|

भक्तपुर : तान्त्रिक विधिबाट शरीरमा देवशक्ति प्रतिष्ठापन भएको अनुभूति गरी नाचिने भक्तपुरको ऐतिहासिक एव‌ं साँस्कृतिक महत्त्वको नवदुर्गा देवगण (ङालाकेगु) को जात्रा (माछा मार्ने जात्रा) नगरका विभिन्न भागमा प्रदर्शन भइरहेको छ।

माघे संक्रान्तिको भोलिपल्ट भक्तपुर सूर्यमढीमा पहिलो प्रदर्शनसँगै सुरु हुने यो जात्रा झण्डै साढे दुई महिना भक्तपुर नगरका २१ स्थानमा देखाइन्छ। त्यसपछि भक्तपुरबाहिर काभ्रेका बनेपा, पनौती, साँखु, साँगा, श्रीखण्डपुर, काठमाडौंका टोखा र भक्तपुरकै नालालगायत स्थानमा प्रदर्शन गरिन्छ।

नगदुर्गा देवगणमा बाजागाजासहित १९ जनाको समूह हुन्छ। यसमा १३ विभिन्न देवी देवता हुन्छन्। नवदुर्गा देवगणमा पित्तलको सानो मन्दिर हुन्छ जसलाई नेपाल भाषामा सिफोद्यः(महालक्ष्मीको प्रतीक) भनिन्छ। यो नाचमा देवगणले भैरव (कालभैरव), महाकाली, बाराही, ब्रम्हायणी, महेश्वरी, कुमारी, वैष्णवी, इन्द्रायणी, गणेश, महादेव, श्वेतभैरव एक–एक र, सिंह दुम्ह (नन्दी–भृंगी) दुईसहित १३ वटा मुकुण्डो प्रयोग गरी नाच प्रदर्शन गरिन्छ। यस्तै माैलिक खिं, ताः र कायँः बाजा बजाउने, महापात्र र नकीं (घरमूली)का साथै अन्य सहयोगी समेत थप हुन सक्छन्।

यो नाचमा प्रारम्भिक नाच, धान रोपाइँ नाच, बाराही नाच, माछा मार्ने जात्रा, महाकाली नाच, श्वेत भैरवको गा त्वःकेगु (खास्टो लुट्ने) नाच, खास्टो फिर्ता लिने नाच, माछा मार्ने शिक्षा दिने नाच, श्वेतभैरवको पेट दुख्ने नाच(प्वाः स्याकिगु), समापन नाच प्रदर्शन गरिन्छ। यी नाचहरू प्रदर्शन गर्दा गीतको बोल र बाजाको तालसँगै पारिवारिक रहनसहन, अभिभावकको भूमिका, चेलिबेटीको दुःख, कृषि कर्म, वैवाहिक कर्म, पति–पत्नीले पालना गर्नुपर्ने सदाचार, नारी शक्ति, महिलाहरूको श्रृङ्गार, बालबालिकाको व्यवहार, माया प्रेम र हर्ष उल्लासका भाव प्रस्तुत गरिन्छ।

करिब ६ महिना नियमित रूपमा सञ्चालन गर्ने यो नाच तान्त्रिक विधिविधान मात्र नभएर मानवीय जीवनमा गरिने सबै संस्कारयुक्त भावप्रधानयुक्त नाच हो। यसमा बोलेर भन्दा पनि निश्चित भाव संकेतद्वारा संवाद प्रस्तुत गरिन्छ। यो नाचले मल्लकालीन समयको संयुक्त परिवारको संरचना र रहनसहनबारे बताउने इतिहासविद् एव‌ं संस्कृतिविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन्।

यो जात्राले  मल्लकालीन समयमा नेवार जनजीवनमा सबैसँग मिलेर बस्ने, संयुक्त परिवारमा बसी काम गर्ने भावना, ठूलालाई गरिने आदर–सत्कार, सानालाई गर्ने मायाप्रेम, समाजिक मर्यादा, रीतिरिवाज, भेषभूषा, रहनसहन, खानपिन आदिको प्रतिनिधित्व गरेको हुन्छ।

