|

काठमाडौ : नेपाली कांग्रेस संसदीय दलको नेता बन्नकै लागि प्रतिस्पर्धामा नउत्रन पार्टी सभापति शेरबहादुर देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले दबाब दिने भएको छ।

पौडेल पक्षधर भनेर चिनिएका पार्टी महामन्त्री डा. शशांक कोइरालाको निवास महारजगन्जमा मंगलबार दिउँसो भएको पौडेल समूहको बैठकले प्रदेश र संघीय संसदको निर्वाचनमा पराजय भोगेको पार्टीलाई एक ढिक्का बनाउन र पार्टी एकताको सन्देश दिन अर्को व्यक्तिलाई सर्वसम्मतले रोज्न सभापतिलाई आग्रह गर्ने निर्णय गरेको छ। 

अनौपचारिक छलफलले सभापति देउवाद्वारा दलको नेता बन्ने इच्छा त्यागेमा सर्वसम्मतिले संसदीय दलको नेतामा महामन्त्री डा. शशांक कोइरालालाई अघि सार्ने निष्कर्ष निकालेको छ। तर दलको नेतामा सभापति देउवाले दाबी नछाडे पूर्व उपसभापति प्रकाशमान सिंहले प्रतिस्पर्धा गर्ने सहमति भएको छ। बैठकमा सहभागी एक नेताका अनुसार सर्वसम्मत संसदीय दलको नेता चयन गर्नमा भूमिका खेल्न शुक्रबारसम्म पर्खने निष्कर्ष निकालेको छ। 

‘पार्टीमा एकताको सन्देश दिन सर्वसम्मतिले दलको नेता कसरी चयन गर्न सकिन्छ भनेर छलफल भएको हो’, केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले थाहाखबरसँग भने, ‘दलको नेता चयनमा सहमतिको खोजी सभापतिले नै गर्नुपर्छ भन्ने धेरैको मत रह्यो।’  

बैठकमा महामन्त्री कोइराला, सिंह, केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल, डा. रामशरण महत, जोशीलगायतका नेताको सहभागिता थियो। नेताहरूले पार्टी सभापति देउवाले आफैँ दलको नेता बन्न खोज्नु उपयुक्त नभएको भन्दै एक पद एक व्यक्तिको अवधारणा र मान्यतालाई आत्मसात गर्न आग्रह गर्ने निचोड निकालेका छन्।

सभापति देउवा निकट केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले भने सभापति देउवाले दलको नेताको दाबी नछोड्ने बताए। उनले भने, ‘दलको नेता कसलाई बनाउने वा को बन्ने भन्ने विषयमा सभापतिसँग छलफल नै भएको छैन र उहाँले नेतृत्व छोड्ने जानकारी अहिलेसम्म कसैलाई भन्नु पनि भएको छैन।’ संसदीय दलको नेताको निर्वाचन आगामी आइतबार हुँदै छ।

कांग्रेस सांसदलाई महामन्त्रीको भोज 

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको तर्फबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सदस्यहरूको स्वागतका लागि बुधबार दिवाभोज आयोजना गरेका छन् । केन्द्रीय सदस्य सरिता प्रसाईंले संघीय संसदका सबै सदस्यलाई दिवाभोजमा बोलाइएको बताइन्। कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनबाट २३, समानुपातिकबाट ४० सांसद र राष्ट्रियसभामा १३ सांसद छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.