|

काठमाडौं : नयाँ संविधान जारी भएसँगै नेताहरुले 'राजनीतिक क्रान्ति सकियो अब आर्थिक क्रान्ति गर्ने' भनेर भाषण गर्दै आएका छन्। यसै वर्ष भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धेरै दलको चुनावी नारा नै आर्थिक समृद्धि रह्यो। सञ्चार माध्यम, सभा, गोष्ठीमा पनि आर्थिक समृद्धिको विषयले निकै महत्त्व पाएको छ। यसै सन्दर्भमा नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले दुई हप्ताअघि 'नेपाल नवनिर्माण महाअभियान' पुस्तक सार्वजनिक गरी समृद्ध नेपालको खाका प्रस्तुत गरेका छन्।

नेपालभन्दा साधन स्रोतमा पछाडि रहेका मुलुकले पनि छोटो समयमा तीव्र आर्थिक वृद्धि हासिल गरी सम्पन्न मुलुकमा दरिइसकेका छन्। नेपालचाहिँ किन अझै पछाडि परिरहेको छ? भन्ने प्रश्न सार्वजनिक मञ्चहरुमा उठ्ने गरेको छ। नेता गौतमले पनि यसै सन्दर्भबाट विषय उठान गरी पुस्तक तयार पारेका छन्। उनले पुस्तक लेख्ने प्रेरणा सिंगापुरका पूर्वराष्ट्रपति लि क्वान यूको पुस्तक पढेपछि प्राप्त भएको उल्लेख गरेका छन्।

उनले पुस्तकबारे भनेका छन् :

'सिंगापुरको निर्माता लि क्वान यू को आत्मकथा पढेपछि म धेरै प्रभावित भएको थिएँ, २०६१ सालको राजाको प्रत्यक्ष शासनमा मसहित केही साथीहरुलाई प्रहरी प्रशिक्षण केन्द्र महाराजगञ्जमा तीन महिनाभन्दा बढी हिरासतमा राखिएको थियो। त्यसबेला लि को आत्मकथा दोहोर्‍याएर अध्ययन गर्ने अवसर मिल्यो। समुद्र र जमिनको सानो भागबाहेक प्राकृतिक स्रोत नभएको सिंगापुरले विकसित देशको तहमा आफूलाई पुर्‍याउन सक्दछ भने पर्याप्त प्राकृतिक स्रोत भएको नेपालले किन विकास गर्न सक्दैन भन्ने जिज्ञासाको स्पष्टोक्ति लि को किताबले दियो।'

पुस्तकलाई ६ खण्डमा विभाजन गरिएको छ। मुख्य खण्ड तेस्रो हो। जसलाई नवनिर्माणको १० वर्षे महाअभियान शीर्षक दिइएको छ।

के हो नवनिर्माण महाअभियान?

खासमा यो नेता गौतमले नेपालको विकासबारे देखेको एउटा परिकल्पना हो। उनले यसबारे भनेका छन्,  'नवनिर्माण महाअभियान नेपालका निम्ति महापरिकल्पना हो, अहिले यसलाई अवधारणाका रुपमा प्रस्तुत गरिएको छ। ज्यादै ठूलो आकार प्रकार र तीव्र गतिमा फड्को मार्ने किसिमले नेपाली अर्थतन्त्रका सबै पक्षको अभियानका रुपमा विकास गर्नुपर्ने हुनाले यसलाई महाअभियान भनिएको हो।' उनले महाअभियानलाई 'एकै पटक हजारौं स्थानबाट सुरु गरिने राष्ट्रिय पुनर्निर्माणको अभूतपूर्व ऐतिहासिक घटना हो' भनेका छन्।