'समाजमा नेवार समुदायमा झल्किने शक्तिशाली पारिवारिक अनुसरणको संकेत यो नाचमा प्रस्तुत गरिएको हुन्छ।  घरमूली(नंकी)को दायित्व र महत्वसँगै तीनको भूमिकालाई हरेक दृष्टिले उच्च स्थानमा राखेको हुन्छ', श्रेष्ठ भन्छन्, 'यसमा मूलीले १८ गण सदस्यहरूलाई नवदुर्गा देवगृहमा भित्र्याउनेदेखि लिएर निष्कासन गर्ने सम्मको भूमिका निभाइन्छ, उनले भने, 'यस अर्थमा नेवार समुदायमा र संस्कारमा नंकी प्रधान भन्ने सन्देश पनि यसबाट पाइन्छ।' 

भक्तपुरमा प्रत्येक वर्ष नवदुर्गाको जन्मसँगै नेवार समुदायमा सुखद क्षण र उत्साह उमंग छाएको पाइन्छ। यसको अन्त्यसँगै भक्तपुरमा मात्र नभएर देशकै लागि विभिन्न कठिनाइहको सामना गर्नुपर्छ। जस्तै घण्टाकर्ण चतुर्दशीमा उत्पत्ति हुने नवदुर्गा भगस्थी (भलभलाष्टमी)को दिन जलमा प्रवेश गरी समापन गरिन्छ।

नेवार समुदायमा वर्षदिनका चाड घण्टाकर्णदेखि हुरु हुन्छ भने सिथी नख:मा समापन हुन्छ। भगस्थीमा देवगण जलमा समावेश भएपछि देशमा बाढीपहिरोको प्रकोप शुरु हुने र आलस्य उत्पन्न भई मानिसहरू विभिन्न रोगबाट गस्रित हुने देवगण नाइके वृजेश वनमाला बताउँछन्। 

पछिल्लो समय विभिन्न कारणले गर्दा जात्रा देखाउनुपर्ने सबै ठाउँमा जान नसकेको वनमालाहरू बताउँछन्। उनीहरू अहिले भक्तपुर नगरका २१ ठाउँसहित काठमाडौंको जयबागेश्वरी, बनेपा, धुलिखेल, साँखु लगायतका ठाउँहरूमा प्रत्येक वर्ष जाने गरे पनि थिमिलगायत केही स्थानमा बन्द भएको नाइके वृजेश बताउँछन्।

यो नाचको संरक्षण र संवर्धनका लागि गुठी संस्थान, भक्तपुर नगरपालिका र संस्कृति मन्त्रालयले सहयोग गुर्नपर्ने वनमालाहरू बताउँछन्। संस्कृति जोगाउन राज्यले विषेश व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ। 'भोको पेट र नाङ्गो खुट्टाले मात्र नियमिति ६ महिनासम्म प्रर्दशन गर्ने वनमाला समुदायको स्वास्थ्य नाजुक हुन्छ। खाना खान नमिल्ने हुनाले खाली पेटमा जाँड र रक्सीको भरमा यो नाच सञ्चालन भइरहको छ', उनले भने, 'आयस्रोत नभए कारण मागेर जात्रा सञ्चालन गर्न बाध्य छौँ।' 

यो नाचको मुख्य आय स्रोत नै भक्तजनले चढाउने दान दक्षिणा र भेटी नै हो। यो नाचलाई कालान्तरसम्म जीवन्त राख्न र नयाँ पुस्तालाई यो नाच हस्तान्तरण गर्दै जान स्थायीखालको नियमित आयस्रोतको बन्दोबस्त गर्न जरुरी छ। विभिन्न सुविधा दिएर नयाँ पुस्तालाई नाच सञ्चालन गर्न राज्यले नै पहल गर्न आवश्यक छ।

फोटो हेर्नुहोस्,

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.