामो राजनीतिक यात्राका क्रममा ओलीले गृहमन्त्री, परराष्ट्रमन्त्री, उपप्रधानमन्त्री हुँदै प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेका छन्।

. माधवकुमार नेपाल

काठमाडौं क्षेत्र नम्बर २ बाट नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। कांग्रेसका दीपक कुइँकेललाई झण्डै दोब्बर मतान्तरले हराउँदै नेपाल निर्वाचित भएका हुन्। नेपालले २७ हजार ३ सय ६६ मत पाए भने कुइँकेलले १४ हजार ९ सय मत पाएका थिए।

२०२६ सालदेखि राजनीति सुरु गरेका नेता नेपाल २०३५ सालमा नेकपा मालेको संस्थापक पोलिटव्यूरो सदस्य, २०४६ सालमा संयुक्त वाम मोर्चाका सदस्य, २०४७ सालमा नेकपा एमालेको पोलिटव्यूरो सदस्य भएका थिए। २०५० सालमा नेकपा एमालेका विदेश विभाग प्रमुख भएका नेपाल ०५४ सालमा भएको नेकपा एमालेको छैटौं महाधिवेशनबाट महासचिव निर्वाचित भएका थिए। ०५९ मा भएको सातौं महाधिवेशनबाट पनि पुनः महासचिव चुनिएका नेपाल २०६४ सालमा भएको संविधानसभा चुनावमा दुई ठाउँबाट पराजित भएका थिए। सोही निर्वाचनमा एमाले तेस्रो स्थानमा खुम्चिएपछि नैतिकताको आधारमा नेपालले महासचिवबाट राजीनामा दिए।
२०५१ र २०५६ सालको निर्वाचनमा रौतहटबाट निर्वाचित नेता नेपाल २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारका उपप्रधानमन्त्री तथा रक्षा र पराराष्ट्र मन्त्री थिए। २०६४ सालको संविधानसभा निर्वाचनमा काठमाडौं र रौतहट दुवै ठाउँबाट पराजित भए पनि उनी संविधानसभा सदस्यमा मनोनित भएका थिए। उनी २०६६ साल जेठ ९ गते प्रधानमन्त्री निर्वाचित भएका थिए। २०७० सालको दोस्रो संविधानसभाको चुनावमा भने काठमाडौं २ र रौतहट १ दुवै ठाउँबाट निर्मावाचित भएका थिए। 

. झलनाथ खनाल

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित भएका छन्। ३६ हजार ८ सय ७ मत ल्याएर विजयी भएका खनालका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार ६ सय २७ मत ल्याए। आम निर्वाचनमा खनालको यो पाँचौं पटकको जित हो।

पूर्वप्रधानमन्त्री खनाल २०४८, २०५१, २०६४ र २०७० सालमा इलामबाटै निर्वाचित भएका थिए। २०५६ सालमा भने उनी कांग्रेसका बेनुपराज प्रसाईसँग ७० मतान्तरले पराजित भएका थिए। 

खनाल २०४७ सालमा तत्कालीन नेकपा (माले) र नेकपा (मार्क्सवादी) एकीकरण भई बनेको नेकपा एमालेको स्थायी कमिटी सदस्य हुँदै २०६६ सालमा बुटवलमा भएको महाधिवेशनपछि  एमालेको अध्यक्षमा निर्वाचित भएका हुन्।

पञ्चायती व्यवस्थाको विरुद्धमा आन्दोलन गरेको बेला पनि इलाममा पक्राउ परेका खनाल १४ महिना जेल बसेका थिए। २०४६ सालको जनआन्दोलनमा वाममोर्चाको उच्च नेता रहेका खनाल प्रजातन्त्र प्राप्तिपछि बनेको अन्तरिम सरकारमा कृषि, भूमिसुधार र वन तथा वातावरण मन्त्री पनि भएका थिए।

. भीमबहादुर रावल

अछाम १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रावलले २४ हजार ८ सय ८३ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरतकुमार स्वाँरले १७ हजार ७१९ मत ल्याए। हाल एमालेका उपाध्यक्ष रहेका रावल पूर्वउपप्रधानमन्त्री, गृहमन्त्री र रक्षामन्त्रीसमेत हुन्। 

२०६४ सालको चुनावमा समानुपातिक निर्वाचन पद्धतितर्फबाट सभासद बनेका रावल २०७० सालको चुनावमा अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए।माओवादी सेना समायोजन विशेष समितिको सदस्य भएर काम गरेका रावलले संयुक्त राष्ट्र संघमा संक्रमणकालीन प्राधिकरणमा विशेषज्ञका रुपमा समेत काम गरेका थिए।

. ईश्वर पोखरेल

काठमाडौं-५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले महासचिव पोखरेलले २३ हजार २९ मत ल्याए। उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रकाशशरण महतले १३ हजार १६९ मत ल्याए।

२०२७ सालमा कम्युनिष्ट पार्टीको सदस्य बनेका पोखरेल २०३२ सालमा पूर्णकालीन कार्यकर्ता भएका थिए। पटक–पटक जेल जीवन बिताएका पोखरेल २०३३ सालमा अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोअर्डिनेशन कमिटी मालेको सदस्य थिए।

२०३५ सालमा नेकपा मालेको केन्द्रीय सदस्य भएका पोखरेल २०४७ सालमा नेकपा एमालेकोसमेत संस्थापक सदस्य भए। २०५१ सालमा प्रधानमन्त्री मनमोहन अधिकारीका प्रमुख राजनीतिक सल्लाहकार भएका पोखरेल ०५४ सालमा राष्ट्रियसभाको सदस्य समेत भए। २०५६ मा काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका पोखरेल २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा भने काठमाडौं ५ बाट पराजित भए। उनी दुवै पटक नेपाली कांग्रेसका नेता नरहरि आचार्यद्वारा पराजित भएका थिए। 

२०५४ मा एमाले स्थायी कमिटी सदस्य भएका उनी २०५९ सालमा केन्द्रीय सचिवालयका सचिव, २०६० मा पार्टी संगठन विभागको प्रमुख र २०६५ सालमा महासचिवमा निर्वाचित भए। अहिले उनी दोस्रो कार्यकाल एमालेको महासचिव छन्। २०६१ सालमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भएका पोखरेल डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा केही दिन उपपप्रधानमन्त्री समेत भएका थिए। 

. विष्‍णुप्रसाद पौडेल

रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित एमाले उपमहासचिव पौडेलले कांगेसका युवराज गिरीलाई २२ हजार ६३ मतान्तरले पराजित गरे।पौडेलले ४४ हजार ९ मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रतिद्वन्द्वी कांग्रेसका गिरीले २१ हजार ९ सय ४६ मत प्राप्त गरे। उनको यस क्षेत्रबाट लगातार तेस्रो जित हो। 

. घनश्याम भुसाल

रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्य निर्वाचित एमाले उपमहासचिव भुसालले राप्रपा प्रजातान्त्रिकका नेता दीपक बोहरालाई पराजित गरेका हुन्। भुसालले ३२ हजार ८ सय ६६ मत ल्याए भने बोहराले २७ हजार ४२२ मत प्राप्त गरे। भुसाल २०७० सालको चुनावमा भने यसै क्षेत्रमा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडसँग पराजित भएका थिए। 