महाअभियानमार्फत नेता गौतमले नेपालको उर्जा र भौतिक पूर्वाधार निर्माणको खाका प्रस्तुत गरेका छन्। महाअभियानका लागि एक दशकको अवधिमा ५०० अर्ब अमेरिकी डलर खर्च गर्ने उनको परिकल्पना छ। त्यसमध्ये २०० अर्ब डलरको नेपाल नवनिर्माण कोष बनाउने योजना छ। कोषमा आन्तरिक वचतबाट ८५.३४ अर्ब, विदेशी सहायताबाट ४० अर्ब, विदेशी लगानीबाट ५० अर्ब, गैर आवासीय नेपालीबाट १० अर्ब, बाँकी १४. ४ अर्ब डलर बैंकबाट ऋण लिइनेछ।

महाअभियानका लागि ७ लाखको संख्यामा श्रम फौज निर्माण गर्ने र त्यो काम नेपाली सेनाले भर्ती खोलेर गर्ने उनले परिकल्पना गरेका छन्। श्रमफौजमा १० हजार इञ्जिनियर, २० हजार ओभरसियर, २० हजार सबओभरसियर, १० हजार डाक्टर, ४० हजार स्वास्थ्य सहायक, १० हजार प्राविधिक प्रशिक्षक र ५० हजार जना प्रावधिकि सहयोगी हुनेछन्।

के के गरिन्छ महाअभियानमा?

१० वर्षभित्र गरिने सबै परियोजनाको विस्तृत परियोजना प्रतिवेदन एकै वर्षमा तयार पार्ने गौतमको परिकल्पना छ। अर्को वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्माण कम्पनीलाई परियोजना हस्तान्तरण गरिनेछ। धेरै आयोजनाहरु नेपाली सेनाले तयार गर्ने श्रमफौजले निर्माण गर्ने उनको परिकल्पना छ। 

५८ हजार मेगावाट विद्युत उत्पादन

महाअभियानबाट ५८ हजार ८६८ मेगावाट विजुली उत्पादन गर्ने, त्यसमध्ये आधा विजुली नेपालमै खपत गर्ने उनको परिकल्पना छ। पूर्वपश्चिम र उत्तर दक्षिण गरी २३ सय किलोमिटर ७६५ केभी प्रशारण लाइन जडान गर्ने पनि पुस्तकमा उल्लेख गरेका छन्।

१० वर्षभित्रै कर्णाली चिसापानी बहुउद्देश्यीय परियोजनाबाट १५ हजार, कोशी जलासय परियोजनाबाट ६ हजार मेगावाट, बुढीगण्डकीबाट १२ सय मेगावाट विद्युत उत्पादन गर्ने गौतमको परिकल्पना छ। जलविद्युतबाहेक जैविक विद्युत उत्पादन केन्द्रबाट २० हजार, हाइड्रोजन ग्यासबाट १० हजार मेगावाट, सौर्य प्रणालीबाट २ हजार र हावाबाट ५ सय मेगावाट विजुली निकाल्न परिकल्पना पनि गरेका छन्।

इलामको चुलाचुलीदेखि डडेल्धुराको जोगबुढासम्म औद्योगिक करिडोर निर्माण गरी त्यहाँ १३ सय किलोमिटर लामो ७६५ केभी क्षमताको प्रशारण लाइन विस्तार गर्ने, रसुवागढीदेखि वीरगञ्जसम्म २०० किमी लामो ७६५ केभी क्षमताको प्रशारण लाइन निर्माण गर्ने पनि गौतमले पुस्तकमा उल्लेख गरेका छन्।

सडक राजमार्ग

हुलाकी राजमार्ग ६ र ४ लेनको १३ सय किलोमिटर, पूर्वपश्चिम राजमार्ग ८ लेन र १२ सय किलोमिटर, इलामदेखि डडेल्धुरासम्म १३ सय किलोमिटर औद्योगिक करिडोर सडक, १३ किलोमिटरकै मध्यपहाडी राजमार्ग निर्माण सम्पन्न गर्ने गौतमको परिकल्पना छ। उत्तर दक्षिण जोड्ने विभिन्न सडक, ठूला नदीको किनारमा करिडोर सडक र सबै जिल्ला सदरमुकामसम्म जोड्ने ६/४ लेनको सडक निर्माण गर्ने पनि उनले उल्लेख गरेका छन्।

राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्ष क्षेत्रमा पर्ने सडकमा आकाशे सडक sky over Road निर्माण गर्ने पनि उनको योजना छ। ३ वर्षभित्र काठमाडौं उपत्यकामा चल्ने पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनले प्रतिस्थापन गर्ने र ५ वर्षभित्र देशभरीका सबै सवारी साधन विद्युतीय बनाउने वामदेवको योजना छ।

रेल यातायात

पूर्वपश्चिम ३ वटा र उत्तर दक्षिण ५ वटा रेलमार्ग तथा चक्रपथहरुमा सञ्चालन हुने मेट्रो रेलमार्गसहित ६४२७ किलोमिटर रेलमार्ग निर्माण गर्ने नेता गौतमको परिकल्पना छ। पूर्वपश्चिम, मध्यपहाडी र औद्योगिक करिडोर राजमार्गको समानान्तर रेलमार्ग, जसको अधिकांश ठाउँमा सुरुङमार्ग र आकाशमार्ग हुने उनको परिकल्पना छ। रसुवागढीदेखि वीरगञ्जसम्म २ सय किलोमिटरको रेलमार्ग, चितवनबाट काठमाडौं ३० मिनेटमा आइपुग्ने गरी अधिकांश ठाउँमा सुरुङमार्ग रहेको १०० किलोमिटर लामो चुम्बकीय रेल सञ्चालन गर्ने पनि उनले पुस्तकमा उल्लेख गरेका छन्।

काठमाडौंमा बुढानीलकण्ठदेखि गोदावरीसम्म मेट्रोरेल, भित्री चक्रपथमा मेट्रोरेल र निजगढदेखि काठमाडौंसम्म फास्ट ट्रयाकको समानान्तर हुने गरी ७६ किलोमिटर लामो रेलमार्ग बनाउने पनि उल्लेख गरेका छन्। सिन्धुपाल्चोक, काभ्रे, रसुवा, नुवाकोट धादिङ जिल्ला समेट्ने गरी ५०० किलोमिटर लामो चक्रपथ द्रुत रेल, चितवन, पोखरा लगायतका क्षेत्रमा पनि चक्रपथ द्रुत रेल सञ्चालन गर्ने उनले पुस्तकमा लेखेका छन्। प्रत्येक प्रदेश सदरमुकाममा रेल यातायात पुर्‍याउने पनि गौतमको परिकल्पना छ।

हवाई यातायात

आन्तरिक ठूला ९ वटा र आन्तरिक साना २७ वटा, निजगढ र त्रिभुवन विमानस्थलसहित १० वटा अन्तर्राष्ट्रिय विमानस्थल, ४६ वटा अत्याधुनिक विमानस्थलको परिकल्पना उनले गरेका छन्। हवाइ मार्गमार्फत दैनिक २ लाख पर्यटक भित्र्याउने उनको योजना छ। निजगढमा एकैपटक ३ वटा विमान अवतरण र उडान गर्न सक्ने गरी संसारकै उत्कृष्ट अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने, अन्तर्राष्ट्रिय उडानका लागि वाइड बडी ५० वटा र न्यारो बडी ५० वटा विमान व्यवस्था गर्ने पुस्तकमा उल्लेख गरिएको छ। नेपालमै अत्याधुनिक विमान मर्मत केन्द्र सञ्चालन गर्ने, प्रदेश सदरमुकाममा ३ वर्षभित्र अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माण गर्ने पनि गौतमले उल्लेख गरेका छन्।

बन्दरगाह भाडामा लिएर पानीजहाज

भारत, चीन, बंगलादेशसँग भाडामा बन्दरगाह लिएर पानी जहाज सञ्चालन गरी संसारका अरु देशसँग व्यापार सम्बन्ध बढाउने गौतमको परिकल्पना छ। नेपाल भारत सिमाना र नेपाल चीन सिमानाका शहरहरुमा अन्तर्राष्ट्रिय स्तरका सुख्खा बन्दरगाह निर्माण गर्ने पनि उनले उल्लेख गरेका छन्।

