|

  • धर्मराज जीसी-

सुर्खेत : प्रदेश ६ को मन्त्रीमण्डलमा मन्त्रीहरू विभिन्न धरातलबाट आएका छन्। कोहीले सामान्य परिवारबाट राजनीतिक यात्रा गरेका छन् भने कोहीले विद्यार्थीकालदेखि नै आफ्नो राजनीतिक यात्रा तय गरेका छन्। माओवादी केन्द्रबाट हुने मन्त्रीहरू जनयुद्धको पृष्ठभूमिबाट आएका छन्। उसो त मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पनि जनयुद्धसहितको लामो संघर्षको पृष्ठभूमि छ। 

शिक्षकको जागिर छाडेर मन्त्री : प्रकाश ज्वाला
पंचायतविरोधी संघर्षमा सहभागी भएको आरोपमा ३ वर्ष जेल जीवन विताएका प्रकाश ज्वाला प्रदेश ६ को पहिलो आर्थिक मामिला तथा योजनामन्त्री बनेका छन्। 
२०२३ सालमा जन्मिएका मन्त्री ज्वाला वनगाड कुपिण्डे गाँउपालिका (साविकको देवस्थल गाविस– ६) सल्यानका स्थायी बासिन्दा हुन्। विद्यार्थी राजनीति गर्दा आफ्नो नामको पछाडि ज्वाला थपेका मन्त्री ज्वालाको नाम प्रकाशबहादुर बुढाथोकी हो। 

कानुनमा स्नातक र शिक्षा संकायमा स्नातकोत्तरसम्मको शैक्षिक योग्यता हासिल गरेका ज्वालाले विद्यार्थी हुँदा नै आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए।

प्रदेश ६ का अर्थमन्त्री रहेका ज्वाला २०५१ को आम निर्वाचनमा नेकपा एमालेको तर्फबाट सल्यान क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका थिए। २०५६ को आम निर्वाचनमा नेकपा एमालेका तर्फबाट सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचितसमेत भए उनी।

अनेरास्ववियुको प्रारम्भिक कमिटीदेखि केन्द्रीय कमिटीसम्मको जिम्मेवारी लिएर लामो समय विद्यार्थी राजनीतिमा सक्रिय ज्वालाले नेकपा एमाले सल्यान जिल्ला कमिटीको सचिव भएर एक दशकसम्म काम गरे। 

शान्ति प्रक्रियापछि अन्तरिम व्यवस्थापिका संसदको सदस्य भई प्रभावकारी भूमिका निभाएका मन्त्री ज्वाला प्रतिनिधिसभा राज्य व्यवस्था तथा प्राकृतिक स्रोत साधन समितिको सभापति भएर तत्कालीन राजा र दरबारको जग्गा जमिनलगायत सम्पत्ति छानविनमा महत्त्वपूर्ण कामको थालनी गरेका थिए। 

ज्वाला हाल नेकपा एमाले पोलिटव्युरो सदस्य तथा नेकपा एमालेका तर्फबाट प्रदेश ६ को पहिलो अर्थमन्त्री बन्न सफल भएका छन्। 

विद्यार्थी राजनीतीबाट मन्त्रीसम्म : नरेश भण्डारी
माओवादीभित्र बुद्धिजीवी नेताको छवि बनाएका नरेश भण्डारी जुम्ला प्रदेशसभा ‘क’बाट विजयी प्रदेश सांसद हुन्। उनले अहिले प्रदेश ६ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारी पाएका छन्। भण्डारीको जन्म जुम्लाको देवालगाउँ ८ कुम्डीमा २०३५ असार १ गते निम्नमध्यम वर्गीय परिवारमा भएको थियो।

वाणिज्यशास्त्रमा स्नातक तहसम्मको अध्ययन गरेका भण्डारीले माओवादी केन्द्रको बुद्धिजीवी संगठनको केन्द्रीय सचिव हुँदै अध्यक्षको पनि अनुभव सँगालिसकेका छन्। भण्डारी पहिलो संविधानसभामा जुम्लाबाट प्रत्यक्षतर्फ निर्वाचित पनि भएका थिए। स्पष्ट वक्ताका रूपमा पनि चिनिने भण्डारी अध्ययनशील नेता मानिन्छन्।

२०५१ सालदेखि विद्यार्थी राजनीतिबाट राजनीतिमा पाइला चालेका भण्डारी २०५६ सालदेखि भूमिगत भएका थिए। २०६० सालमा माओवादी जिल्ला समितिको सदस्य हुँदै २०६३ सालमा जुम्ला जिल्लाको माओवादी पार्टी इन्चार्ज भएका थिए उनी।