२०३४ सालदेखि राजनीतिमा लागेका भुसालले २०३७ देखि २०४६ सालसम्म पटक पटक गरेर झण्डै तीन वर्ष जेल जीवन बिताए। २०५१ सालको मध्यावधि चुनावमा रुपन्देहीबाट विजयी भएका भुसाल एमालेभित्र वौद्धिक नेताका रुपमा परिचित परिचित छन्। उनी एमाले नेता झलनाथ खनाल प्रधानमन्त्री हुँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसम्बन्धी मन्त्री भएका थिए। 

. प्रदीपकुमार ज्ञवाली

गुल्मी क्षेत्र नं. १ बाट निर्वाचित एमाले सचिव प्रदीपकुमार ज्ञवालीले नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई पराजित गरेका हुन्। उनले ३७ हजार ८ सय १४ मत पाए भने भण्डारीले ३० हजार २ सय ५६ मत पाए। 

ज्ञवालीले गुल्मीबाट २०५६ को संसदीय निर्वाचन र २०६४ सालको संविधानसभा निर्वाचनमा जित हासिल गरेका थिए। २०७० सालको चुनावमा कांग्रेसका चन्द्र भण्डारीसँगै पराजित भएका थिए। ज्ञवाली २०६३ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका थिए।

. गोकर्णराज विष्‍ट

गुल्मी २ बाट निर्वाचित एमाले सचिव विष्टले ३४ हजार ६ सय १८ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका चन्द्रबहादुर केसीले २० हजार १ सय ५७ मत प्राप्त गरे। उर्जा मन्त्री हुँदा गरेको कामबाट चर्चामा आएका विष्ट युवा संघका पूर्वअध्यक्ष समेत हुन्।

१०. योगेशकुमार भट्टराई

एमाले सचिव तथा प्रचार विभाग प्रमुख भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा २९ हजार ४ सय ७९ मतसहित विजयी भए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका केशवप्रसाद दाहालले १६ हजार ८ सय ८८ मतमात्र पाए। 

२०६४ र ०७० सालको पहिलो र दोस्रो संविधानसभा चुनावमा काठमाडौं ६ बाट पराजित भएका भट्टराई २०५१ सालमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष थिए। 

११. सुवासचन्द्र नेम्वाङ

इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले नेता नेम्वाङले ३६ हजार ५१४ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका केशव थापाले २६ हजार ८६० मत प्राप्त गरे।

कानुन व्यवसायी पृष्ठभूमिका नेम्वाङ २०३३ सालदेखि राजनीतिमा सक्रिय छन्। उनले २०३३ सालमा राजकाज मुद्दामा जेल जीवन बिताएका थिए। २०४८ र २०५२ सालमा दुई पटक राष्ट्रिय सभाको अध्यक्ष भएका नेम्वाङ कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्य प्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको अध्यक्ष भएका थिए। उनी पहिलो र दोस्रो संविधानसभाको अध्यक्षसमेत थिए। 

१२. छविलाल विश्वकर्मा

रूपन्देहीको क्षेत्र नम्बर १ मा नेकपा एमालेका छविलाल विश्वकर्मा विजयी भएका छन्। उनी ३४ हजार १ सय ५१ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहेका अब्दुल रज्जाकले २६ हजार ७ सय ७१ मत ल्याए।

वर्तमान खानेपानी तथा सरसफाइ राज्यमन्त्री रज्जाकलाई हराउँदै विश्वकर्माले रुपन्देही १ मा एमालेलाई कमब्याक गराएका हुन्। २०७० सालको संविधानसभा निर्वाचनमा यी दुवै अनुहार चुनावी मैदानमा थिए। चुनाव भने कांग्रेसका रज्जाकले जिते। एमालेका स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा २०६४ सालमा कृषी तथा सहकारी मन्त्री बनेका थिए।

१३. लालबाबु पण्डित

मोरङ क्षेत्र नम्बर ६ बाट एमाले उम्मेदवार लालबाबु पण्डित प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। उनले कांग्रेस नेता शेखर कोइरालालाई ६ सय ७५ मतान्तरमा पराजित गरेका हुन्। पण्डितले ३३ हजार ९ सय ४१ मत पाए भने कोइरालाले ३३ हजार २ सय ६६ मत पाए। एमाले पोलिटब्यूरो सदस्य पण्डित २०७० सालमा सामान्य प्रशासन मन्त्री भएका थिए।

२०४६ र २०५६ सालको चुनावमा विजयी पण्डित २०६४ सालको चुनावमा समानुपातिकतर्फबाट सभाषद भएका थिए। आफ्ना काम र शालीन जीवनशैलीका कारण लगातार चर्चामा रहदै आएका पण्डित सामान्य प्रशासन मन्त्री हुँदा ग्रिनकार्ड, पीआर लगायत विदेशको स्थायी बसोवास अनुमतिपत्र लिएका कर्मचारीलाई सरकारी सेवामा अयोग्य रहने कानुन ल्याउन सफल भएका थिए। उनले नयाँ गाडी किन्न भनेर अर्थ मन्त्रालयबाट निकासा भएको ८० लाख रुपैयाँ फिर्ता गरेपछि उहाँको इमानदारिताको कद झनै अग्लिएको थियो।

१४. पार्वत गुरुङ

दोलखाबाट प्रतिनिधि सभाको निर्वाचनमा निर्वाचित पार्वत गुरुङ नेकपा एमालेको केन्द्रीय सदस्य हुन्। यस निर्वाचनमा सबैभन्दा बढी (३० हजार बढी) मतान्तरमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका गुरुङले

५५ हजार ९५४ मत पाएर बिजयी भएका हुन्। उनका प्रतिस्पर्धी कांग्रेसका रुद्रबहादुर खड्काले २५ हजार ८०१ मत पाएका छन्। एमाले केन्द्रीय सदस्य तथा दोलखा जिल्ला इन्चार्ज गुरुङ यसअघि ०७० सालमा दोलखा १ बाट निर्वाचित भएका थिए।

१५. गोकुलप्रसाद बाँस्कोटा

एमाले नेता गोकुलप्रसाद बाँस्कोटा काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। २०७० सालको संविधानसभा सदस्यको निर्वाचनमा तत्कालीन निर्वाचनक्षेत्र नं ३ बाट पराजित भएका बाँस्कोटा यस पटक सोही क्षेत्रबाट ५४ हजार ४२७ मत ल्याएर विजयी बने।

उनले कांग्रेसका जिल्ला सभापति समेत रहेका मधुप्रसाद आचार्यलाई १७ हजार ८४८ को भारी मतान्तरले पराजित गरेका हुन्। आचार्यले ३६ हजार ५७९ मत पाएका थिए। एमाले केन्द्रीय स्कूल विभागका सदस्य तथा ३ नं प्रदेश कमिटी सदस्य रहेका बाँस्कोटा तीन पटक नेकपा एमालेको जिल्ला अध्यक्ष भएका थिए।

१६. सुरेन्द्रप्रसाद पाण्डे

चितवन निर्वाचन क्षेत्र १ बाट नेकपा एमालेका नेता सुरेन्द्रप्रसाद पाण्डे निर्वाचित भएका छन्। एमालेका स्थायी कमिटी सदस्य पाण्डे कांग्रेसका राजेन्द्र बुर्लाकोटीलाई १४ हजार ४ सय ४२ मतले पराजित गरेका हुन्।