कोशीबाट गंगा नदी हुँदै बंगालको खाडीसम्म र त्यहाँबाट संसारभरी पुग्ने राष्ट्रिय ध्वजावाहक पानीजहाज सञ्चालन गर्ने, कोशी, नारायणी र कर्णालीमा २० वटा पानीजहाज चलाउने, कञ्चनपुर-झापाको नदी प्रणालीमा ४० वटा पानीजहाज र कोशी गंगा हुँदै बंगालको खाडीसम्म २० वटा ठूला र २० वटा साना पानीजहाज चलाउने गौतमको परिकल्पना छ।

केवलकारबाट बबरमहलमा ओर्लने, भूकम्प प्रतिरोधक नभएका घर भत्काउने

प्युठानमा भिंग्रीदेखि स्वर्गद्वारीसम्म अत्याधुनिक केवलकार सञ्चालन गर्ने, सगरमाथालगायत अन्य क्षेत्रमा मानवीय सुरक्षाका लागि केवलकार सञ्चालन गर्ने र काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट केवलकार चढेर बबरमहलमा ओर्लने व्यवस्था गर्ने गौतमले पुस्तकमा उल्लेख गरेका छन्।

भूकम्प प्रतिरोधक नभएका देशभरीका घर भत्काएर बाढी पहिरोबाट खतरामुक्त स्थानमा भूकम्प, चट्याङ र अग्निप्रतिरोधक संरचना बनाउने गौतमको परिकल्पना छ। हिमाल,पहाड र तराईका सबै बस्तीलाई राजमार्ग छेउमा अत्याधुनिक शहर बनाएर स्थानान्तरण गर्ने उल्लेख गरेका छन्।

राजधानी र वैकल्पिक राजधानी

काठमाडौं उपत्यकालाई राजधानी, चितवन र नवलपुर जिल्लालाई वैकल्पिक राजधानीको रुपमा विकास गर्ने गौतमको परिकल्पना छ। काठमाडौं उपत्यकामा गुरुयोजना निर्माणका लागि अधिकारसम्पन्न प्राधिकरण बनाउने र गुरुयोजना नबनेसम्म संरचना बनाउन नदिने र गुरुयोजना अनुसार मात्रै संरचना बनाउने उल्लेख गरेका छन्।

काठमाडौंलाई विद्युत, पिउने र धुने पानीको अभाव नहुने सुनिश्चित गर्ने, फोहर, धुलो, हिलो र सबै प्रदुषणबाट मुक्त गराउने उल्लेख गरेका छन्। काठमाडौं उपत्यकामा कम्तीमा ५० वटा ताल बनाउने, सुनकोशी र त्रिशुलीको पानी लिफ्ट गरेर काठमाडौं उपत्यकामा नदीहरुमा खसाल्ने गौतमको परिकल्पना छ। वाग्मती नदीको शिरदेखि चोभारसम्म ५० मिटर चौडाइमा पानी प्रवाह भइरहने बनाउने, वाग्मतीलगायतका नदीको किनारमा २५ वटा पार्क, २५ ठाउँमा बाँधबाँधेर ताल बनाउने पनि उल्लेख गरेका छन्।

काठमाडौंमा दैनिक १० लाख बाह्य र आन्तरिक पर्यटक रहन सक्ने गरी पूर्वाधार बनाउने र काठमाडौं वरपर हिमवर्षा गराउने पनि उनले उल्लेख गरेका छन्। 'राजधानीलाई स्वच्छ, सुन्दर, आकर्षक र पर्यावरणमैत्री बनाउन विकसित विज्ञान र प्रविधिलाई प्रयोग गरेर हरेक ४ महिनामा उपत्यका र वरपरका पहाडहरुमा हिमवर्षा (snow fall) गराइनेछ।' 

