थ्रेस होल्ड पार गर्दैमा दलहरुले पाउने छैनन् सिट

|

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिक पद्धतितर्फको पनि मत गणना सकिएपछि अब कुन दलले कति सिट पाउँछन् भन्ने चर्चा सुरु भएको छ। निर्वाचन आयोगले सिट संख्या टुंग्याउन केही दिन लाग्ने बताए पनि प्राप्त मतको आधारमा सिट हिसाब गर्न थालिएको छ। 

प्रदेशसभा सदस्य निर्वाचन ऐनले न्युनतम मतको सीमा (थ्रेस होल्ड) डेढ प्रतिशत कायम गरे पनि थ्रेस होल्ड कटाउने दलहरुको समेत प्रदेशसभामा प्रतिनिधित्व  नहुने देखिएको छ। प्रतिनिधिसभातर्फ पाँच ठूला दलले मात्र थ्रेसहोल्ड (मतको न्युनतम सीमा) कटाएका कारण समानुपातिकतर्फ प्रतिनिधित्व पाएका छन्। प्रदेशसभामा यी पाँच दलबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टी र विवेकशील साझा पार्टीले पनि प्रवेश पाएका छन्। प्रतिनिधिसभामा पनि साझा छैठौं र राप्रपा सातौं नम्बरमा छ।

कुन प्रदेशमा कुन कुन पार्टी?

समानुपातिकबाट ३७ जना प्रदेशसभा सदस्य चयन हुने एक नम्बर प्रदेशमा नेकपामा एमालेले सबैभन्दा बढी करिब १६ स्थान पाउने भएको छ भने नेपाली कांग्रेसले १४ स्थान पाउनेछ। यो प्रदेशमा माओवादीले चार, संघीय समाजवादी फोरम र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक/एक सिट पाउनेछन्। साना दलले पाएको करिव ९ प्रतिशत मत भने एमाले र फोरमले पाएमा दुईमध्ये एक दलमा थपिने सम्भावना छ।

दुई नम्बर प्रदेशमा भने समानुपातिकतर्फ सबैभन्दा धेरै मत कांग्रेसले २३ प्रतिशत मत पाएको छ। यस प्रदेशमा समानुपातिक पद्धतितर्फबाट चयन हुने ४३ सदस्यमध्ये कांग्रेसले ११ सिट सुरक्षित गर्ने देखिएको छ भने राजपाले १०, फोरमले नौं, एमालेले सात र माओवादीले पाँच सिट पाउनेछन्। 

तीन नम्बर प्रदेशमा एमालेले ३४ प्रतिशत मत ल्याएको छ। यस प्रदेशमा समानुपातिक पद्धतितर्फबाट चयन हुने ४४ सदस्यमध्ये एमालेले १८, कांग्रेसले १३, माओवादीले ८, विवेकशील साझा पार्टीले ३ र राप्रपाले एक सिट पाउनेछन्। तीन नम्बर प्रदेशमा विवेकशील साझा पार्टी चौथो ठूलो दल पनि भएको छ। अन्य साना दलमा विभाजित भएको करिव १० प्रतिशत मत विवेकशील साझा र राप्रपामध्ये एक दललाई थपिन सक्नेछ।

चार नम्बर प्रदेशको २४ समानुपातिक सीटमा चार दलले कब्जा जमाएका छन्। यहाँ एमाले र कांग्रेसले समान १०/१० र माओवादीले तीन सिट पाउनेछ। ३६ प्रतिशत ल्याएको कांग्रेस र ३७ प्रतिशत ल्याएको एमालेले न्युनतम १० सिट ल्याउने निश्चित छ। साना दलमा बाँडिएको करिब १४ प्रतिशत मत एमाले वा माओवादीमध्ये एक दलमा थपिने निश्चित छ।

पाँच नम्बर प्रदेशको प्रदेशसभामा प्रतिनिधिसभामा थ्रेस होल्ड पार गरेका पाँच वटै पार्टीको प्रतिनिधित्व निश्चित भएको छ। ३५ प्रदेशसभा सदस्य समानुपातिकबाट चयन हुने यो प्रदेशमा एमाले र कांग्रसले १३/१३ सिट पाउनेछन्। माओवादीको भागमा ६, फोरम र राजपाको भागमा एक/एक सिट पर्नेछ। अन्य साना दलमा विभाजित भएको करिब १३ प्रतिशत मत एमाले र फोरममध्ये एउटा दलकोमा थपिने निश्चित छ।

६ नम्बर प्रदेशमा १६ सांसद समानुपातिक पद्धतितर्फबाट चयन हुनेमा एमाले र कांग्रेसको भागमा ६/६ र माओवादीको भागमा ४ सिट पर्ने देखिएको छ। यो प्रदेशमा अन्य दलको प्रतिनिधित्व हुने सम्भावना छैन। 

७ नम्बर प्रदेशमा पनि तीन दल कांग्रेस, एमाले र माओवादीले मात्र समानुपातिक पद्धतितर्फबाट सिट सुरक्षित गरेका छन्। समानुपातिकतर्फ सबैभन्दा बढी ३६ प्रतिशत कांग्रेसले जितेर न्युनतम नौं सिट सुरक्षित गरेको छ भने एमालेले सात र माओवादीले चार सिट सुरक्षित गरेको छ। अन्य दलमा बाँडिएका करिब १२ प्रतिशत मत तीन दलमध्ये कसको भागमा पर्ने हो यकीन छैन।