पाण्डेले ५० हजार ८ सय ९६ मत प्राप्त गर्दा बुर्लाकोटीले ३६ हजार ४ सय ५४ मत ल्याए। पाण्डे र बुर्लाकोटीको यो दोस्रो चुनावी भेट हो। यसअघि २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा पनि पाण्डेसँग बुर्लाकोटी पराजित भएका थिए। २०६४ सालमा समानुपातिकबाट सभाषद् भएका पूर्व अर्थमन्त्री पाण्डे २०७० सालको निर्वाचनमा चितवनबाटै निर्वाचित भएका थिए।

१७. भूमिप्रसाद त्रिपाठी

एमालेका भूमिप्रसाद त्रिपाठी धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको निर्वाचनमा निर्वाचित भएका हुन्। प्रतिस्पर्धीभन्दा झण्डै २८ हजारको मतान्तरले त्रिपाठी विजयी भएका हुन्।

४९ हजार १ सय २१ मत ल्याएर नेता त्रिपाठी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विश्वप्रसाद अर्यालले २१ हजार ९ सय ६८ मत ल्याए। नेकपा एमाले जिल्ला कमिटी धादिङका कार्यबहाक अध्यक्ष तथा ३ नम्बर प्रदेश कमिटीका सदस्य रहेका त्रिपाठीको यो संसदीय यात्रा पहिलो हो।

१८. पवित्रा निरौला खरेल

झापा क्षेत्र नम्बर २ बाट पवित्रा निरौंला खरेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छिन। खरेल १३ हजार ७ सय ६७ मतान्तरमा विजयी भएकी हुन्।

खरेलले ४५ हजार ८ सय १७ मत ल्याउदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उद्धव थापाले ३२०५० मत ल्याए। एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीति शुरु गरेकी उनी राजनीतिक गर्ने क्रममा पटक-पटक गिरफ्तार तथा जेल जीवत व्यतित गरेकी छिन।

२०३५/०३६ सालको विद्यार्थी आन्दोलनमा अनेरास्ववियुमा आवद्ध भएकी निरौला त्यसपछि महिला राजनीतिमा क्रियाशील भइन्। उनी अखिल नेपाल महिला संघको प्रथम राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित निरौलाले २०६६ सालमा एमाले झापा जिल्ला कमिटी सचिव भएर जिम्मेवारी सम्हालिसकेकी छन्।

जिल्ला विकास समितिको सदस्यका रुपमा काम गरेकी उनी २०७० सालको चुनावमा झापा २ बाट उम्मेदवार बनेकी निरौला कांग्रेसका उम्मेद्वार सुधिर शिवाकोटीसँग पराजित भएकी थिइन्।

१९. विरोध खतिवडा

मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको निर्वाचनमा निर्वाचित भएका विरोध खतिवडा १८ वर्षपछि पुनः संसद फर्किएका छन्। कांग्रेसकी नेता महालक्ष्मी उपाध्याय 'डिना'लाई ११ हजार ९६३ मतले हराउँदै खतिवडा विजयी भएका हुन्। खतिवडाले ४४ हजार ७ सय ४४ मत ल्याए भने डिनाले ३२ हजार ६ सय ८१ मत ल्याइन्। योसँगै उनी चौंथोपटक सांसद बनेका छन्।

०४३ सालमा राष्ट्रिय पञ्चायतमा एमालेका तर्फबाट जनपक्षीय उम्मेदवार बनेर पराजित भएका खतिवडा ०४८ सालमा जनमुखी नेता रुपचन्द्र बिष्टलाई पराजित गर्दै सांसद बनेका थिए। ०५१ को मध्यावधि निर्वाचनमा खतिवडाले कमल थापालाई पराजित गरे। ०५६ सालको चुनावमा पनि खतिवडाले तत्कालीन माले नेता हरिण्यलाल श्रेष्ठलाई हराएका थिए।

२०. कृष्णभक्त पोख्रेल

चितवन क्षेत्र नम्बर २ बाट एमालेका कृष्णभक्त पोख्रेल बिजयी भए। एमाले चितवनका अध्यक्ष समेत पोख्रेलले शिक्षा राज्यमन्त्री तथा कांग्रेसका नेता शेषनाथ अधिकारीलाई पराजित गरेका हुन्।  

विजयी पोख्रेलले ४४ हजार ६ सय ७७  मत ल्याएका थिए भने अधिकारीले २७ हजार ३ सय १४ मत ल्याए। नेता पोख्रेल यसअघि २०७० सालको निर्वाचनमा चितवन ३ बाट निर्वाचित भएका थिए।

२१. जयकुमार राई

सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित जयकुमार राईले संघीय समाजवादी फोरम नेपालका बरिष्ठ नेता अशोक राईलाई पराजित गरेका हुन्। नेता अशोक राईलाई २२,४०५ मतान्तरले पराजित गरेका एमालेका जयकुमार राईले ४४ हजार ५२८ मत ल्याए। अशोक राईले २२ हजार १२३ मत प्राप्त गरेका थिए। पहिलोपटक संसदीय चुनावमा उम्मेदवार बनेका जयकुमार हाल नेकपा एमाले धरान उपमहानगरपालिकाको सहइन्चार्जको जिम्मेवारीमा छन्।

२२. लालप्रसाद साँवा लिम्बू

लाल प्रसाद सावाँ लिम्बू झापा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले १६ हजार ६ सय ९३ को मतान्तरले जित हासिल गरेका हुन्। एलपी साँवा लिम्बूले ४३ हजार ५ सय १५ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देउमान थेवेले २६ हजार ८ सय २२ मत प्राप्त गरे।

२०३६ सालमा विद्यार्थीकालदेखि कम्युनिष्ट राजनीतिमा क्रियाशील साँवा पार्टीको उद्योग तथा वाणिज्य विभागको जिम्मेवारीमा छन्। पेशाले वैदेशिक रोजगार व्यवसायी उनी वैदेशिक रोजगार व्यवसायी महासंघको अध्यक्ष भइसकेका हुन्। उनी दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसका केशवकुमार बुढाथोकीसँग पराजित भएका थिए।

२३. भानुभक्त ढकाल

मोरङ ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भानुभक्त ढकाल एमालेका पोलिटब्यूरो सदस्य हुन्। ढकालले कांग्रेसका डा. सुनील शर्मालाई १९०६ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन्। ढकालले ४२ हजार ४१३ मत प्राप्त गरेका छन् भने शर्माले ४० हजार ५०७ मत प्राप्त गरे।

अनेरास्ववियुको महासचिवसम्म भएका ढकाल विद्यार्थी राजनीति हुँदै पार्टी संगठनमा क्रियाशील भएका हुन्। २०७० सालको दोस्रो संविधान सभापछिको संसदमा एमालेका प्रमुख सचेतक बनेका थिए।

२४. कृष्‍णप्रसाद दहाल

मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कृष्णप्रसाद दहालले राप्रपा अध्यक्ष कमल थापालाई पराजित गरेका हुन्। हालका ऊर्जामन्त्री थापाविरुद्ध दहालले जितको ह्याट्रिक पुरा गरेका छन्। दाहालले ५ हजार ९७३ मतान्तरले थापालाई हराएका हुन्। दहालले ४० हजार ६३१ मत प्राप्त गर्दा थापाले भने ३४ हजार ६५८ मत मात्रै पाए।

राप्रपाका अध्यक्ष थापालाई पराजित गरेर दहाल तेस्रोपटक सांसद बनेका हुन्। उनी ०४८ र ०५६ सालको निर्वाचनमा सांसदमा निर्वाचित भएका थिए। ०५१ सालको मध्यावधि चुनावमा भने दाहाल कमल थापासँग पराजित भएका थिए।

