|

हरेक नेपालीका लागि काठमाडौं अवसर र चुनौतीको केन्द्र हो। यहाँ संघर्ष गर्न सक्ने आँट भए जिन्दगी हराभरा बन्छ। आँट गर्न नसके गाह्रो छ यहाँको जिन्दगी।

काठमाडौंमा स्वदेशी तथा विदेशी कामदारको भीड पनि उस्तै चर्को छ। यो भीडमा रहेका हरेक व्यक्तिका आफ्नै कहानी छन्। आफ्नै संघर्षका कथाहरू छन्। यही भीडको एक हिस्सा बनेर आएका हुन्, रविकुमार साह अर्थात् 'रविकुमार राज।'

त्रिभुवन विश्वविद्यालयको पश्चिम गेट नजिक रहेको ट्याङ्ला चोकमा दिउँसो होस् वा बेलुका, चटपटे खानेको लर्को लाग्छ। लजालु स्वभावका उनी मन्दमन्द मुस्कानसहित चटपटे बनाउन व्यस्त छन्। होली र छठबाहेक अरू दिन उनी यहाँ चटपटे बेच्दै गरेका हुन्छन्। एक दिन फुर्सदमा उनी आफू कसरी चटपटे व्यापारी बने भन्ने कुराको फेरिहस्त सुनाए यसरी।

सन् २००५ को एक साँझ भारतको मोतीहारी जिल्लाको एक विकट गाउँको आफ्नै झुपडीमा भात खाँदै गरेका रविलाई आमाले भनिछन्- 'धरम और करम करने के लिए नसिव चाहिए' अर्थात् धर्मकर्म गर्न त भाग्य चाहिन्छ।

आमा कट्टर हिन्दु। आमाका अरू दिदी बहिनीहरू खानदानी भएकाले ऋषिकेश ,केदारनाथ, हरिद्वार, बद्रीनाथ घुमिसकेका थिए। उनीहरूले ती यात्राका बारेमा आमालाई सुनाउँदा आमाको मन यस्सै कुँडिन्थ्यो अनि रविकी आमाले आफ्नो भाग्यलाई यसरी धिक्कार्थिन्।

रविलाई आमाले पस्केको भातले भन्दा आफूलाई अभागी ठानेको कुराले पेट भरियो।

उनी आठ पढ्दै थिए त्यसताका। उनलाई लागेछ, अब जसरी पनि आमाको इच्छा पूरा गर्छु। त्यसपछिका दिनमा उनलाई पढ्न मन लागेन।

सामान्य बालकले भन्दा अलि बढी सोच्थे उनी।

नबुझेको कुरा बुझ्नुपर्छ, नगएको ठाउँ जानुपर्छ, नखाएको चिजको स्वाद थाहा पाउनुपर्छ, नलेखिएका चिज लेख्नुपर्छ, नपढिएकाको जिन्दगीलाई पढ्नुपर्छ भन्ने लाग्थ्यो उनलाई।

तर आमाको त्यो वचनले केके पूरा भयो, केके भएन? आज पनि थाहा छैन उनलाई। अचेल त कसरी व्यापार गर्ने होला भन्ने कुरा खेल्छ उनको मनमा। उनी ती दिन सम्झन्छन, ‘पढ्न मन लाग्न छोड्यो, भाग्य भनेको पैसा हो भन्ने कुरा लाग्यो। आफ्नो पुर्ख्यौली सारा सम्पति बाबुले रक्सीमा डुबाएपछि घरमा खाने अन्न थिएन।‘

उनको मनमा एउटा मात्र कुरा खेलिरहन्थो, आमालाई कसरी चार धाम घुमाउने होला? पढ्न मन नलागेको कुरा दाइलाई भन्यो भने पिटाइ खाने डरले उनी दिनभर स्कुल जान्छु भन्दै वन जंगल घुमे। दाइ आफ्नो उपचार गर्ने र घर धान्ने भन्दै काठमाडौं जाने कुरा चल्दै थियो घरमा। एक दिन दाइलाई रक्सी खाएको मेसो पारेर डराउँदै रविले भनेछन्, 'अब म पनि काठमाडौं जान्छु- पैसा कमाउन।'

