|
fewatimes.com

काठमाडौं : शव परीक्षण गर्न अब्बल मानिएका डाक्टर हुन् हरिहर वस्ती। त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागका प्रमुख रहिसकेका उनले १७ हजार भन्दा बढी शव परीक्षण गरिसकेका छन्।

गाडी दुर्घटनामा चितवनको दासढुंगामा मारिएका एमालेका तत्कालीन महासचिव मदन भण्डारी,  माओवादीबाट मारिएका दैलेखका पत्रकार डेकेन्द्रराज थापा र सेनाबाट बलात्कारपछि मारिएकी मैना सुनुवारको शव परीक्षण उनलाई विशेष सम्झना छ।

खासमा शव परीक्षण डा. वस्तीको रहरको विधा होइन। उनी परिस्थितिबाट यहाँ आइपुगेको बताउँछन्। डा. वस्तीले दिनमा ३५ वटासम्म शवको परीक्षण गरेका छन्। 'शव  परीक्षणको काम पछि गरुँला भनेर हुँदैन मृतकका आफन्तहरु कुरिरहेका हुन्छन्' उनी भन्छन् 'खाना खान छाडेर दिन रात नभनी परीक्षण पनि गरिएको छ।'

के हो फरेन्सिक?

नेपालमा फरेन्सिक सेवा भन्नाले मरेका मानिसको शवको चिरफार मात्र हो भन्ने बुझाई छ। धेरैले जिउँदा मानिसको पनि फरेन्सिक परीक्षण गरिन्छ भन्ने नबुझेको डा. वस्तीको अनुभव छ। 'नेपालमा फरेन्सिक सेवा भनेको मरेका मानिसको लास चिर्ने मात्र हो भन्ने आम बुझाई छ' उनी भन्छन् 'जनताले जिउँदा मानिसले पनि फरेन्सिक सेवा पाउँछन् भन्ने बुझेका छैनन्।' 

फरेन्सिक भनेकै शवको पोस्टमार्टम भन्ने पनि बुझाई छ। खासमा पोस्टमार्टम त फरेन्सिकको एउटा अंश मात्र हो। जिउँदा मानिसको पनि फरेन्सिक परीक्षण गरिन्छ भन्ने बुझाउन नसक्दा फरेन्सिक सेवा कामचलाउ हैसियतमा मात्र रहेको डा. वस्ती बताउँछन्।

उनका अनुसार फरेन्सिक भनेको कानुनलाई चाहिने मेडिकल रिपोर्ट हो। हत्या, दुर्घटना, बलात्कारका घटनाको सत्य तथ्य पहिचानका लागि फरेन्सिक रिपोर्ट आवश्यक पर्छ। 'पोस्टमार्टम त फरेन्सिक विधाको एक भाग मात्र हो, यसको सबैभन्दा  महत्पूर्ण काम भनेको हत्या, बलात्कार, दुर्घटनाको बेलामा  घटनाको छानबिन गर्न सहयोग पुग्ने मेडिकल रिपोर्ट बनाउनु हो' डा. वस्तीले भने।

फरेन्सिकमा २४ वर्षको अनुभव संगालेका डा. वस्ती नेपालमा यो विधा हेपिएको बताउँछन्। त्यसैले नेपालीले यस विधाबाट  पाउने पर्याप्त सुविधा लिन सकेका छैनन्। सरकारले फरेन्सिक पनि स्वास्थ्य सेवाको महत्वपूर्ण विधा हो भन्ने बुझाउन नसक्दा नेपालीहरु वैज्ञानिक फरेन्सिक सेवा पाउनबाट वञ्चित रहेको डा. वस्तीको भनाई छ।

नेपालमा दिनहुँ धेरै शवको पोस्टमार्टम गर्ने भएपनि अहिलेसम्म शव एक्सरे  मेसिन एउटा पनि छैन। जसले गर्दा कतिपय विवादित शवको परीक्षण गर्न अप्ठेरो भएको डा. वस्तीको अनुभव छ। सरकारको प्राथमिकतामा नपरे पनि नेपालमा ४० भन्दा बढी फरेन्सिक विशेषज्ञ उत्पादन भइसकेका छन्। तर सरकारले आवश्यक पूर्वाधार जुटाउन नसक्दा उनीहरुले राम्ररी काम गर्न समेत नपाएको वस्ती बताउँछन्।