२५. हिराचन्द्र केसी

पूर्व सिँचाइ मन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य दिपक गिरीलाई पराजित गर्दै दाङ निर्वाचन क्षेत्र नं. ३ बाट मा नेकपा एमालेका नेता हिराचन्द्र केसी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। केसीले ४० हजार २ सय ८७ मत ल्याएर निर्वाचित भए भने उनका निकटतम प्रतिद्वन्द्वी गिरीले  ३३ हजार ७ सय ३० मत पाए।

एमाले दाङका सचिव समेत रहेका नेता केसीले पूर्वसिचाइँ मन्त्रीसमेत रहेका गिरी भन्दा ६ हजार ५ सय ५७ मत बढी पाएका हुन्। पहिलोपटक संसद प्रवेश गरेका केसी युवा संघ नेपालको केन्द्रीय अनुशासन आयोगका अध्यक्ष समेत हुन्।

२६. दामोदर भण्डारी :

बैतडीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित दामोदर भण्डारीले वाणिज्य तथा आपूर्ति राज्यमन्त्री कांग्रेसका नरबहादुर चन्दलाई पराजित गरेका हुन्। भण्डारीले चन्दलाई ११ हजार २ सय ३३ मतले पराजित गरे। भण्डारीले ३९ हजार ५ सय २४ मत ल्याउँदा उनका प्रतिस्पर्धी चन्दले २८ हजार २ सय ९१ मत पाए। ०७० को दोस्रो संविधानसभामा भण्डारी बैतडी क्षेत्र नं. १ र चन्द बैतडी क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। भण्डारी केपी ओली सरकारमा अर्थराज्यमन्त्रीसमेत भएका थिए। २०६४ सालको निर्वाचनमा पराजित भएका भण्डारी २०७० सालको निर्वाचनमा बैतडीबाटै विजयी भएका थिए।

२७खगराज अधिकारी

कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी निर्वाचित भएका छन्। अधिकारीले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका यज्ञबहादुर थापालाई १३ हजार ४ सय १६ बढी मतले पराजित गरे। अधिकारीले ३९ हजार २ सय ४२ मत ल्याउँदा थापाले २५ हजार ८ सय २६ मत पाए। अधिकारी ०४६ र ०५० मा लगातार दुईपटक एमाले कास्कीको अध्यक्षको जिम्मेवारीमा थिए। २०५१ सालको निर्वाचनमा कांग्रेसका तारानाथ राणाभाटलाई पराजित गरेका अधिकारी २०४८ मा रानाभाटसँग २९ वर्षकै उमेरमा चुनावी प्रतिस्पर्धामा उत्रिएर पराजित भएका थिए।

२८. नारायणप्रसाद मरासिनी

स्याङ्जा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नारायणप्रसाद मरासिनी विजयी भएका छन्। ३९ हजार ४३३ मत प्राप्त गरेर मरासिनी विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार राजु थापाले २८ हजार ७३१ मत ल्याए। २०७० सालको चुनावमा पराजित भएका मारासिनीको यो जित संसदमा पहिलो हो।

२९. तिलबहादुर महत क्षेत्री

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २ बाट प्रतिनिधि सभा सदस्यमा तिलबहादुर महत क्षेत्री निर्वाचित भएका छन्। नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य क्षेत्रीले नेपाली कांग्रेसका विष्णुकुमार कार्कीलाई १ हजार ३३३ को मतान्तरले पराजित गरेका हुन्। क्षेत्रीले ३९ हजार ५३ मत ल्याउँदा कार्कीले ३७ हजार ७२० मत ल्याए। २०३६ सालमा अनेरास्ववियूबाट राजनीति सुरु गरेका क्षेत्री अहिलेसम्म सांसद र मन्त्री बनेका छैनन्।

३०. वसन्तकुमार नेम्वाङ

नेम्वाङ पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनले नेपाली कांग्रेस केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेलाई १० हजार ६ सय १६ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्। नेम्वाङले ३८ हजार ६ सय ४१ मत प्राप्त गरी विजय हासिल गरे भने उनका निकटतम प्रतिद्वन्द्वी आङदेम्बेले २८ हजार २५ मत प्राप्त गरे। नेम्वाङका लागि यो तेस्रो जित हो। २०३६ सालमा अखिलको पाचौं सम्मेलनबाट सदस्य भएका उनी २०४८ सालको चुनावमा पाँचथर १ बाट निर्वाचित भएका थिए। २०५१ मा पराजित नेम्वाङ २०५६ सालको चुनावमा विजयी भए। पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य बनेका नेम्वाङ अहिले नेकपा एमालेको केन्द्रीय जल तथा उर्जा विभागको सचिव छन्। एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा उनी प्रशासन सल्लाहकार भएर काम गरेका थिए।

३१. हृदयेश त्रिपाठी (स्वतन्त्र राजनीतिक समूह)

राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा) बाट अलग भएर स्वतन्त्र राजनीतिक समूह बनाएका त्रिपाठी एमालेको सूर्य चिह्न लिएर वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा नवलपरासी पश्चिम- १ बाट निर्वाचित भएका हुन्। उनले ३८ हजार ५ सय ९२ मत पाउँदा निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवकरणप्रसाद कलवारले ३३ हजार ५ सय ९१ मत ल्याए।

वामपन्थी विचारधाराबाट प्रभावित भई वि.सं.२०३१ सालदेखि राजनीतिमा सक्रिय भएका त्रिपाठी नेपाल सद्भावना पार्टीबाट तत्कालीन प्रतिनिधिसभा सदस्य भएका थिए। २०६४ सालको संविधानसभा चुनावमा नवलपरासी क्षेत्र नम्बर ६ बाट विजयी भएका उनी २०७० सालको चुनावमा भने सोही क्षेत्रबाटै पराजित बने।

३२. पदम गिरी

पर्वतबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पदम गिरी एमालेका जिल्ला अध्यक्षहरुमध्येमा सबैभन्दा कान्छा जिल्ला अध्यक्ष हुन्। एमालेका युवा नेता तथा जिल्ला अध्यक्ष गिरीले नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पर्वतमा ३ पटक चुनाव जितेर ह्याट्रिक गरेका अर्जुनप्रसाद जोशीलाई १२ हजार ४ सय ५६ मत अन्तरले पराजित गरेका हुन्। गिरीले ३९ हजार २ सय ७५ मत प्राप्त गरे भने जोशीले २६ हजार ८ सय १९ मत पाए। २०६३ सालमा पृथ्वीनारायाण क्याम्पस स्ववियू सभापति निर्वाचित भएका गिरी २०७१ सालमा नेकपा एमाले जिल्ला कमिटी पर्वतको आठौँ अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए।

३३. मेटमणि चौधरी

दाङ प्रतिनिधिसभा क्षेत्र नं १ मा वाम गठबन्धनबाट नेकपा एमालेका मेटमणि चौधरीले ३७ हजार ९०८ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुशीला चौधरीले २४ हजार ७० मत प्राप्त गरिन्। एमालेका वैकल्पिक केन्द्रीय सदस्य चौधरी अनेरास्ववियुबाट राजनीतिमा आएका हुन्। एमाले दाङका जिल्ला इन्चार्ज रहेका चौधरीको यो पहिलो संसदीय यात्रा हो।

