|

बारा : कक्षा–२ का राहुल पासवान कापी र सिसाकलमसँगै बोरा पनि बोकेर चारकोसे झाडी छिर्छन्। उनले पढ्ने नेपाल दलित प्राथमिक विद्यालय चारकोसे झाडीभित्र छ। गोठजस्तो विद्यालयमा बस्ने बेन्च र चकटी तथा पुस्तक राख्ने डेस्क र टेबल केही छैन।

विद्यालयमा न त लेख्नका लागि कालोपाटी र चक नै छ, न त पढाउने स्थायी शिक्षक। विद्यालय सहयोगी कार्यकर्ता लक्ष्मी चौधरीको भरमा चलेको छ विद्यालय। उनले कक्षा १ देखि चारसम्म पढ्ने ७० बालबालिकालाई एकै ठाउँ राखेर पढाउँछिन्। ‘यस्तो अवस्थामा के पढ्नु र के पढाउनु? दिन काट्ने बाटो मात्रै भएको छ,’ चौधरीले भनिन्।

जिल्ला शिक्षा कार्यालय बाराले ०६६ सालमा विद्यालय सञ्चालनका लागि अनुमति दिएको थियो। त्यतिबेला वन क्षेत्र अतिक्रमण गरेर बसेका सुकुम्बासीका बालबालिका पढाउन विद्यालय खोल्ने अनुमति दिएको शिक्षाका एक कर्मचारीले बताए। विद्यालय सहजनाथ साझेदारी वन क्षेत्रको चारकोशे झाडीमा खोलियो।

सो स्थान हाल जितपुरसिमरा उपमहानगरपालिका– १७ मा पर्छ। त्यहाँ मठियानी टोलका ४५ बालिका र २५ बालक पढ्छन्। विद्यालय खोल्ने स्थानको सामान्य निरीक्षणसमेत नगरेर विद्यालय खोल्ने अनुमति दिँदा समस्या भएको जितपुरसिमरा–१७ का रुकेश प्रसादले बताए।

उनका अनुसार बालबालिकालाई विद्यालय जान पनि सहज छैन। ‘पहिला विद्यालय टाढा थियो, अहिले नजिक छ, तर जंगलबीचमा हुँदा बालबालिका जान डराउँछन्,’ उनले भने।

१० कक्षा पढेकी लक्ष्मी प्रधानाध्यापक!

विद्यालयले ०६६ मा स्वीकृत पाएदेखि नै करैयामाई गाउँपालिका–१ निवासी लक्ष्मी चौधरी मात्र शिक्षक छिन्। चौधरीले आफू नै प्रधानाध्यापक भएको बताइन्। तर, उनले १० कक्षासम्म मात्र पढेकी छिन्।

चौधरी बालशिक्षा कोटाअन्तर्गत सहयोगी कार्यकर्ताको रूपमा त्यहाँ कार्यरत छिन्। जिल्ला शिक्षा कार्यालयले उनलाई मासिक ६ हजार तलब दिँदै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.