थ्रेसहोल्ड कटाए पनि सिट प्राप्त गर्न नसक्ने यी दल

प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार प्रदेशसभामा समानुपातिकतर्फ पाउने मतको न्युनतम सीमा (थ्रेस होल्ड) कटाए पनि कतिपय दलले प्रदेशसभमा सिट सुरक्षित गर्न भने सकेनन्। थ्रेस होल्ड कटाए पनि कुल खसेको मतमा सांसद संख्याले भाग गर्दा प्राप्त हुन आउने न्युनतम मत ल्याउन नसक्दा उनीहरु प्रदेशसभामा प्रतिनिधित्व गर्नबाट वञ्चित भएका हुन्। 

एक नम्बर प्रदेशमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले खसेको सदर मतको डेढ प्रतिशत भन्दा बढी अर्थात २६ हजार एक सय २३ मत प्राप्त गरे पनि प्रदेशमा प्रतिनिधित्व गराउन सकेन। एक नम्बर प्रदेशमा २४ हजार ८ ससय १८ मत (डेढ प्रतिशत) थ्रेस होल्ड कायम भएको थियो। यो प्रदेशमा एक सिट समानुपातिकमा जित्न ४४ हजार ७ सय १७ मत ल्याउनुपर्छ।

दुई नम्बर प्रदेशमा पनि रिजवन अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले ३२ हजार ८ सय ६४ मत पाएर थ्रेसहोल्ड कटाए पनि प्रदेश सभामा प्रतिनिधित्व गराउन सकेन। यो प्रदेशमा खसेको सदर मत १५ लाख ५१ हजार २२६ मतलाई समानुपातिकमा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य संख्या ४३ ले भाग गर्दा न्युनतम एक सदस्य विजय गराउन ३६ हजार ७५ मत ल्याउनुपर्छ।

चार नम्बर प्रदेशमा थ्रेसहोल्ड कटाउने चार वटा दलले प्रदेशसभामा प्रतिनिधित्व नपाउने भएका छन्। ९ लाख ९३ हजार ७२६ मत खसेको यो प्रदेशमा थ्रेसहोल्ड १४ हजार ९०५ कायम थियो। तर एक सिट ल्याउन ४१ हजार ४०१ अर्थात करिब तीन गुणा बढी (साढे चार प्रतिशत) मत ल्याउनुपर्ने हुन्छ। चार नम्बर प्रदेशमा राप्रपा र विवेकशील साझा पार्टीले डेढ/डेढ प्रतिशत, राष्ट्रिय जनमोर्चाले दुई प्रतिशत र नयाँ शक्ति पार्टीले २.४ प्रतिशत मत पाएका थिए।

पाँच नम्बर प्रदेशमा पनि राष्ट्रिय जनमोर्चाले थ्रेसहोल्ड कटाएर करिव दुई प्रतिशत अर्थात ३२ हजार ५४६ मत ल्याए पनि समानुपातिकमा प्रतिनिधित्व नपाउने भएको छ। थ्रेसहोल्ड २५ हजार २०६ कायम भए पनि एक सिट जित्न यो प्रदेशमा ४८ हजार १३ मत ल्याउनुपर्ने हुन्छ।

छ नम्बर प्रदेशमा थ्रेसहोल्ड पार गरेर करिब तीन प्रतिशत मत ल्याएको राप्रपाले यो प्रदेशमा समानुपातिकतर्फ प्रतिनिधित्व नपाउने भएको छ। यो प्रदेशमा एक सिट ल्याउन २९ हजार आठ सय ९५ मत आवश्यक पर्ने भए पनि राप्रपाले १५ हजार छ सय २९ मत मात्र पाएको थियो। यो प्रदेशमा खसेको सदर मतको डेढ प्रतिशत भनेको सात हजार एक सय ७४ मात्र हो।

सात नम्बर प्रदेशको कैलालीबाट प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षतर्फ एक/एक सीट जितेको राष्ट्रिय जनता पार्टी नेपालले थ्रेस होल्ड १२ हजार १२२ (डेढ प्रतिशत मत) कटाए पनि समानुपातिकबाट प्रदेशसभामा प्रतिनिधित्व गर्न नपाउने भएको छ। उसले साढे पाँच प्रतिशत अर्थात ३६ हजार नौ सय २ मत ल्याएको थियो। यो प्रदेशमा एक सीट ल्याउन ३८ हजार चार सय ८२ मत जरुरी पर्दछ। सात नम्बर प्रदेशमा राप्रपाले करिव २ प्रतिशत मत ल्याए पनि प्रतिनिधित्व पाउने देखिएन। राप्रपाले यहाँ १५ हजार ४४४ मत ल्याएको छ।

यस समाचारमा दलहरुले प्राप्त गर्ने सिट संख्या समानुपातिक पद्धतिमा प्राप्त गरेको मतको आधारमा निर्वाचन आयोगले सिट गणना गर्ने विधि अनुसार नै अनौपचारिक रुपमा निकालिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • विद्यार्थी लाइ यसले धेरै सहयोग गरेको छ