पुस्तकमा चितवनको नारायणी नदीमा प्रत्येक ५ किलोमिटरमा बाँध हालेर ताल निर्माण गर्ने र त्यस तालमाथि ४ लेनको पुल निर्माण गर्ने उल्लेख गरिएको छ।

काठमाडौं उपत्यकामा ५० हजार क्षताका ३ रंगशाला

काठमाडौं, भक्तपुर र ललितपुरमा ५० हजार सिट क्षमताका ३ वटा अन्तर्राष्ट्रिय रंगशाला बनाउने, प्रत्येक जिल्ला सदरमुकाममा २० हजार सिट क्षमताका फुटबल र क्रिकेट रंगशाला बनाउने गौतमले उल्लेख गरेका छन्। उनले मर्स्याङ्दी उपत्यकामा १ लाख सिट क्षमताको अन्तर्राष्ट्रिय स्तरको रंगशाला र आवासीय खेलकुद महाविद्यालय सञ्चालन गर्ने परिकल्पना गरेका छन्।

प्रत्येक प्रदेशमा १ लाख हेक्टर भूमिमा अत्याधुनिक कृषि फर्म सञ्चालन गर्ने, दुई वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर हुने, अर्को वर्षदेखि नेपालको जनसंख्या भन्दा दोब्बरलाई पुग्ने खाद्यान्न उत्पादन गरी निर्यात गर्ने उल्लेख गरेका छन्।

पशुपतिमा मृगस्थली, देवघाटमा स्वर्ग

पशुपतिनाथलाई पौराणिक मृगस्थलीका रुपमा विकास गर्ने गौतमको परिकल्पना छ। त्यसका लागि पशुपतिनाथ मन्दिरलाई केन्द्र मानेर ५ किलोमिटर क्षेत्रलाई पशुपति क्षेत्र कायम गर्ने, मन्दिर र छानामा सुनका प्लेट राखिने, गजुरमा बाक्लो सुनको प्लेट लेपन गर्ने, पशुपति क्षेत्रमा वाग्मतीमा ताल बनाउने पुस्तकमा उल्लेख गरिएको छ।

चितवनको देवघाटमा हिन्दु पुराणहरुमा उल्लेख गरिएजस्तै स्वर्ग निर्माण गर्ने वामदेवले कल्पना गरेका छन्। देवघाटको दियालो दरबार नजिक ५० मिटर अग्लो बाँध हालेर त्रिशुली र कालिगण्डकी नदीलाई ताल बनाउने, तालको नाम स्वर्ग सरोबर राख्ने उनले उल्लेख गरेका छन्। त्यहाँ स-साना पानीजहाज चलाउने र दिनकै २ लाख जनालाई विचरण गराउने उनको परिकल्पना छ।

कर्णाली नदीमा १० किलोमिटर लम्बाइ, ५ किलोमिटर चौडाइ र भू-सतहभन्दा १५ मिटर गहिरो र भू-सतहभन्दा २ मिटर उचाइ भएको ताल निर्माण गर्ने, तालको बीचमा ५० मिटर अग्लो चार दिशातिर फर्केका बुद्धको चार मूर्तिसहित भव्य बुद्ध विहार बनाउने र त्यसको नाम बुद्ध सरोबर राख्ने उनको योजना छ।

जोमसोमदेखि मुक्तिनाथसम्म केवलकार सञ्चालन गरी उपल्लो मुस्ताङको विमानस्थलबाट मुक्तिनाथसम्म ४ लेनको आकाशमार्ग sky over road निर्माण गर्ने गौतमले उल्लेख गरेका छन्।

औद्योगिक करिडोर

देशका अधिकांश उद्योगहरु इलामको चुलाचुलीदेखि डडेल्धुराको जोगबुढासम्मको औद्योगिक करिडोर वरपर स्थापना गर्ने,  यहाँ १०० वटा सिमेन्ट, १०० वटा फलाम कारखाना स्थापना गर्ने गौतमको परिकल्पना छ। नवलपुरमा विद्युतीय गाडी, विद्युतीय रेल, जेनेरेटर उत्पादन गर्ने उद्योग स्थापना गर्ने पनि पुस्तकमा उल्लेख गरिएको छ।

