'सुरुमै पहिचान भए क्यान्सर पूरै निको पार्न सकिन्छ'

|

काठमाडौ : राजेन्द्रप्रसाद बराल, एक वरिष्ठ चिकित्सक। स्वास्थ्य क्षेत्रको पचिरित र सम्मानित नाम। लामो समयदेखि उनी नेपालमा क्यान्सर रोगका विरामीको उपचारमा तल्लीन छन्। उनी क्यान्सरबाट मानिसलाई बच्न र बनाउने निकै सक्रिय छन्।

बराल भक्तपुर क्यान्सर अस्पतालका पूर्वनिर्देशक तथा क्यान्सर विशेषज्ञ हुन्। नेपाल अर्बुद रोग निवारण संघका केन्द्रीय उपाध्यक्षसमेत रहेका बरालले लामो समय वीर अस्पतालमा काम गरे। अहिले पनि चाबहिलस्थित ओम र बल्खुको वयोधा अस्पतालमा क्यान्सर रोगकै उपचार गरिरहेका छन्। २२ वर्षदेखि क्यान्सर रोगको उपचारको क्षेत्रमा सक्रिय रहेका बरालले हालसम्म धेरै क्यान्सरका बिरामीलाई मृत्युको मुखबाट बचाइ सकेका छन्।उनको कर्म क्यान्सरविरुद्धको लडाइँमा नै लागेको छ। नियति पनि उस्तै। उनले आफ्नो घर परिवारमा त्यति धेरै क्यान्सर पीडित भोगे कि एकै घरपरिवारमा यति धेरै संख्यामा यसका रोगी सायदैले झेलेका होलान्। 

अामाकै अन्तिम इच्छा पूरा गर्न बने क्यान्सरको डाक्टर

२०३९ सालमा उनकी आमाले आफू क्यान्सरले बित्नुअघि छोरो क्यान्सर रोगको डाक्टर बनोस् भन्ने अन्तिम इच्छा व्यक्त गरेकी रहिछन्। त्यही कारण क्यान्सरकै विशेषज्ञ चिकित्सक बनेका बराल आफ्नो अब्बल क्षमता देखाइरहेका छन्।

कुरा २०३९ सालको हो। बराल भारतमा कलेज पढ्दै गर्दा बेस्सरी बिरामी भए। जसले गर्दा उनी पढाइ बिचैमा छोडेर घर आउन बाध्य भए। आफैं बिरामी भएर पढाइ बिचैमा छोडेर आएका उनले आमा बिरामी भएपछि पढाइलाई निरन्तरता दिन सकेनन्। उनले भने- 'आमा बिरामी हुनु भो र पढाइ छोढेर आमाकै हेरचाहमा लाग्नु पर्यो।'

घरको जेठो सन्तान भएकाले पनि परिवारको आधा जिम्मेवारी उनकै काधमा थियो। जसले गर्दा रक्त क्यान्सरले लामो समयसम्म थलिएकी उनकी आमालाई उनैले स्याहार गर्नु पर्ने बाध्यता आयो। करिj चार बर्ष क्यान्सरले थलिएकी आमाको त्यही सालमा मृत्यु भयो। आमाले अन्तिम घडीमा 'बाबु क्यान्सरको ठूलो डाक्टर बन्नु' भनेर प्राण त्यागिन्। आमाले जीवनको अन्तिम क्षणमा आएर भनेको शब्दलेनै उनलाई  क्यान्सरको डाक्टर बन्ने प्रेरित बन्यो र क्यान्सरको डाक्टर बन्ने सपना बुनेर पुन पढाइलाई निरन्तरता दिए।

'हुन त मलाई सानैदेखि डाक्टरनै बन्छु भन्ने थियो, तर क्यान्सरकै डाक्टर बन्छु भन्ने थिएन। तर क्यान्सर पीडित आमाले जीवनको अन्तिम समयमा बाबु तिमी क्यान्सरकै डाक्टर बन्नु भन्ने शब्दले मलाई अन्य विशेषज्ञता तिर लाग्नै मन लागेन।' उनले भने।

