|
फोटोः सांसद मोहन टुडुका साथमा बोनोदल चलचित्रका निर्देशक र नायिका

  • लक्ष्मी काफ्ले-

बिर्तामोड : चारपानेदेखि १ किलोमिटर दक्षिणमा रहेको सन्थाल बस्तीमा शनिबार बेग्लै माहोल थियो। सन्थाल समुदायको बाक्लो बसोबास रहेको कल्टु गाउँमा आयोजित एक कार्यक्रममा झापा, मोरङलगायतका ठाउँबाट पनि सन्थाल समुदायका धेरै मानिस आएका थिए।  

त्यतिकैमा फुत्त निस्किए सांसद मोहन टुडु। उनी सन्थाल समुदायबाट सांसद हुने पहिलो व्यक्ति हुन्। सन्थाल समुदायको माझमा आएर सांसद टुडुले प्रश्न गरे, ‘अब पनि हामी परिवर्तन हुने कि नहुने त?’ 

खासमा उनी एउटा चलचित्रमा अभिनय गर्न उपस्थित भएका हुन्। सांसद टुडुले नेपालमै पहिलो पटक बन्दै गरेको सन्थाल भाषाको चलचित्र 'बोनोदल'मा अभिनय गरेका छन्। शनिबार यस चलचित्रको छायाङ्कन सकिएको छ।

‘यो लास्ट सिन हो, आजदेखि बोनोदलको सुटिङ सकियो,’ निर्देशक किरण खतिवडाले भने, ‘मोहन सरको विशेष भूमिका छ चलचित्रमा।’ दशैंमा चलचित्र रिलिज गर्ने तयारीमा जुटेका छन्, किरण। सन्थाल समुदायमा परिवर्तन ल्याउनकै लागि चलचित्र बनाएको निर्देशक खतिवडा बताउँछन्। 'बोनोदल'को नेपाली अर्थ ‘परिवर्तन’ हो। यस चलचित्रका मुख्य दर्शक नै सन्थाल समुदायका नागरिक हुन्।

सन्थाल समुदायको भाषामा चलचित्र बन्नु निर्देशक खतिवडाकै देन भएको सांसद टुडु बताउँछन्। पछिल्लो समय नेपालबाट सन्थालहरु पलायन भइरहेको अवस्थामा यस चलचित्रले राम्रो शिक्षा दिने टुडुले बताए। सिंहदरबारमा पनि चलचित्र देखाउन आफूले सक्दो कोशिस गर्ने उनले बताए।

चलचित्रमा ५ वटा गीत छन्। ९ वर्ष सन्थाल समुदायको अध्ययन गरिसकेपछि निर्देशक किरण खतिवडाले चलचित्र बनाएका हुन्। विश्वप्रसिद्ध ओस्कार अवार्डसम्म चलचित्र पुगोस् भन्ने चाहना छ उनको। चलचित्रमा नायकको भूमिकामा सुनिल हस्दा र नायिकाको भूमिकामा कविता बास्के रहेका छन्।  

चलचित्रमा देवान टुडु, राजन बास्के, निस्सपेक्टर मुर्मु, सरिता सोरेन, मिना टुडु, बलराम हेमरम लगायतको पनि अभिनय छ। सन्थाल समुदायबाहेक दीपेन्द्र कार्की, राजु राई र निर्देशक स्वयम्ले पनि अभिनय गरेका छन्, चलचित्रमा। चलचित्रकी निमात्री जिया मरहठ्ठाका अनुसार जोना किस्कु र सरु टुडुले चलचित्रको गीत गाएका छन्। चारपानेको इन्स्पायर मिडिया प्रोडक्सन हाउस प्रालिले निर्माण गरिरहेको चलचित्र 'बोनोदल'का सहनिर्देशक आकाश कडुवाल हुन्।

शनिबार आयोजित कार्यक्रममा सन्थाल नृत्य, गायनलगायत विभिन्न प्रतिभा देखाइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.