३४. घनश्याम खतिवडा

खतिवडा मोरङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनले ३७ हजार ५ सय २४ मत ल्याएर विजयी हुँदा कांग्रेसका डिगबहादुर लिम्बूलाई ६ हजार मतले पछि पारे। लिम्बूले ३१ हजार ४ सय ३६ मत मत पाए। पञ्चायतकालमा पटक–पटक गरी १ वर्ष ४ महिना जेल बसेका खतिवडा पञ्चायतका लागि जनपक्षीय उम्मेदवार भएर १९ मतले प्रधानपञ्चमा पराजित भएका थिए भने २०७० सालको चुनावमा मोरङ क्षेत्र नं ९ बाट समेत पराजित भएका थिए।

३५. शेरबहादुर तामाङ

तामाङ सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। उनले राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणालाई पराजित गरेका हुन्। तामाङले ३८ हजार ४०१ मत पाउँदा उनका प्रतिस्पर्धी राणाले ३० हजार ३६९ मत ल्याए। एमालेका केन्द्रीय सदस्य रहेका नेता तामाङ २०६४ सालको संविधानसभा चुनावमा पराजित भएका थिए। २०७० सालको चुनावमा भने उनले पशुपति शमशेरलाई नै पराजित गरेका थिए।

३६. नवराज रावत

रावत सुर्खेत क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। उनले ३७ हजार ४ सय ४७ मत ल्याउँदा कांग्रेसका हृदयराम थानीले २८ हजार ६ सय ४६ मत पाए। एमाले सुर्खेतका पूर्व अध्यक्षसमेत रहेका रावतले प्रतिनिधिसभा चुनावमा पहिलोपटक जित हासिल गरेका हुन्। यसअघि उनी २ पटक संविधानसभाको चुनावमा पराजित भएका थिए।

३७. राजेन्द्रकुमार राई

राई धनकुटाबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। धनकुटामा उनले लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका राप्रपाका सुनिल थापालाई पराजित गरे। राईले ३७ हजार ३३३ मत पाउँदा थापाले २६ हजार ८७४ मत ल्याए। २०६६ सालमा एमाले धनकुटाको जिल्ला अध्यक्ष भएका राजेन्द्र पुनः दोश्रो कार्यकालका लागि अध्यक्षको कार्यभार सम्हालिरहेका छन्। राईले नेतृत्व गरेको धनकुटामा नेकपा एमाले सबै स्थानीय तहमा जित हात पारेपछि उनलाई एमालेले स्थानीय तहको चुनावको ‘म्यान आफ दि इलेक्सन’ घोषणा गरेको थियो।

३८. वृजेशकुमार गुप्‍ता

राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा) बाट अलग भएर स्वतन्त्र राजनीतिक समूह बनाएका त्रिपाठी एमालेको सूर्य चिह्न लिएर वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा कपिलवस्तु निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। उनले नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्यलाई पराजित गरे। गुप्ताले ३५ हजार १४७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी आचार्यले ३१ हजार ५६६ मत ल्याए।

बिएस्सी इन्जिनियरिङ (इलेक्ट्रिकल) का विद्यार्थी गुप्ता २०५६ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सांसदमा निर्वाचित भएका थिए। पहिलो संविधानसभा २०६४ र दोस्रो संविधानसभा २०७० को चुनावमा पनि विजयी भएका गुप्ता कानूनमन्त्री, भौतिक योजना तथा निर्माण मन्त्रीसमेत भएका थिए। तमलोपा हुँदै राजपामा पुगेका उनी राजपा पनि परित्याग गरेर स्वतन्त्र हैसियतमा छन्।

३९. नारायणप्रसाद खतिवडा

नुवाकोट क्षेत्र नम्बर १ बाट कांग्रेसका अर्जुननरसिंह केसीलाई पराजित गर्दै खतिवडा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनले केसीलाई १० हजार ५ सय ५७ मतको फराकिलो अन्तरले पराजित गरे। खतिवडाले ३६ हजार ८ सय ९२ मत प्राप्त गर्दा केसीले २६ हजार ३ सय ३५ मत पाए। २०५४ सालमा जिविस उपसभापतिमा निर्वाचित भएका खतिवडा २०५९ सालमा एक वर्ष जिविसको कार्यवाहक सभापति भएर काम गरेका थिए। लामो समय शिक्षण पेशामा आवद्ध खतिवडा शिक्षक आन्दोलन र २०६२/०६३ को जनआन्दोलनमा पनि जेल परेका थिए।

४०. ध्रुबकुमार शाही

कांग्रेस नेता पूर्णबहादुर खड्कालाई हराउँदै सुर्खेत क्षेत्र नम्बर १ बाट शाही प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। शाहीले ३६ हजार ७५९ मत प्राप्त गरे भने खड्काले ३३ हजा ३७७ मत प्राप्त गरे। एमाले सुर्खेतका अध्यक्षसमेत रहेका नेता शाहीको यो पहिलो संसदीय यात्रा हो। २०५४ सालमा मालारानी गाविसको अध्यक्ष भएका शाही २०६४ सालको पहिलो संविधानसभाको चुनावमा भने पराजित भएका थिए।

४१. खेमप्रसाद लोहनी

धादिङ क्षेत्र नं. २ बाट झिनो मतान्तरले विजयी लोहनी एमालेका वैकल्पिक केन्द्रीय सदस्य हुन्। लोहनीले कानुन तथा संसदीय मामिला राज्यमन्त्री दिलमान पाख्रिनलाई ६ सय ४० मतले पराजित गरे। लोहनीले ३६ हजार २ सय ५४ मत प्राप्त गर्दा पाख्रिनले ३५ हजार ६ सय १४ मत पाए। एमालेको केन्द्रीय सदस्य तथा धादिङ र नुवाकोटको इन्चार्ज रहेका लोहनी २०४३ सालको चुनावमा जनपक्षीय उपसभापतिको उम्मेदवार बनेका थिए। उनी २०५४ देखि ०५९ सालसम्म जिल्ला विकास समितिको सभापति भएका थिए।

४२. महेश बस्नेत

एमाले युवा नेता बस्नेत भक्तपुर क्षेत्र नम्बर २ बाट विजयी भएका हुन्। उनले कांग्रेस नेता एवम् पूर्व सभामुख दमननाथ ढुंगानालाई झण्डै दोब्बर मतले पराजित गरे। बस्नेतले ३६ हजार ४१३ मत प्राप्त गर्दा ढुंगानाले १८ हजार ६३५ मत पाए। २०६५ सालमा युथ फोर्सको प्रमुख भएका बस्नेत ०५४ सालमा २३ वर्षकै उमेरमा देशकै कान्छो गाविस अध्यक्ष भएर काम गरेका थिए। २०७२ सालमा उद्योगमन्त्री भएका बस्नेत युवा संघका पूर्व अध्यक्ष हुन्।

४३. विशाल भट्टराई

भट्टराई खोटाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनले ३५ हजार ३७७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सरस्वती बजिमयले २१ हजार ६१२ मत प्राप्त गरिन्। २०७० सालमा भएको संविधानसभा निर्वाचनमा खोटाङ क्षेत्र नं २ बाट निर्वाचित भएका भट्टराई एमाले वैकल्पिक केन्द्रीय सदस्य हुन्। २०६७–२०७० सम्म एमालेको जिल्ला अध्यक्ष भएका भट्टराई एमाले खोटाङको इन्चार्ज समेत हुन्। २०५६ सालको संसदीय निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवार बनेका कांग्रेससँग पराजित भएका थिए। २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा भट्टराई नेकपा माओवादीसँग पराजित भएका थिए।