त्यस्तै कपिलवस्तु, रुपन्देही, परासी, अर्घाखाँची र पाल्पा जिल्लाका सबै भागलाई समेटेर अन्तर्राष्ट्रिय विशेष आर्थिक क्षेत्र बनाउने उनले लेखेका छन्। देशका सबै उद्योगहरु अत्याधुनिक स्वचालित मेसिनबाट चल्ने, कतिपयमा यन्त्रमानव राख्ने, उपत्यकाबाहिर राष्ट्रिय यन्त्रमानव निर्माण केन्द्र स्थापना गर्ने पनि गौतमको परिकल्पना छ।

औद्योगिक करिडोर क्षेत्रमा १ हजार इँट्टा उद्योग, २ हजार क्रसर उद्योग र २ हजार बालुवा प्रशोधन केन्द्र स्थापना गर्ने पुस्तकमा उल्लेख गरिएको छ। मुस्ताङको युरोनियम उत्खनन, प्रशोधन र उद्योग सञ्चालन गर्ने जिम्मा नेपाली सेनालाई दिने, दैलेखको पेट्रोलियम उत्खनन र प्रशोधन गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने गौतमले उल्लेख गरेका छन्।

५ वर्षभित्र नगदी आर्थिक कारोबार प्रतिस्थापित हुने गरी मुद्रारहित प्रणाली cashless economy online system सुरु गर्ने, भारत चीनलगायत सबै देशका नागरिकका लागि नेपाल प्रवेश गर्न अनुमति प्रणाली लागू गर्ने पनि गौतमले उल्लेख गरेका छन्।

गौतमबुद्ध भू-उपग्रह

महाअभियान सुरु भएको दुई वर्षमा गौतमबुद्ध नामको भूउपग्रह (स्याटेलाइट) प्रक्षेपण गरी व्यवसायिक रुपमा सञ्चालन गर्ने पनि उल्लेख गरेका छन्। त्यसैगरी देशभरी शक्तिशाली वाइफाइ नेटवर्कमार्फत नि:शुल्क इन्टरनेट दिने पनि गौतमले परिकल्पना गरेका छन्।

विदेशी फौजमा नेपाली नागरिकको भर्ना पूर्णरुपमा बन्द गर्ने, विदेशी सेनामा कार्यरत नेपालीलाई नेपाली सेनामा समायोजन हुन चाहेमा सोही दर्जामा समायोजन गर्ने पुस्तकमा उल्लेख गरिएको छ।

गौतमले संसारभरी रहेका हिन्दू विद्वानहरुको नेपालमा महासम्मेलन आयोजना गरी हिन्दूधर्ममा रहेको चार जात ३६ वर्णसम्बन्धी अवधारणा र मान्यतालाई वेद,उपनिषद् पुराण तथा अन्य धार्मिक ग्रन्थहरुमा संशोधन गरी हटाउन अनुरोध गर्ने उल्लेख गरेका छन्।

प्रतिव्यक्ति आम्दानी ५ हजार डलर

अहिले नेपालीको प्रतिव्यक्ति आम्दानी ७३२ अमेरिकी डलर छ। महाअभियान सञ्चालनपछि १० वर्षमा नेपालीको प्रतिव्यक्ति आम्दनी ५ हजार डलर पुग्ने वामदेवको अनुमान छ। देशको आर्थिक वृद्धिदर १२ प्रतिशतभन्दा बढीको हुनेछ। नेपालीको सरदर आयु ८० वर्ष पुग्नेछ भने साक्षरता प्रतिशत ९५ पुग्नेछ।