गाउँका अरू दाइहरू पनि काठमाडौंमा पैसा कमाउन आएको देख्दा उनलाई काठमाडौंमा काम प्रशस्त पाइन्छ होला भन्ने लाग्थ्यो। उनले भने, ‘दाइले रक्सीको तालमा हुन्छ भन्यो तर पढेर मात्र भनेपछि झन तनाव थपियो।‘

दाइको हुन्छ भन्ने जवाफले रविको उज्यालिएको अनुहारमा 'पढाइपछि' भन्ने शब्दले फेरि ग्रहण लाग्यो। दाइ काठमाडौं हिँड्ने बेला दाइले नदेख्ने गरेर उनी पछि लागेछन्। सन् २००६ को हिउँदमा उनले गौरबाट काठमाडौंको यात्रा तय गरे, छतको सकसपूर्ण यात्रा। उनी सम्झिन्छन्, 'दाइले नलैजाने भएपछि दाइको पछिपछि लागेर लुकेर आएको हुँ। दाइ जुन गाडीमा गौरबाट काठमाडौं जाने गाडी चढ्यो, त्यसको छतमा चढेँ। त्यो चिसो सम्झँदा अहिले पनि मुटु काँप्छ।' रातीको समय, त्यसमाथि चिसो सिरेटोले उनको मुटुलाई परीक्षण गरेछ त्यस बेला।

तर उनले त्रिपाल ओडेर मुटुलाई 'फेल' हुन भने दिएनन्। हिउँदको चिसो र भोको पेटमा बसपार्क ओर्लिएपछि दाइले उनलाई देखे।

उनलाई लागेछ, दाइले माया गरेर यस्तो चिसोमा चिया खाजा खुवाउँछ होला तर विडम्बना! बसपार्कमा सबै जनाको अघि उनले गोदाइ भेटे दाइको। उनले काठमाडौंमा गर्ने संघर्षको पहिलो खुट्किलो दाइको त्यही गोदाइ पो थियो कि!

दाइको रिस मर्‍यो।

बागबजारको एउटा होटलमा लगे रविलाई।

दाजुभाइ मिलेर डेरा खोजे। दुई दिन लगाएर सस्तो कोठा भेटियो, असनमा। रवि सम्झिन्छन्, 'दाइले असनको मारवाडी पसलमा कपडा बेच्ने काम पाए।' केही दिनपछि रविलाई दाइले असनको गल्लीमा मोजा बेच्ने काम लगाए। मोतीहारी जिल्लाको हरेक ठाउँ आफ्नो पैतालाले नापेका रविले अब असनका गल्लीको पनि नापो लिनुपर्ने भयो। उनी बोलीमा हाँसो थप्दै भन्छन्, 'सुरुसुरुमा त साह्रै गाह्रो भयो, मोजा बेच्ने तरिका पनि थाहा थिएन। विस्तारै बानी पर्‍यो।'

चप्पल लगाएर हिउँदको बेला अर्कालाई खुट्टा तताउने मोजा बेचिरहँदा मोजा किन्ने मान्छे कति भाग्यमानी होलान् भन्ने सोच्थे उनी। उनी भन्छन्, 'दिनभर मोजा बेच्थेँ, बेलुका पसलमा लगेर बचेका मोजा र पैसा दिन्थेँ।' कहिले मनग्य व्यापार हुन्थ्यो मोजाको, कहिले भने ठन्डाराम। व्यापार नहुँदाको दिन खुट्टा जस्तै चिसो हुन्थ्यो उनको मन।

'काठमाडौं आएको सात महिनापछि दाइको मृत्यु भयो', उनले निन्याउरो मुख लगाउँदै भने। उनका दाइले आफ्नो कमाइबाट रोगको उपचार पनि गर्न सकेनन्। अब दिदीको विहे, भाइहरूको पढाइ र बुबाआमा पाल्ने स्थायी दु:ख उनीमाथि आइलागे। मोजा व्यापारले आफू पालिन सक्ने अवस्था थिएन भने परिवार कसरी पाल्न सकिन्छ?

