|

काठमाडौं : नेपाली कांग्रेसले स्थानीय तह र प्रदेश तथा संघीय संसदको निर्वाचनमा पार्टीको हितविपरीत कार्य गरी अनुशासन उलंघन गरेको भन्दै ३०० बढी नेता  र कार्यकर्तामाथि छानविन थालेको छ।

गत बैशाख र असारमा प्रदेश २ बाहेक पहिलो र दोस्रो चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने र अन्तर्घात गर्ने करिव ३०० जनामाथि छानविन भइरहेको हो।

पार्टी मुख्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले स्थानीय तहको तेस्रो चरणमा भएको प्रदेश २ तथा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टी हितविपरीत कार्य गरेका माथि उजुरी गर्ने समय आगामी चैत १५ गतेसम्म निर्धारण गरेको छ।

अनुशासन समितिको बैठकले प्रदेश २ का स्थानीय तह र अरू सबै प्रदेशमा भएको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गर्ने र अन्तर्घात गरेको सम्बन्धमा समिति समक्ष आवश्यक प्रमाणसहित उजुरी दिएमा छानविन गर्ने समिति सदस्य सचिव केशव रिजालले बताए।

स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध लागेको भन्दै पार्टी केन्द्रीय कार्यालयमा परेका उजुरीमाथि छानविन गरी अनुशासन समितिले २०० जनालाई स्पष्टीकरण सोधिसकेको छ। स्पष्टीकरण सोधिएकामध्ये करिव १०० ले मात्र स्पष्टीकरण दिएका छन्। पार्टी केन्द्रीय कार्यालयमा आएका उजुरीमध्ये २०० स्थानीय तहको निर्वाचनमा भएका अन्तर्घात र असहयोगका सम्बन्धमा रहेका छन्। 

पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने, त्यस्तो उम्मेदवारको समर्थक वा प्रस्तावक बस्नेलाई पार्टीले तत्काल विधानबमोजिम ५ वर्षसम्म साधारण सदस्यबाट निस्काशन गरिसकेको छ। अनुशासन समितिको संयोजकमा केन्द्रीय सदस्य रमेश रिजाल रहेका छन् भने सदस्यहरूमा उमाकान्त चौधरी, सुरेन्द्रराज पाण्डे, कमला पन्त र हृदयराम थानी रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.