४४. पद्‍माकुमारी अर्याल

अर्याल उपप्रधान एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई पराजित गर्दै स्याङ्जा क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी हुन्। उनले ३५ हजार १४१ मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार श्रेष्ठले ३१ हजार ४ सय ३६ मत प्राप्त गरे। २०३९ सालमा अनेरास्ववियूबाट राजनीति सुरु गरेकी अर्याल २०६९ सालदेखि नेकपा एमालेको केन्द्रीय सदस्य छिन्। अर्याल २०७० सालको चुनावमा समानुपातिक प्रणालीमार्फत सभासद् भएकी थिइन्।

४५सोमप्रसाद पाण्डेय

पाण्डेय पाल्पा क्षेत्र नं. २ बाट निर्वाचित भएका हुन्। उनले ३४ हजार ८९९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिप्रसाद नेपालले २४ हजार ५५४ मत प्राप्त गरे। एमालेको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य भएका पाण्डेय २०५१ सालमा पहिलो पटक सांसदमा निर्वाचित भएका थिए। ०५६ सालमा भएको प्रतिनिधि सभाको चुनावमा पनि पाण्डे पाल्पा क्षेत्र नम्बर २ बाटै निर्वाचित भएका हुन्। २०६४ सालको पहिलो संविधानसभाको चुनावमा पराजित भएका पाण्डे २०७० सालको चुनावमा भने यही क्षेत्रबाट विजयी भएर उद्योगमन्त्रीको जिम्मेवारीसमेत पाएका थिए।

४६. भैरवबहादुर सिंह

सिंह बझाङबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। उनी ३४ हजार ६ सय १२ मत प्राप्त गर्दै विजयी हुँदा निकाटम प्रतिद्वन्दी कांग्रेस उम्मेदवार पृथ्वीबहादुर सिंहले २६ हजार ९ सय १० मत प्राप्त गरे। नेकपा एमालेको वैकल्पिक केन्द्रीय सदस्य रहेका सिंह पहिलोपटक सांसद् सदस्यमा निर्वाचित भएका हुन्। उनी २०४८, २०५१, २०५६ सालको चुनाव गरी ३ पटक पराजित भएका थिए।

४७. कृष्णकुमार श्रेष्ठ

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराउँदै एमाले उम्मेदवार कृष्णकुमार श्रेष्ठ तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन्। श्रेष्ठले ३४ हजार ४९२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी पौडेलले २७ हजार ६९० मत पाए। श्रेष्ठ र पौडेलबीच ६,८०२ मतको अन्तर पर्‍यो। नेकपा एमाले तनहुँका सल्लाहकार श्रेष्ठ २०७० सालको चुनावमा तनहुँ २ बाट पराजित भएका थिए।

४८. सूर्यप्रसाद पाठक

पाठक बाग्लुङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन्। वाम गठबन्धनबाट उम्मेदवारी दिएका पाठकले ३३ हजार ६ सय ५७ मत ल्याएर जित हालिस गरेका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी चम्पादेवी खड्काले २० हजार ६ सय १६ मत प्राप्त गरिन्। एमालेका युवा नेता पाठक २०७० सालको चुनावमा बाग्लुङ क्षेत्र नम्बर २ बाट पराजित भएका थिए।

४९. नरबहादुर धामी

धामी कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीसमेत रहेका कांग्रेस नेता एनपी साउदलाई ८ हजार ३ सय २७ मत अन्तरले पराजित गरे। धामीले ३३ हजार २ सय २० मत प्राप्त गरे भने साँउदले २४ हजार ८ सय ९३ मत पाए। २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेसका बहादुर थापासंग पराजित भएका धामी विद्यार्थी राजनीतिबाट आएका हुन्। अनेरास्ववियुको केन्द्रीय कोषाध्यक्ष भएका धामी चर्चित जनज्योती गोलीकाण्डका घाइते विद्यार्थी नेता हुन्।

५०. केदार सिग्देल

सिग्देल तनहुँ क्षेत्र नम्बर २ बाट विजयी भएका हुन्। सिग्देलले  ३२ हजार ९ सय २४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शंकर भण्डारीले २९ हजार ६ सय ४५ मत ल्याए। उनी एमालेको जिल्ला अध्यक्षसमेत हुन्।

५१. राजेन्द्रप्रसाद गौतम

गौतम संखुवासभाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। उनले नेपाली कांग्रेसका दीपक खड्कालाई १ हजार १ सय ३० मत अन्तरले पराजित गरे। २०७० सालको निर्वाचनमा खड्कासँग पराजित भएका गौतमले यसपटक खड्कालाई पराजित गरे। गौतम एमाले केन्द्रीय सल्लाहकार परिषद्का सचिव हुन्।

५२. जगतबहादुर सुनार विश्वकर्मा

विश्वकर्मा कास्की क्षेत्र नं ३ बाट विजयी भएका हुन्। उनी ३२ हजार ६९० मत ल्याएर विजयी हुँदा कांग्रेसका शुक्रराज शर्माले २४ हजार ३०४ मत ल्याए। एमालेका वैकल्पिक पोलिटब्यूरो सदस्यसमेत रहेका विश्वकर्मा प्रदेश नम्बर ४ को सचिव हुन्।

५३यज्ञराज सुनुवार

सुनुवार ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। उनले ३२ हजार ५ सय ८० मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका रामहरि खतिवडाले २७ हजार ३ हजार २७ मत प्राप्त गरे। २०६४ सालको संविधानसभा चुनावमा पराजित भएका सुनुवार २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा भने जितेका थिए।

५४. दलबहादुर राना

राना पाल्पा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। रानाले ३२ हजार ५४९ मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजयराज घिमिरेले २३ हजार ९९३ मत प्राप्त गरे।

एमालेको पोलिटब्यूरो सदस्य राना २०४८ सालमा पाल्पा क्षेत्र नम्बर १ बाट संसदीय चुनावमा पराजित भएका थिए। २०४९ सालमा जिल्ला विकास समितिको निर्वाचनमा समेत पराजित भएका राना २०५१ सालको चुनावमा विजयी भए। २०५६ सालको चुनावमा पराजित भएका राना २०६४ सालको चुनावमा सभासद बनेका थिए। राना २०७० सालमा भूमिसुधार मन्त्रीसमेत बनेका थिए।

५५. गणेशकुमार पहाडी

पहाडी सिन्धुली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। उनले नेपाली कांग्रेसका प्रेमचन्द्र दाहाललाई १० हजार १४० मतान्तरले पराजित गरे। पहाडीले ३२ हजार ५२९ मत प्राप्त गर्दा दाहालले २२ हजार ३८९ मत पाए। उनी एमालेको वैकल्पिक केन्द्रीय सदस्य हुन्। 

५६. प्रेमबहादुर आले

बहालबाला भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री वीरबहादुर बलायरलाई हराउँदै एमाले नेता आलेमगर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। ३२ हजार ५ सय १० मतसहित आले विजयी हुँदा कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री बलायरले ३० हजार आठ सय ७८ मत प्राप्त गरे। एमालेका वैकल्पिक केन्द्रीय सदस्य समेत रहेका आलेले तीन वर्ष भूमिगत जीवन विताएका थिए।

५७. नन्दलाल रोका क्षेत्री

क्षेत्री बाँके क्षेत्र नम्बर ३ बाट विजयी भएका हुन्। उनले कांग्रेसका बादशाह कुर्मीलाई पराजित गर्दै गरे। रोकाले ३१ हजार ६ सय १ मत प्राप्त गर्दा कांग्रेसका कुर्मीले २६ हजार ६ सय १७ मत प्राप्त गरे। एमाले प्रदेश नम्बर ५ का सदस्य क्षेत्री एमाले बाँकेका पूर्व जिल्ला अध्यक्ष हुन्।