महाअभियानका लागि चाहिने स्थानीय निर्माण सामग्री र दक्ष, अर्धदक्ष र अदक्ष श्रमशक्ति ८० प्रतिशतभन्दा धेरै देशभित्रैबाट उपलब्ध हुनेछ र महाअभियानमा खर्च हुने ५ सय अर्ब डलरमध्ये २५० अर्ब डलर नेपालीकै हातमा पर्ने उनले दावी गरेका छन्। महाअभियान सञ्चालनका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति चाहिने उनले लेखेका छन्।

समृद्ध नेपालको सपना देख्ने धेरै होलान्। कसैले आफ्नै मनभित्र राखेका होलान्, कसैलले साथीहरुसम्मलाई सुनाएका होलान् यसरी पुस्तक नै लेखेर समृद्धिको सपना प्रस्तुत गर्ने नेताहरुमा सायद गौतम पहिलो व्यक्ति हुन्।

पुस्तकको भूमिकामा कम्युनिष्ट नेता मोदनाथ प्रश्रितले भनेका छन्  :

'धेरै मानिसको सोचमा वामदेव गौतम हकी झोँकी र जोसिलो नेताको बिम्ब बन्दै आएकामा यस कृतिको प्रस्तुतिले उहाँलाई निकै गम्भीर, अध्ययनशील, चिन्तनशील, देश र जनताको भविष्यबारे व्यवस्थित परिकल्पना र परियोजना प्रस्तुत गर्न सक्ने परिपक्व नेताको रुपमा प्रस्तुत गरेको छ।'

किताबको पहिलो खण्डमा नेपालको ऐतिहासिक सन्दर्भ उल्लेख गरेका छन्। जसमा केही विषयमा विवाद पनि भए। उनले नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको हत्या हुने गरी गराइएको दासढुंगा हत्याकाण्डमा नेपाली कांग्रेसलाई घुमाउरो पाराले दोष लगाएका छन्। वीरेन्द्रको वंशनाशलाई माओवादी जनयुद्धसँग जोडेका छन्, भने संघीयताले नेपालको विकास हुन नसक्ने उल्लेख गरेका छन्। सशस्त्र युद्धका कारण नेपाल धेरै वर्ष पछाडि धकेलिएको उल्लेख गरेका छन्। जनयुद्धबारे पुस्तकमा समेटिएका विषयबारे विमोचनको दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आपत्ति जनाएका थिए भने, दासढुंगा हत्याकाण्डमा कांग्रेसलाई जोडेकोमा रामचन्द्र पौडेलले आपत्ति जनाएका थिए।

पुस्तकको दोस्रो खण्डमा हाम्रो अवस्था र गन्तव्य, चौथो खण्डमा महाअभियानको व्यवस्थापन, पाँचौं खण्डमा राष्ट्रले अबलम्बन गर्नुपर्ने राजनीति र शासन प्रणाली तथा छैठौं खण्डमा महाअभियानपछिको नेपाल राष्ट्रबारे उल्लेख गरिएको छ।

प्रधानमन्त्री हुँदा केपी ओलीले हावाबाट विजुली, आफ्नै पेट्रोल, घरघरमा पाइपबाट ग्यास, आफ्नै पानीजहाज लगायतका योजना सुनाएका थिए। त्यतिबेला ओलीको आलोचना र समर्थन दुवै भएको थियो। यो पुस्तकमा वामदेव गौतमको योजना केपी ओलीका त्यतिबेलाका योजनालाई माथ गर्ने खालका छन्। नागरिकलाई आफ्नो मुलुक समृद्ध भएको सपना देख्न लगाउन यो पुस्तकले पक्कै प्रेरणा दिनेछ, कार्यान्वयन गर्ने वा नगर्ने भन्ने चाहिँ वामदेवजस्तै धेरै नेताहरुको चाहना, क्षमतामा भर पर्छ।

पुस्तकको नाम  : नेपाल नवनिर्माण महाअभियान

लेखक : वामदेव गौतम

प्रकाशक : बुकमार्ट पोखरा प्रा.लि.

मूल्य : ४०० रुपैयाँ

पृष्ठ संख्या : २६८

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.