क्यान्सरले थला परेकी आमालाई स्याहार गर्दा ५ बर्ष पढाइ छोडेका राजेन्द्र त्रिचन्द्र क्याम्पसमा पुन आइएस्सी पढ्न थाले। घरको जेठो सन्तान भएकाले आमाको मृत्युपछि घरको व्यवहार समाल्दै आइएस्सी पूरा गरेपछि भारतीय दूतावासको पूर्ण छात्रवृतिमा भारको इलाहवादमा एमबीबीएस अध्ययन पूरा गरे।

त्यसपछि उनले मुम्बईको टाटा मेडिकल कलेजबाट क्यान्सर सम्बन्धी विशेषज्ञता हासिल गरे। सन् १९९६ मा क्यान्सरको विशेषज्ञ भएर पहिलो दिन डा. बरालमा उत्साह र गम्भीरता एकसाथ आएको थियो। उत्साह यस अर्थमा कि उनले आमाको सपना पूरा गरे। तर त्यही क्षण उनलाई आमाको यादले पनि तानिरहेको थियो। 

उनले विगत सम्झिए- 'मलाई अहिले पनि याद छ। क्यान्सर रोग विशेषज्ञ भएर नेपाल आएपछि पहिलो बिरामी बुटवलबाट आउनु भएकी ६० वर्षीया फोक्सोको क्यान्सर भएको वृद्धा आमालाई हेरेको थिए। उहाँको उपचार गर्दा म निकै भावुक भए। साथै आमाको सपना पूरा गरेको अनुभव गरेको थिए।' 

परिवारमै ५५ जनालाई क्यान्सर

क्यान्सरकै कारण २०३९ सालमा आमाको मृत्यु भएपछि डा. बरालको परिवारमा हालसम्म ५५ जनालाई क्यान्सर भइसकेको छ। जसमा कतिलाई उपचार गरेर सन्चो भयो भने कतिको क्यान्सरकै कारण मृत्यु भइसकेको छ।

डा. बरालले भने- “आमाको क्यान्सरले मृत्यु पछि मेरो परिवारमा हाल बुबा, काका, काकी, दाजु, भाइ, दिदी, बहिनीसमेत गरी ५५ जनालाई क्यान्सर भइसकेको छ, अहिले भर्खरै तीन जना थपिनुभएको हो।'

क्यान्सर लाग्ने मुख्य तीन कारण हुन्छन्। बंशानुगत, जीवनशैलीगत र अन्य विविध कारण। उनले आफ्नो परिवारका सदस्यलाई भने बंशानुगत कारणलेनै क्यान्सर भएको बताए। 

उनले भने- '३९ सालयता मेरो परिवारमा ३५ देखि ८९ वर्षका मेरा आफन्तहरुलाई क्यान्सर देखिइसकेको छ। मलाइ लाग्छ, मेरो परिवारमानै क्यान्सरको जिन छ।' 

आफैं क्यान्सरको जोखिममा

५५ जना आफन्तलाई क्यान्सर लागेका डा. बरालको परिवारमा केही वर्ष अगाडि उनको बुवालाई पनि क्यान्सर देखिएको थियो। समयमै उपचार भएर बुवा क्यान्सरबाट मुक्त भइसकेका छन्। यसरी परिवारका अधिकांश सदस्यलाई क्यान्सर देखिएपछि डा. बराल आफू पनि उच्च जोखिममा रहेकोले बेलाबेलामा क्यान्सरको स्क्रिन टेस्ट गर्ने बताउँछन्।

 'क्यान्सर जुनसुकै बेला जसलाई पनि हुन सक्छ। तर मेरो हकमा भने बिडम्बनानै हो। बशांनुगत कारणले गर्दा धेरै आफन्तलाई क्यान्सर भइसकेको छ। मलाई पनि जुनसुकै बेला हुने सम्भावना छ। जसले गर्दा म बेलाबेलामा चेक पनि गर्छु।'