काशीकला भण्डारी र हरिबहादुर भण्डारीका छोरा नरेश अध्ययनका क्रममा काठमाडौँ बस्दा गलैँचा, हिङ, सिलाजीत बेच्दै हिँड्ने जुम्लीलाई आफ्ना सहपाठीसमेतले हेपेको देखिपछि राजनीतिक चेतनाविना परिवर्तन गर्न सकिँदैन भन्ने लागेर माओवादी संघर्षमा होमिएको बताउँछन्। उनी माओवादी केन्द्रका हाल पोलिटव्युरो सदस्य पनि हुन्।

जनसरकारको मन्त्री हुँदै प्रदेश सरकारको मन्त्रीसम्म : विमला केसी
माओवादी जनयुद्धमा आन्दोलनबाटै घोषणा गरेको मगरात स्वायत्त जनसरकारकी समाज कल्याणमन्त्री रुकुम (पश्चिम) की विमला केसी संघीय गणतन्त्रात्मक नेपालको प्रदेश ६ को पहिलो भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बनेकी छन्।

२०३५ मंसिरमा रुकुम (पश्चिम) को सानीभेरी गाउँपालिका– ९ सिम्लीमा जन्मिएकी मन्त्री केसी सानैदेखि विद्रोही स्वभावकी थिइन्। समाजमा हुने गरेको अन्याय, लैंगिक असमानता, सामाजिक विभेद र महिला हिंसालाई देखेर विद्रोहको भावना पैदा हुने गरेको बताउँछिन् उनी। 

समाजमा भएको असमानतालाई प्रत्यक्ष देखे भोगेकी मन्त्री केसीले असमानता किन हुन्छ भन्ने कुराले राजनीतिमा लाग्ने प्रेरणा मिलेको बताइन्। २०४६ सालमा रुकुमको सिम्लीमा रहेको राप्ती ज्ञानोदय माविमा कक्षा ६ मा पढ्दा ११ वर्षको उमेरदेखि तत्कालीन मशालको विद्यार्थी संगठनको सदस्यता लिएर राजनीति सुरु गरेकी थिइन्। 

सानैमा बुबाको मृत्यु भएकाले मन्त्री केसीलाई विद्यालय शिक्षा हासिल गर्न निकै समस्या भयो। केसी बुबाको मृत्युपछि आमाले भोगेको पीडाबाट राजनीतिमा लाग्ने र समाजमा रहेका विकृतिको अन्त्यका लागि लड्ने थप हौसला मिलेको बताउँछिन्। 

माओवादी युद्धमा रुकुमको पार्टीको महिला, विद्यार्थी तथा कलाकार संगठनको एकै पटक प्रमुख बनिन् उनी। २०५२ सालमा माओवादी सुरक्षा दलको सदस्य भएकी केसी २०५९ मा क्षेत्रीय ब्युरो सदस्य तथा महिला संगठनको केन्द्रीय सदस्य भइन्। युद्धकै क्रममा २०५४ सालमा वसन्त शर्मासँग जनवादी विवाह गरेकी शर्मा २०५६ सालमा रुकुमको छिवाङ गाउँ जनसरकारको प्रमुख भइन्। केसी तत्कालीन मगरात स्वायत्त प्रदेशको समाज कल्याणमन्त्रीको रूपमा रोल्पा, रुकुमका जंगलमा मन्त्रालय सञ्चालन गर्दै हिँडिन्। 

२०६४ सालमा पनि संविधानसभा सदस्य रहेकी मन्त्री केसी हाल माओवादी केन्द्रको पोलिटव्युरो सदस्य हुन्।

गैससदेखि मन्त्रीसम्म : दलबहादुर रावल
प्रदेश ६ को हुम्ला ‘क’बाट प्रदेशसभा सदस्य निर्वाचित दलबहादुर रावल प्रदेशको सामाजिक विकासमन्त्री भएका छन्।

हुम्लाको सर्केगाड गाउँपालिका– ४ निवासी मन्त्री रावल सामाजिक अभियन्ता पनि हुन्। २०२८ सालमा जन्मिएका मन्त्री रावल २०४४ सालमा कम्युनिष्ट पार्टीमा आवद्ध भए। २०४८ सालमा तत्कालीन एकता केन्द्र, मशालको सदस्यता प्राप्त गरेका रावल २०४९ सालमा अनेरास्ववियुको भक्तपुर जिल्ला अध्यक्ष थिए। 

२०५१ सालदेखि २०६७ सालसम्म सामाजिक विकासको क्षेत्रमा क्रियाशील रहेका रावल गैरसरकारी संस्था महासंघको केन्द्रीय सचिव तथा अन्तर्राष्ट्रिय नागरिक संगठन आग्ना/सिभिकसको २ कार्यकाल कार्यसमिति सदस्य निर्वाचित भएका थिए। 