५८. गणेशसिंह ठगुन्ना

ठगुन्ना दार्चुलाबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। उनले २८ हजार ९९८ मत प्राप्त गर्दा निकतम प्रतिद्धन्दी कांग्रेस उम्मेदवार विक्रमसिंह धामीले २२ हजार २३३ मत प्राप्त गरे। एमाले केन्द्रीय सदस्य एवम् दार्चुला जिल्ला इन्चार्ज रहेका ठगुन्ना २०५४ सालमा जिल्ला विकास समिति दार्चुलाको सभापति भएका थिए। २०६४ सालको पहिलो संविधानसभा चुनावमा पराजित भएका ठगुन्ना २०७० सालको दोश्रो संविधानसभा चुनावमा कांग्रेसका तत्कालीन प्रवक्ता दिलेन्द्रप्रसाद बडूलाई पराजित गर्दै निर्वाचित भएका थिए।

५९. लालबहादुर थापा

थापा बाजुराबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। उनले कांग्रेसका कविराज पण्डितलाई ४ हजार ३ सय ४८ मतले पराजित गरे। थापाले २८ हजार ६५ मत प्राप्त गर्दा पण्डितले २३ हजार १ सय ८६ मत ल्याए। एमालेको केन्द्रीय सदस्य रहेका थापा २०५४ सालमा जिल्ला विकास समितिको सभापति भएका थिए।

६०. कृष्णलाल महर्जन

महर्जन ललितपुर क्षेत्र नम्बर २ बाट विजयी भएका हुन्। उनले २७ हजार ७१३ मत प्राप्त गर्दा नेपाली कांग्रेसका चन्द्र महर्जनले १६ हजार ९४५ मत पाए। चन्द्र २०७० को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए भने एमालेका कृष्णलाल चन्द्रसँगै पराजित भएका थिए। एमालेका राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य रहेका उनी २०५६ सालको संसदीय चुनावमा ललितपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।

६१. रवीन्द्रप्रसाद अधिकारी

एमाले नेता रवीन्द्र अधिकारी कास्कीबाट तेस्रो पटक निर्वाचित भएका हुन्। कास्की २ बाट उम्मेदवार बनेका अधिकारीले २७ हजार २०७ मत पाउँदा कांग्रेसका देवराज चालिसे १८ हजार ६६१ मत ल्याए। अधिकारी कास्कीमा यसअघि दुईपटक निर्वाचित भएका थिए। उनले ०६४ र ७० सालको संविधान सभामा कास्की ३ मा जित हात पारेका थिए। संविधानसभामा र रुपान्तरित संसदमा विकास समितिको सभापति भएका अधिकारी युवा सभासदका रुपमा संविधानसभामा सक्रिय भूमिका खलेका कारण चर्चामा आएका थिए।

६२. नारदमुनि राना

राणा कैलाली क्षेत्र नम्बर ५ बाट विजयी भएका हुन्। उनले कांग्रेसकी उम्मेदवार एवम्प्र धानमन्त्री शेरबहादुर देउवाकी पत्नी डाक्टर आरजु राणा देउवालाई ४ हजार ८ सय ८० मत अन्तरले पराजित गरे। रानाले २७ हजार २ सय २ मत प्राप्त गर्दा राणाले २२ हजार ३ सय २२ मत प्राप्त गरिन्। २०५४ सालमा धनगढी नगरपालिकाको उपमेयरमा विजयी भएका राना पहिलो संविधान सभाको चुनाव २०६४ मा नेकपा एमालेबाट सामानुपातिक सासंद बनेका थिए।

६३. नवराज सिलवाल

सिलवाल ललितपुर निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन्। उनले नेपाली कांग्रेसका उदय शमशेर राणालाई पराजित गरे। सिलवालले २६ हजार ९४७ मत प्राप्त गर्दा राणाले २० हजार ७२९ मत गरे।

सिलवाल नेपाल प्रहरीका पूर्व डिआइजी हुन् भने राणा वर्तमान अर्थराज्यमन्त्री हुन्। प्रहरी महानिरीक्षक पदमा बढुवा गर्ने क्रममा सिलवाल र हालका एआईजी जयबहादुर चन्दबीच राजनीतिक खिचातानी हुँदा तेस्रो बरियतामा रहेका चन्द आइजिपीमा बढुवा भएका थिए। सिलवाल चन्दविरुद्ध अदालत पनि गएका थिए। सर्वोच्च अदालतले बरियताअनुसार बढुवा गर्नु भनेर आदेश दियो, तर उनी आइजिपी भने बन्न पाएनन्। सिलवाल काठमाडौं प्रहरी प्रमुख हुँदा आपराधिक गतिविधिलाई न्यूनिकरण गरेका कारण चर्चामा आएका थिए। आफूलाई प्रहरी प्रमुख बनाउनु पर्ने माग राख्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्दा हारेपछि सिलवालले राजीनामा दिएका थिए। २०७४ असोज २० गते उनी राजीनामाको टुंगो नलाग्दै एमाले प्रवेश गरेका थिए।

६४. दीपकप्रकाश भट्ट

भट्ट कञ्चनपुर क्षेत्र नम्बर ३ बाट २५८ मत अन्तरले विजयी भएका हुन्। भट्टले २६ हजार ३६४ मत पाउँदा निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार एवम् पूर्वमन्त्री रमेश लेखकले २६ हजार १०६ मत पाए। भट्ट एमालेको विदेश विभाग सदस्य छन्।

६५. झपटबहादुर रावल

रावल कैलाली निर्वाचन क्षेत्र नं. २ बाट विजयी भएका हुन्। रावलले २५ हजार १५७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मोहनसिंह राठौरले २३ हजार ३१३ मत प्राप्त गरे। रावल केही वर्षअघि राठौर मन्त्री हुँदा उनका पिए भएका थिए। राठौर हालै मात्र एमाले परित्याग गरी कांग्रेस प्रवेश गरेर टिकट पाएका थिए। एमालेका वैकल्पिक केन्द्रीय सदस्य रावलले अखिल हुदै युवा संघको राजनीति गरेका थिए।

६६. रवीन्द्रराज शर्मा

शर्मा दैलेख क्षेत्र नं. १ बाट विजयी भएका हुन्। शर्मा २३ हजार ७ सय ६७ मत ल्याउँदै निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी राप्रपा उम्मेदवार दीपकुमार शाहीले १७ हजार २ सय ३ मत ल्याए। एमाले दैलेखका जिल्ला अध्यक्ष शर्मा २०४८ र २०५१ सालको संसदीय चुनावमा दैलेख–१ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार भएका थिए।

६७. राजबहादुर बुढा क्षेत्री

क्षेत्री दैलेख २ बाट विजयी भएका हुन्। उनले २३ हजार ३२३ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शिवराज जोशीले १६ हजार ६३४ मत पाए। राजबहादुरको संसदीय निर्वाचनमा यो पहिलो जित हो।

६८. भूपेन्द्रबहादुर थापा

थापा म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। थापा २३ हजार ३०८ मत ल्याएर विजयी हुँदा कांग्रेसका खम्बिर गर्वुजाले २० हजार ९८० मत प्राप्त गरे। थापा नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य हुन्।

