|

काठमाडौं : प्रदेश २ को मन्त्रिपरिषद् सदस्यमा ककसलाई पठाउने भन्ने विषयलाई लिएर राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा विवाद भएको छ।

राजपा नेपालको अध्यक्षमण्डलको सोमबार बिहान ११ बजेदेखि १२ घण्टासम्म र मंगलबार दिउँसो बसेको बैठकमा प्रदेश मन्त्रिपरिषद्‍मा कस्ता सांसदलाई पठाउने भनेर मापदण्ड तयार गर्ने विषयमा नै सहमति जुट्न नसकेको हो। शंखमूलस्थित एक निजी घरमा भएको बैठकमा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र सदस्य महेन्द्र राय यादवले मन्त्रिपरिषद्‍मा प्रत्यक्ष निर्वाचित सांसदलाई अवसर दिनुपर्ने प्रस्ताव अघि सारेका छन्।

ठाकुर र रायको प्रस्तावप्रति राजकिशोर यादव र अनिलकुमार झाले आपत्ति जनाएपछि बैठक निष्कर्षमा पुग्न सकेको छैन। समानुपातिक प्रणालीबाट सांसद भएकालाई पार्टीले अवसर दिइसकेकाले प्रत्यक्षबाट निर्वाचितलाई अवसर दिनुपर्ने ठाकुर र रायको प्रस्तावलाई यादव र झाले अश्वीकार गरेका हुन्। अध्यक्षद्वय राजेन्द्र महतो र शरतसिंह भण्डारी भने मौन बसेका थिए। 

पार्टी एकता हुनुअघि फोरम गणतान्त्रिकको नेतृत्व गरेका यादव र नेपाल सद्भावना पार्टीको नेतृत्व गरेका झा निकटका कसैले पनि प्रत्यक्षमा जित्न नसकेपछि समानुपातिकलाई पनि अवसर दिनुपर्ने अडान उनीहरूले राखेको एक नेताले बताए। प्रदेश २ मा मन्त्रिपरिषद्‍मा ककसलाई पठाउने भन्ने विषयमा अध्यक्षमण्डलको सोमबार र मंगलबार पनि औपचारिक बैठक बसेको अध्यक्ष राजकिशोर यादवले बताए।

अध्यक्ष यादवले भने, ‘सम्भव भए मंगलबार अबेरसम्म र सम्भव नभए बुधबारसम्ममा मन्त्रिपरिषद्‍मा सहभागी हुनेको नाम छनोट गरिनेछ।’ गत वर्ष बैशाखमा ६ पार्टी एकीकरण भएर गठित राजापा नेपालका ६ जना अध्यक्षले एक/एक जनालाई अवसर दिन चाहन्छन् तर प्रदेश २ मा राजपालाई फोरमसँग मिलेर सरकार बनाउँदा ४ जनालाई मात्र तत्काल अवसर दिन सक्ने देखिन्छ। 

पद र अवसरका आकांक्षीलाई व्यवस्थापन गर्न शीर्ष नेतालाई हम्मेहम्मे परेको एक नेताले बताए। अध्यक्षमण्डलको सहमतिअनुसार राजापाले अध्यक्ष महतो निकटका सरोज यादवलाई सभामुख दिने सहमतिबमोजिम उनले उम्मेदवारी दिइसकेका छन्। यस प्रदेशमा राजपाले ३ वटा भौतिक पूर्वाधार, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पाउने सहमति भइसकेको छ। 

३ मन्त्रीमा अध्यक्ष ठाकुर, राय र भण्डारी आफू निकटका एक/एक जना निर्वाचितलाई मन्त्री बनाउन चाहन्छन् तर अध्यक्ष यादव र झा आफू निकटकालाई मन्त्री बनाउन समानुपातिक र प्रत्यक्ष जुन प्रणालीबाट भए पनि सांसद बनेकामध्येबाट वरिष्ठलाई सरकारमा पठाउन चाहन्छन्।

प्रदेश २ मा पार्टीको उपाध्यक्ष रहेकी डा. डिम्पल झा र रामनरेश राय मन्त्री बन्ने पक्का हुन्छ। अध्यक्ष झा भने श्रीमती डा. डिम्पललाई मन्त्री बनाउन चाहन्छन् भने अर्का अध्यक्ष राय भने रामनरेशलाई नबनाई रानी शर्मालाई मन्त्री बनाउन चाहन्छन्। त्यसैले राय निर्वाचितलाई सरकारमा पठाउनुपर्ने अडानमा छन्। रानी शर्मा प्रत्यक्षबाट निर्वाचित हुन् भने रामनरेश समानुपातिकबाट प्रदेश सांसद भएका हुन्। 

अध्यक्ष महतो निकटका पार्टी महामन्त्री मनीषकुमार सुमन पनि प्रदेश मन्त्रिपरिषद्‍मा नअटाउने पक्का छ किनकि महतोले आफू निकट सरोज यादवलाई सभामुखका लागि अघि सारिसकेका छन्।

‘क्षमता र योग्यताको आधारमा समानुपातिक वा प्रत्यक्ष निर्वाचित, जसलाई पनि पठाउन सकिन्छ’, अध्यक्ष रायले भने, ‘यसका लागि सहमतिबाटै हामी निर्णय गर्छौं।’ अध्यक्षमण्डलबीच नै प्रदेश मन्त्रिपरिषद्‍मा ककसलाई पठाउने भनेर सहमति हुन नसकेपछि बिहीबार मुख्यमन्त्रीले शपथ लिने कार्यक्रम भए पनि राजपाको तर्फबाट भने कोही पनि सरकारमा सहभागी नहुने सम्भावना बढेको छ। 

फोरमले आफ्नो दलको तर्फबाट मुख्यमन्त्री हुने लालबाबु राउतलाई शपथ ग्रहण गराएकै दिन राजपाबाट पनि प्रदेश मन्त्रिपरिषद् सदस्यमा ३ जना सहभागी होऊन् भन्ने चाहेको राजपा नेपालका एक अध्यक्षले बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.