दुर्घटना, हत्या, बलात्कार लगायतका घटनाका शवहरुको परीक्षण धेरैजसो काठमाडौंको शिक्षण अस्पतालमा गरिन्छ। त्यहाँ परीक्षणका लागि पूर्वाधार नहुँदा कतिपय गम्भीर खालका शवहरु परीक्षण पनि अनुभवकै आधारमा गर्नुपर्ने डा. वस्तीको भनाई छ। 'अहिलेसम्म देशमा शवको एक्सरे गर्न चाहिने एउटा पनि मेसिन छैन, यसले गम्भीर खालका शवहरुको पोस्टमार्टम गर्न अप्ठ्यारो भएको छ। पूर्वाधार नहुँदा कतिपय शवहरुको परीक्षण हचुवाको भरमा गर्नुपर्ने वाध्यता छ' उनले भने।  

डा. वस्तीको अनुसार विमान दुर्घटनाका क्रममा भेटिएका शव परीक्षण गर्न निकै कठिन हुन्छ। धेरैजसो शवहरु जलेको भेटिने हुनाले शव पहिचान गर्न समस्या हुन्छ। यस्ता शवहरुलाई एकदम गम्भीर र शुक्ष्म तरिकाले परीक्षण गर्नुपर्ने हुन्छ। यसका लागि समय पनि धेरै लाग्छ। तर पर्खिने समय हुँदैन।

२५ वर्षको अनुभवमा उनले बेवारिसे रुपमा सडकमा भेटिएका शवदेखि देशका चर्चिक व्यक्तिसम्मको शव परीक्षण गरेका छन्। '२५ वर्षको अनुभवमा सडकमा वेवारिसे शवदेखि नाम चलेका व्यक्तिहरुको शव परीक्षण गरियो तर मैना सुनुवार, डेकेन्द्र थापाको शव परीक्षणको क्षण भने सबैभन्दा संवेदनशील र अविस्मरणीय रह्यो। जसमा हामीले अनुसन्धानमा धेरै समय र मिहिनेत लगायौं" डा. वस्ती स्मरण गर्छन्।

उनी कुनै शव परीक्षण गर्दा मानिसको ओहोदा हेरेर नगरेको बताउँछन्। मानिसको पद, सम्पति र ओहोदा जिउँदो हुँदा मात्र रहने र मरेपछि सबै शवहरुको हैसियत समान हुने उनको भनाई छ।

डाक्टरसँगै अधिवक्ता

कतै हत्या, बलात्कार, दुर्घटना भएको थाहा पाएपछि डा. वस्ती टोली लिएर घटनास्थल पुगिहाल्छन्। समय लगाएर उक्त घटनाको बारेमा अनुसन्धान गर्छन्। यस्ता कतिपय घटना अदालतमा मुद्दा चल्ने खालका पनि हुन्छन्।

शव परीक्षण गर्ने डाक्टरका रुपमा अदालतले उनीसँग पनि सोधपुछ गर्ने हुनाले अदालत गइरहनुपर्ने हुन्छ। अदालतमा गएर आफूले दिने बयान प्रष्ट रुपमा राख्न र केही ऐन कानुनबारे जानकारी लिन उनले कानुनमा स्नातक पनि गरे। 'आफूले अँगालेको पेशा मुख्यत दिमागी  जाँच भएकाले यसमा सत्य तथ्य र तर्कको आधारमा निचोड निकाल्नुपर्ने हुन्छ। त्यसैका लागि मैले अध्ययन गरेको कानुन विषयले सत्य तथ्य बाहिर ल्याउन सहयोग गर्छ' उनले भने।

कहिलेकाहीँ शवको विषयमा हुने ठूलो झगडा र आन्दोलन भएको बेलामा आफूले पढेको कानुनले उनलाइ धेरै सहयोग गर्ने उनको भनाई छ। यस्तो बेलामा सम्बन्धित पक्षलाई यो कुन प्रकृतिको घटना हो र त्यसको कानुनी अवस्था र प्रक्रिया बताउन प्रहरीलाई अनुसन्धानमा सुझाव दिन पनि यसले सहयोग गरेको डा. वस्ती बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.