६९. लिलानाथ श्रेष्ठ

एमाले केन्द्रीय सदस्य श्रेष्ठ सिरहा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। श्रेष्ठले २३ हजार २७० मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका अशेश्वर यादवले २१ हजार २१८ हजार मत प्राप्त गरे। संविधानसभाकाे दोस्रो निर्वाचनमा सिरहा क्षेत्र नम्बर ५ बाट तत्कालीन एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पराजित श्रेष्ठ अहिले माओवादीसमेतको गठबन्धनको साझा उम्मेदवार बनेर विजयी भएका हुन्।

७०. कृष्णगोपाल श्रेष्ठ

श्रेष्ठ काठमाडौं क्षेत्र नं. ९ बाट विजयी भएका हुन्। श्रेष्ठले २२ हजार ८५२ पाउँदा उनका निकतटम प्रतिद्वन्द्वी कांग्रेसका ध्यानगोविन्द रञ्जितले १४ हजार ८०२ मत ल्याए। श्रेष्ठ २०५४ सालदेखि निरन्तर एमालेको केन्द्रीय सदस्य छन्। २०४८ सालको आमचुनावमा मदन भण्डारीले छाडेको काठमाडौं क्षेत्र नम्बर ५ मा भएको उपचुनावमा एमालेको तर्फबाट निर्वाचित भएका श्रेष्ठ २०५१ को आम चुनावमा काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित भएका थिए। २०६१ सालमा स्थानीय विकास राज्यमन्त्री भएका नेता श्रेष्ठ २०५६, २०६४ र २०७० काठमाडौं ९ बाटै पराजित भएका थिए।

७१. रघुवीर महासेठ

महासेठ धनुषा क्षेत्र नम्बर ४ बाट विजयी भएका हुन्। उनले नेपाली कांग्रेसका महेन्द्र यादवलाई पराजित गरे। महासेठले २२ हजार ५ सय ३२ मत प्राप्त गर्दा यादवले १९ हजार ९ सय ९१ मत प्राप्त गरे। सिभिल इन्जिनियरिङमा स्नातक गरेका महासेठ एमाले केन्द्रीय सदस्य हुन्।

७२. यज्ञबहादुर बोगटी

बोगटी अछाम- २ बाट विजयी भएका हुन्। बोगटीले नेपाली कांग्रेसका पुष्पबहादुर शाहलाई पराजित गरे। बोगटीले २१ हजार ९६५ मत ल्याउँदा शाहले १९ हजार १०६ मत ल्याए। नेता बोगटी एमालेका जिल्ला सचिव हुन्।

७३भवानीप्रसाद खापुङ

तेह्रथुममा एमालेका भवानीप्रसाद खापुङ २१ हजार ३३५ मतसहित निर्वाचित भएका हुन्। उनकी प्रतिस्पर्धी कांग्रेसकी सीता गुरुङले १९३१४ मत पाइन्। एमालेका पूर्वजिल्ला अध्यक्ष समेत रहेका खापुङ पूर्वसांसद समेत हुन् ।

७४. कृष्‍णबहादुर राई

राई काठमाडौं क्षेत्र नम्बर ३ बाट विजयी भएका हुन्। बहालवाला गरिबी निबारण तथा सहकारी मन्त्री तथा नेपाली कांग्रेसकी अम्बिका बस्नेतलाई उनले पराजित गरे। राईले १९ हजार १६९ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी बस्नेतले १४ हजार ८८४ मत प्राप्त गरे। एमाले काठमाडौंका अध्यक्षसमेत रहेका राई २०५४ सालमा जोरपाटीको गाविसको उपाध्यक्षमा जितेका थिए।

७५. रामवीर मानन्धर

मानन्धर काठमाडौं क्षेत्र नम्बर ७ बाट विजयी भएका हुन्। मानन्धरले राप्रपाका विक्रम थापालाई ८ हजार मतको फराकिलो अन्तरले पराजित गरे। मानन्धर १८ हजार १०२ मतले विजयी हुँदा थापाले १० हजार ७९ मत पाए। यस क्षेत्रबाट मानन्धर दोस्रोपटक विजयी भएका हुन्। मानन्धरले यसअघि ०७० मा कांग्रेसकी प्रमिला डंगोल र माओवादीकी हिसिला यमीलाई पराजित गरेका थिए। २०४९ र २०५४ सालमा भएको स्थानीय चुनावमा उनी काठमाडौं महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्ष भएका थिए। हाल पार्टीको  केन्द्रीय सदस्य हुन्।

७६. जीवनराम श्रेष्‍ठ

श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित भएका हुन्। उनले नेपाली कांग्रेसका नविन्द्रराज जोशीलाई पराजित गरे। श्रेष्ठले १३ हजार ३९७ मत पाउँदा जोशीले १२ हजार ९५३ मत ल्याए। २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा जोशीले श्रेष्ठलाई यही क्षेत्रबाट पराजित गरेका थिए। श्रेष्ठ नेपाल ओलम्पिक कमिटीका अध्यक्षसमेत हुन्। ०४९ सालमा काठमाडौं वडा नम्बर १५ को वडाध्यक्ष निर्वाचित भएका श्रेष्ठ ०५३ सालमा राष्ट्रिय खेलकूद परिषदको सदस्य सचिव भएका थिए। उनी ०६३ सालमा पुनः दोस्रोपटक पनि सदस्यसचिव भए। उनी हाल एमाले केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इञ्चार्ज छन्।

७७. धनबहादुर बुढा

बुढा डोल्पाबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। उनले फराकिलो मतान्तरले कांग्रेसका अंगत बुढालाई पराजित गरे। बुढाले ११ हजार ७६१ मत ल्याएर विजयी हुँदा कांग्रेस उम्मेदवारले ३ हजार १६७ मत पाए। २ पटक जिल्ला विकास समिति डोल्पाको सभापति भइसकेका बुढा २०७० सालको चुनावमा डोल्पा क्षेत्र नम्बर १ बाट विजयी भएका थिए।

७८. प्रेमप्रसाद तुलाचन

तुलाचन मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। उनले ३ हजार ५४४ मत ल्याएर कांग्रेसका रोमी गौचन थकालीलाई पराजित गरे। थकालीले ३ हजार १८१ मत प्राप्त गरे। तुलाचन २०५४ सालमा स्थानीय निकायको चुनावबाट जिविस मुस्ताङको सदस्य भएका थिए। २०७० सालको चुनावमा नेपाली कांग्रेसबाट बागी उम्मेदवार बनेका तुलाचन १२ मतले मात्रै पराजित भएका थिए। २०७४ सालमा उनी एमालेमा प्रवेश गरेका हुन्।

७९. पोल्देन छोपाङ गुरुङ

गुरुङ मनाङबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। उनले पूर्वमन्त्री तथा कांग्रेस नेता टेकबहादुर गुरुङलाई २ सय ८९ मतले पराजित गरे। पोल्देनले २ हजार ३ सय मत पाउँदा टेकबहादुरले २ हजार २१ मत पाए। पोल्देन एमाले मनाङका अध्यक्ष हुन्।

८०. गोपालबहादुर बम

बम मुगुबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। उनले १३ हजार ३४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हस्तबहादुर मल्लले ९ हजार ८ सय ६१ मत प्राप्त गरे। २०५० सालमा नेपाल मजदुर किसान पार्टी त्यागेर एमाले प्रवेश गरेका बम अहिले एमालेको प्रतिनिधि परिषद् सदस्य तथा मुगु पार्टी अध्यक्ष छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.