डा‍. बरालले आफ्नो परिवारका अधिकांश क्यान्सर पीडितको उपचार आफैंले गर्ने गरेका छन्। 'म आफैं क्यान्सरको डाक्टर भएकाले मेरो परिवारको अधिकाशं सदस्यको म आफैं उपचार गरेको छु।'

सानोतिनो रोगमा समेत विदेशमा गएर उपचार भइरहेकोमा डा. बरालले भने आफन्तको उपचार स्वदेशमै गराएका छन्। उनी भन्छन्- 'संसारमा पाइने क्यान्सर उपचारको प्राय प्रविधि हाम्रै देशमा उपलब्ध भइसकेको छ। त्यसैले मैले आफन्तलाई अन्य देशमा लगेर उपचार गराइन, आफन्तले पनि तैँ क्यान्सरको डाक्टर भएपछि अन्त किन जानु भन्नुहुन्छ।' 

बिरामीलाई सम्झाउन आफ्नै कथाको सहारा

क्यान्सर समयमै पहिचान भए पूर्ण निको हुन्छ। तर अहिले पनि क्यान्सर भन्ने बित्तिकै धेरै जना डराउने अवस्था छ।  कतिपय बिरामीलाई तपाईंलाई क्यान्सरको लक्षण देखिएको भन्ने बित्तिकै अत्तालिने गरेको उनको अनुभव छ। तर त्यस्ता विरामी र उनीहरुका आफन्तलाई डा. बराल आफ्नै परिवारको कथा सुनाएर सम्झाउँछन्।

उनी भन्छन्- 'हाम्रोमा आउने ८० प्रतिशत क्यान्सरका बिरामी र तिनका आफन्तहरु अझै पनि क्यान्सर भन्ने बित्तिकै हडबडाउने अवस्था छ। समयमानै पत्ता लगाउन सके क्यान्सर पूरै निको हुन्छ भन्ने चेत सबैमा छैन।'

अझै पनि धेरै जना क्यान्सरको अन्तिम चरणमा अस्पताल आउने अवस्था छ। तर, समयमानै उपचार गर्न सके क्यान्सर पूर्ण निको हुन्छ। यस्तै अनुभव। उनीमा पनि छ

क्यान्सरलाई समयमै पहिचना गर्न सके यो ठूलो समस्या होइन। उनले भने- 'मेरो परिवारका केही सदस्यको क्यान्सर पहिलो स्टेजमानै पत्ता लगाएर उपचार गर्दा अहिले सबैजना आरामदायी जीवन बिताइरहनु भएको छ।'

केही वर्षअघि पोखराबाट उपचारमा आएका एक वृद्धले क्यान्सर लागेको थाहा पाएर उपचार नै नगरी घर जाने निधो गरेको अनुभव उनी सम्झन्छन्। कारण के रहेछ भने ती वृद्ध र उनको परिवारमा अब यो उपचार गरेर पार लाग्दैन भन्ने रहेछ। डा. बरालले भने- तर रक्त क्यान्सरका ती विरामीलाई हामीले सम्झायौं। उपचार गर्यौ। पूरै ठीकठाक हुनुभयो। अहिले पनि फलोअपमा आइरहनुहुन्छ।'

बद्लिदो जीवनशैली र खानपानले क्यानसरको जोखिम बढ्दो छ। व्यायाम नगर्ने र धुम्रपान-मद्यपानले यसको जोखिम बढाएको हो। खानपान र जीवन शैलीमा सुधार गरे क्यान्सरको जोखिममा ८० प्रतिशतले कमी आउनेछ। डा. बराल भन्छन्- घर परिवारमा क्यान्सरका विरामी भएकाहरुले भने विशेष सचेतना अपनाउन पनि जरुरी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.