दाइको मृत्यु र काठमाडौंको एक्लो जीवनमा उनका दिनहरू एकदम कष्टकर बने। उनी भन्छन्, 'गोजीमा पैसा हुँदैनथ्यो, महिना कटेपछि घरभेटी कोठाभाडा माग्न आउँथे, म अनेक बहाना बनाउँथे, घरभेटी फर्कन्थे।' महिना थपिँदै जाँदा उनका बहानाहरू सकिन्थे।

एक दिन उनी कामबाट फर्कंदा उनको कोठामा नयाँ साँचो देखे। उनका घरभेटी भक्तपुर बस्थे। उनले त्यसबेला के गर्ने, कसो गर्ने भन्ने मेसो पाएनन्। उनी एकसरो लुगाकै भरमा सदाका लागि त्यो कोठा छोडेर सडकपेटीमा त कहिले विष्णुमतीको पुलमुनि बस्न थाले। 'म कुकुरलाई अँगालो हालेर सुत्थेँ’, उनले भने , 'के गर्नु, आेढ्ने कुरा नभएपछि  चिसोबाट बच्नु त पर्‍यो नि!'

जिन्दगीमा सुन दिने मान्छेहरू भेटिन्छन् होला तर काठमाडौंको भीडमा उनको पीडा सुनिदिने मान्छे पनि कोही भेटिएनन्।

दिनभर मोजा बेच्ने काम। न खानाको ठेगान, न बस्नको।

उनले कतै सुनेका थिए- पालो सबैको आउँछ। उनको पनि त पालो आउला भन्ने आश बाँकी थियो उनमा। विष्णुमतीको पुलमुनिको बास छ महिनाजति चल्यो। यही बीचमा मैले सबैभन्दा धेरै सम्झेको आमाले पस्केको भात नै हो। उनले भने, ‘आमालाई थर्काएर खाएको झल्झली याद आउँथ्यो।‘ उनलाई त्यो बेला घर फर्कौं भन्ने पनि लागेको हो तर पारिवारिक अस्तव्यस्तता सम्झँदा गाउँ फर्कन मन लागेन।

'आफ्नो विरक्तलाग्दो जिन्दगी देख्दा आत्महत्या गरेर यो दु:खबाट मुक्ति पाउँछु भन्ने सोच पनि आउँथ्यो। आमालाई चारधाम घुमाउने इच्छाले मात्र बाँचेको हुँ', त्यसपछि उनी लामो हाँसो हाँसे।

उनले अनुहार उज्यालो बनाउँदै भने, 'त्यसपछिका दिनबाट जिन्दगीमा खुसियाली आयो।' एक दिन असनमा भगवानको रूपमा मोतीहारीका दाइ आए, जो कीर्तिपुरमा चटपटे व्यापार गर्थे। उनले बेलिविस्तार लगाए, 'ती दाइलाई देखेपछि रुन मन लाग्यो।' त्यसपछि आफ्नो दु:ख सुनाए। पीडा सुनिदिने मान्छे पनि उनले भेट्टाए। दाइले भनेछन्, 'कीर्तिपुरमा चटपटे व्यापार गर, त्यहाँ कमाइ राम्रो छ।'

ठेला बनाउने काम ती दाइले गरिदिन्छु भनेर कच्चा सामान किन, सस्तो पर्छ, चार हजार रुपैयाँजति लाग्ला भन्दै केही परे फोन गर भनेर ती दाइ त्यहाँबाट निस्के।

खानाको ठेगान छैन, चार हजार कताबाट खोज्नु? काम गर्न थालेको पनि एक वर्ष भयो, आफ्नै साहुलाई दु:ख बिसाए उनले। उनको इमान्दारी देखेर छ हजार रुपैयाँ निकालेर दिँदै साहुले भनेछन्, 'कमाएछौ भने फिर्ता गर्नु नत्र तिमीलाइ छ हजार सहयोग भयो।' उनी पहिलोचोटि साहुको खुट्टामा छुँदै पुन: धित मरुन्जेल रोए अनि असनको त्यो गल्लीबाट बिदा लिए। उनी भन्छन्, 'खाजा खुवाउनसमेत लोभ गर्ने मेरो साहुको त्यो खुला हृदय यसअघि कहिल्यै देखेको थिइनँ।'

