|
फाइल फोटो

चितवन : नेपालका विभिन्न जलक्षेत्रमा आजदेखि जलपक्षी (पानीचरा)को गणना हुँदैछ। सिमसार क्षेत्रमा पाइने चराहरुको अवस्था पत्ता लगाई संरक्षणका लागि नयाँ रणनीति बनाउन पक्षी गणना गर्न लागिएको हो।

गणनापछि तयार पारिएको प्रतिवेदन नीति निर्माण तहमा समेत पेश हुने चराविज्ञ तथा पक्षीविद् संघ नेपालका प्रमुख डा. हेमसागर बरालले जानकारी दिए।  उनका चरा गणना कार्य माघ ७ गतेसम्म चल्ने छ। गणनामा तीन सय स्वयंसेवक तथा चराविज्ञहरुको सहभागी रहनेछन्। 

आज पहिलो दिन शुक्लाफाँट र कोशीटप्पुबाट गणना शुरु हुने भन्दै डा. बरालले अन्य क्षेत्रमा पुस २२ देखि माघ ७ गतेभित्रमा आ–आफ्नो अनुकुलतामा देशैभरको सिमसार क्षेत्रमा गणना हुने जानकारी दिए। चितवनमा भने केही दिनमा गणना थालिने चराविज्ञ तथा वर्ड एजुकेशन सोसाइटी चितवनका पूर्व अध्यक्ष वासु विडारीले बताए। 

यसपटक रामसार सूचीमा सूचीकृत नेपालको पाँच वटा तालमा समेत चरा गणना हुनेछ। मुख्यगरी चितवनको बीसहजारी ताल, कपिलवस्तुको जगदीशपुरताल, पोखराको फेवाताल लगायत क्षेत्रमा पनि चराको गणना हुनेछ ।  

अघिल्लो अनुगमनमा चितवनमा सिमसार क्षेत्रमा कुल १० हजार ३२ चरा गणना गरिएको वर्ल्ड एजुकेशन सोसाटी चितवनले जनाएको छ। त्यसको अघिल्लो वर्ष सिमसार क्षेत्रमा ११ हजार २६० वटा चरा भेटिएको थियो। जिल्लामा चराको संख्या ६३४ प्रजातिको अभिलेख छ। नेपालमा ८८७ प्रजातिका चरा छन्। अहिले विभिन्न देशबाट चराहरु नेपाल बसाइ सरेर जाडो छल्न नेपाल आएका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.