उनले २०६३ सालदेखि औपचारिक रूपमा नेकपा एमालेको सदस्यता प्राप्त गरेका हुन्।

रावल २०६५ देखि २०६९ सम्म नेकपा एमाले केन्द्रीय सामाजिक विभाग सदस्य, २०६९ देखि हालसम्म एमाले जिल्ला कमिटी हुम्लाको अध्यक्ष छन्। गत मंसिरमा भएको प्रदेशसभाको निर्वाचनमा एमालेका तर्फबाट सांसद बनेका मन्त्री रावलले अहिले प्रदेश ६ को सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। 

समाजशास्त्रमा स्नातकोत्तर गरेका मन्त्री रावल गैरसरकारी निकायमा लामो अनुभव प्राप्त व्यक्ति हुन्। 

लोकसेवामा ५ पटक वैकल्पिक, राजनीतिमा एकै पटक मन्त्री : नन्दसिंह बुढा
लोकसेवा आयोगको परीक्षामा ५ पटक वैकल्पिकमा परेका डोल्पाका सांसद नन्दसिंह बुढा प्रदेश ६ को मन्त्री बनेका छन्।

डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिका– ७ (साविक दुनै गाविस– ३ तिब्ला) मा जन्मिएका ४२ वर्षका बुढाले दुनैको सरस्वती माविबाट एसएलसी उत्तीर्ण गरेका छन्। 

बुढा जिल्ला अस्पताल डोल्पाको ल्याव टेक्निसियन हुँदै प्रदेश ६ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका हुन्। २०६२/०६३ को जनआन्दोलनपछि नेकपा एमालेको राजनीतिमा लागेका मन्त्री बुढालाई एमालेले प्रदेश सरकारको मन्त्री बनाएको छ। 

२०४८ सालमा डोल्पाको दुनैमा रहेको सरस्वती माविमा अध्ययन गर्दै गर्दा अनेरास्ववियुको राजनीतिबाट प्रभावित बुढा २०५६ सालमा भएको संसदीय निर्वाचनपछि प्राविधिक शिक्षा अध्ययनका लागि राजधानीतिर लागे।

५ पटकसम्म लोकसेवाबाट नाम निस्किँदै वैकल्पिकमा पर्दै गएपछि निराश बनेका मन्त्री बुढा २०५८ सालमा जिल्ला अस्पताल डोल्पामा ल्याब सहायक पदमा करारमा काम गरे।  अस्पतालको करारनामा सकिएपछि गैरसरकारी संस्थामा लागे। 

डोल्पाको सदरमुकाम दुनैको सरस्वती माविको ८ वर्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेका बुढा २०६३ सालमा पार्टीको पोलिटव्युरो सदस्य तथा तत्कालीन स्थानीय विकास मन्त्री राजेन्द्र पाण्डेबाट सदस्यता प्राप्त गरी एमालेको डोल्पा जिल्ला कमिटी सदस्य बने। मन्त्री बुढा २०७० सालमा भएको पार्टीको पाँचौँ जिल्ला अधिवेशनबाट जिल्ला सचिव बनेका थिए। 

गत मंसिरमा भएको प्रदेशसभा निर्वाचनमा डोल्पा ‘क’बाट ८१.९ प्रतिशत मत प्राप्त गरी सांसद निर्वाचित भएका हुन्। 

निर्माण व्यवसायी हुँदै मन्त्री : खड्गबहादुर खत्री
सुर्खेत क्षेत्र नम्बर १ ‘ख’बाट नेकपा एमालेका प्रदेशसभा सांसद बनेका खड्गबहादुर खत्री प्रदेश ६ को पहिलो भौतिक पूर्वाधार विकासमन्त्री बनेका छन्।

लामो समय निर्माण व्यवसायीको अनुभव सँगालेका मन्त्री खत्रीलाई नेकपा एमालेले प्रदेश ६ को भौतिक पूर्वाधार विकासमन्त्री बनाएको हो। प्रदेशको अस्थायी राजधानी रहेको सुर्खेतकै सांसद प्रदेशकै भौतिक पूर्वाधारमन्त्री भएकाले प्रदेशको समग्र भौतिक निर्माणमा महत्त्वपूर्ण योगदान मिल्ने विश्वास यहाँका स्थानीयले गरेका छन्। 

२०३५ सालदेखि अखिल पाँचौँको प्रारम्भिक कमिटीबाट राजनीति यात्रा सुरु गरेका  भौतिक पूर्वाधार विकासमन्त्री खत्री  २०४९ र २०५४ सालमा भएको स्थानीय निकायको  निर्वाचनबाट सुर्खेतको रामघाट गाविसको अध्यक्षमा निर्वाचित भएका थिए। निर्माण व्यवसायसँगै सामाजिक कार्य र राजनीतिमा सक्रिय थिए उनी। 

मन्त्री खत्री भलिबल र एथ्लेटिक्सका पूर्व राष्ट्रिय खेलाडीसमेत हुन्। नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा एमाले निकट उद्योग परिषद्को केन्द्रीय सदस्यसमेत हुन् उनी।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.