त्यसपछि उनले तत्काल ती दाइलाई फोन गरे, ठेलाको बन्दोबस्त गरिदिन आग्रह गर्दै। चार हजारको ठेला र दुई हजारको कोठा अनि ओढ्ने ओछ्याउने किने। उनले चटपटे व्यापारकै कारण बाबुले लगाएको ऋण तिरे। दिदीको विहे गरे। एउटा भाइ बैंगलोरमा पढ्दै छन्, अर्को भाइ कक्षा ८ मा पढ्छन्। उनी भन्छन्, ‘यो व्यापार मलाई एकदम फाप्यो।‘

बाबुले रक्सी खाएर सारा सम्पत्ति सकेकोमा उनलाई अफसोच छ। यही कारण आजसम्म उनले रक्सी छोएका छैनन्।

ट्यांङ्ला चोकको भित्रपट्टि मन्दमन्द मुस्कान छर्दै चटपटे बेच्न थालेको पनि ठीक आठ वर्ष भयो। उनी भन्छन्, 'होली र छठबाहेक वर्षभरि म यहीँ हुन्छु। मलाई एक्लै रुममा बस्न दिक्क लाग्छ।' उनीकहाँ चटपटे खान आउनेलाई खुसी बनाएर पठाउँछन्। उनी भन्छन्, 'पाँच रुपैयाँ लिएर आउनेलाई समेत खाली पठाएको छैन। त्यही भएर सबै जना मेरोमा आउँछन्।' बिहान ११ बजेबाट सुरु हुने उनको चटपटे व्यापार बेलुका ७ बजेसम्म चल्छ।

गाउँमा हुँदै  शुद्ध नेपाली बोल्न सक्ने थिए उनी। कारण, सीमावारिका नेपाली रेडियो उनको गाउँसम्म सुनिने रहेछन्। 'मलाई भैया भनेको मनपर्दैन, साथी भन्दिए हुन्थ्यो भन्ने लाग्छ', उनले यस्तो तिक्तता पोखे। उनी भन्छन्, 'साथी भन्दा खुसी हुन्छु तर सबैले भैया भन्छन्।' यो मानेमा भने उनी दुखी हुँदारहेछन्।

उनले परिवारको खर्च, आफ्नो खर्च कटाएर केही रकम जम्मा गरेका छन्। २४ वर्षमा टेक्दै गरेका रविले आफ्नो भावी लक्ष्य पनि बताए।

अब दुई वर्षभित्र नयाँ घर बनाउँछु गाउँमा। उनले भने, 'आमालाई चारधाम घुमाइसकेँ। मुक्तिनाथ जाने धोको अर्को वर्ष पूरा हुँदै छ।' उनको निधारमा सन्तुष्टिका रेखा देखा परे। उनले विवाहको कुरा पनि बाँकी राखेनन्, 'हाम्रो गाउँमा विहेको अनौठो चलन छ। केटी पक्षकाले गरिवलाई छोरी दिन मान्दैनन्। आफू गरिव भए पनि धनी नै केटा खोज्छन् ताकि छोरीले सुख पाओस्। त्यस कारण केटा पक्षले जति दाइजो मागे पनि ऋण काढेर छोरीको विहे गर्छन्। गरिबले छोरी माग्न जानु  भीख मागे जस्तो हो। यस कारण पहिले प्रशस्त पैसा कमाउँछु।'

उनले आफ्नो विहेमा केटी पक्षसँग केही नमाग्ने बताए तर भने, 'दिन्छन् भने मोटरसाइकल माग्नुपर्ला।' यती भन्दै उनले पिच्च थुके, केहि थुक उनको नाकमा लाग्यो।

'उसो भए विदेश नजाने?' भन्ने प्रश्नमा उनले तत्काल जवाफ फर्काए, 'नेपाल पनि विदेश त हो मेरा लागि।' सायद यो व्यंग्य थियो ती नेपाली युवाहरूलाई, जसले देशमा रोजगारको वातावरण छैन भन्छन्। नागरिकतामा उमेर बढाएर सपनाको जहाज चढ्छन् अनि परदेश भासिन्छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.