|

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता कार्य बिहीबार टुंग्याउने नेताहरूले बताएका छन्। वाम गठबन्धनका दुई शीर्ष नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विभिन्न चरणमा छलफल पश्चात् बुधबार पार्टी एकता संयोजन समितिमा निष्कर्ष प्रस्तुत गरेका छन्।

ललितपुरको मानभवनमा बसेको समितिको बैठकले संयुक्त नेतृत्व रहने गरी सहमति गरेको छ। सरकार गठनका सन्दर्भमा ओली-प्रचण्ड आलोपालो प्रधानमन्त्री हुनेछन् भने पार्टी दुई अध्यक्षात्मक हुनेछ। बैठकको अध्यक्षता पनि दुई अध्यक्षात्मक हुने मोडालिटी तय गरिएको छ।

समितिको बैठकले एकीकृत पार्टीको मूल नेतृत्व र तत्कालीन सैद्धान्तिक–वैचारिक कार्यदिशामा पनि सहमति गरेको छ। बहुदलीय प्रतिस्पर्धाको शान्तिपूर्ण बाटोबाट सामाजिक–आर्थिक रूपान्तरण गर्दै समाजवादको आधार खडा गर्ने मूल कार्यदिशामा सहमति भएअनुसार लिपिबद्ध गर्ने प्रक्रिया संयोजन समितिका सदस्य तथा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए।

छलफल सकारात्मक भएको र केही कुरा टुंग्याउन अझै थोरै छलफल गर्न बाँकी रहेकाले बिहीबार पुनः बैठक बस्ने नेता श्रेष्ठ बताउँछन्। पार्टी एकताका निम्ति वैचारिक राजनीतिक प्रश्न नै मुख्य आधार भएकाले त्यसबारे छलफल भइरहेको उनी बताउँछन्।

'बहुदलीय प्रतिस्पर्धाबाट शान्तिपूर्ण बाटोबाट सरकार निर्माण गरेर सामाजिक, आर्थिक रूपान्तरण गर्ने, सामाजवादको आधार खडा गर्नेबारेमा हामी एकमत नै छौँ-नेता श्रेष्ठ भन्छन्, संगठनात्मक नेतृत्व र संरचनबारे हामी सहमतिनजिक पुगेका छौँ। यो समग्र कुरालाई अन्तिम रूप दिनका निम्ति आजकै छलफललाई निरन्तरता दिन आज(बिहीबार) बैठक बस्दै छौँ।'

मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्दै जबज र एक्काइसौं शताब्दीको जनवादका समानता पहिल्याएर नमिलेका विषयलाई महाधिवेशनबाट टुंगो लगाउने दुई दलबीच समझदारी भइसकेको छ।

पार्टीको संगठनात्मक व्यवस्थापनका निम्ति एउटा कार्यदल र विचार र सिद्धान्तका सन्दर्भमा पनि संयोजन गर्नेगरी अर्को कार्यदल बनाउने समितिको सहमति भएको छ। तर, उक्त कार्यदलमा को-को रहने भन्नेबारे भने बिहीबारको बैठकले तय गर्ने एमाले नेता बामदेव गौतम बताउँछन्।

पार्टी एकताका सम्बन्धमा सबै कुरा सकिएको र ५ प्रतिशत जति बाँकी काम बिहीबार टुङ्ग्याइने उनले बताए। 'पार्टी एकताका सम्बन्धमा लगभग ९५ प्रतिशत कुरा मिलेको छ। ५ प्रतिशत आज सम्पन्न गर्छौं-नेता गौतमले भने, त्यसको विषयमा बिहीबार काम सकाएर सबै निर्णय सार्वजनिक गर्छौं।'

सरकार गठन आजै

निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचन परिणामबारे निर्णयसहितको प्रतिवेदन बुधबार राष्ट्रपतिलाई बुझाइसकेको छ। यस अवस्थामा तत्काल सरकार गठन गर्ने बाटो खुलेको छ। त्यसकारण सरकार गठनको प्रक्रिया अगाडि बढाइने माओवादी नेता श्रेष्ठ बताउँछन्। एमाले नेता गौतम पनि अब सरकार गठनको प्रक्रियामा अगाडि बढ्ने बताउँछन्। यसअघि, संयोजन समितिले पार्टी एकता र सरकार गठनबारे गृहकार्य गरेर एजेन्डा प्रस्तुत गर्न दुई अध्यक्षलाई अनुरोध गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.