|

काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रपतिका लागि उम्मेदवार बनाएकी कुमारीलक्ष्मी राईको राजनीतिक पृष्ठमूमि निकै उतारचढावपूर्ण छ। वि.सं. २००६ बैशाख २१ गते तत्कालीन पूर्व चार नम्बरमा पर्ने भोजपुर जिल्लाको छिनामखुमा जन्मिएकी राई २००७ सालको क्रान्तिका योद्धा दिवानसिंह राईकी छोरी हुन्। 

राजनीतिक वातावरणमा जन्मिएकी राईले प्रारम्भिक शिक्षा सेन्ट मेरिजबाट लिएकी थिइन्। भोजपुरबाट मोरङको बेलबारीमा बसाइँ सरेका कांग्रेसका तत्कालीन नेता दिवानसिंह राई २०१६ सालमा विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा गठित पहिलो जननिर्वाचित सरकारको गृह सहायकमन्त्री भएका थिए। बाबु दिवानसिंहसँगै काठमाडौं आएकी कुमारीलक्ष्मीले अंग्रेजीमा स्नाकोत्तर शिक्षा हासिल गरेकी छन्। 

२०१७ पुस १ गते राजा महेन्द्रले प्रजातन्त्रको अन्त्य गर्दै निर्दलीय पंचायती व्यवस्था लागू गरेपछि दिवानसिंह वीपीसँगै सुन्दरीजल जेलमा थुनिएका थिए। जेलमुक्त भएपछि मोरङको बेलबारीमा बसोवास गर्दै आएका उनलाई बेलबारीको काकुम झोडा काण्डमा हत्या गरिएको थियो। २०२९ साउनमा भएको उक्त झोडाकाण्डमा पीता दिवानसिंहको हत्यापछि कुमारीलक्ष्मी सक्रिय राजनीतिमा लागेकी थिइन्।

‘प्रजातन्त्र सेनानी दिवानसिंह राईको हत्या षड्यन्त्रपूर्ण तरिकाले गरियो’, इतिहासकार पुरुषोत्तम बस्नेत भन्छन्, ‘सुकुम्वासीले झोडा फाँडेर ऐलानी जग्गा उपयोग गर्ने सन्दर्भमा सन्दिग्ध पक्षको आक्रमणबाट दिवानसिंहको हत्या षड्यन्त्रपूर्ण तरिकाले गरियो तर त्यसको सत्य, तथ्य अझै छानबिन भएको छैन।’ राईको हत्या कम्युनिस्ट पार्टीका कार्यकर्ताले गरेको कांग्रेस पार्टीको आरोप थियो। 

पीताको बर्बरतापूर्ण हत्याबाट शोकमा डुबेकी कुमारीलक्ष्मी विचलित नभई पंचायती व्यवस्थाका विरुद्ध झन क्रियाशील भएकी थिइन्। पीताको हत्यापछि उनलाई हजुरबुबा ध्यानबहादुर राईले अभिभावकत्व प्रदान गरेका थिए। तर भारतमा निर्वासित हजुरबुबा ध्यानबहादुरलाई पंचायती व्यवस्थाका शासकहरूले दानबहादुर शाक्यमार्फत नेपाल ल्याएर राज्यमन्त्री बनाए। उनै शाक्य पछि अंचलाधीश बनाइएका थिए। 

कुमारीलक्ष्मीका काका संग्रामसिंह राई भोजपुर जिल्ला पंचायतको सदस्य भए पनि उनी कांग्रेसको राजनीतिमा सक्रिय थिइन्। पार्टीमा तीन दशक सक्रिय कुमारीलक्ष्मी २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासन सुरु गरेपछि त्यसको विपक्षमा उभिन सकिनन्। उनी वीपी पुत्र प्रकाश कोइराला र भरतबाबु प्रसाईंको सक्रियतामा गठित नेपाली कांग्रेस (राष्ट्रवादी)मा समेत केही समय लागेकी थिइन्। 

२०६७ सालमा भएको कांग्रेसको १२औँ महाधिवेशनपछि केन्द्रीय सदस्यमा मनोनीत कुमारीलक्ष्मी २०७० सालमा नेपाली कांग्रेसको तर्फबाट संविधानसभामा समानुपातिक प्रणालीबाट सभासद् हुन सफल भएकी थिइन्। ललितपुरकी स्थायी वासिन्दा राई भोजपुरमा जन्मिएर मोरङमा हुर्के बढेकी राष्ट्रपति विद्या भण्डारीसँग राष्ट्रपतिमा प्रतिस्पर्धामा उत्रिएकी छन्।

भण्डारी र राईबीचको समानता 

भण्डारी र राईमा धेरै विषयमा समानता छ। दुवैको पारिवारिक पृष्ठमूमि राजनीतिक वातावरण नै हो। बाबुको हत्या मोरङको बेलबारीस्थित काकुम झोडा (हाल बुधबारे) काण्डमा भएपछि सक्रिय राजनीतिमा राई होमिएकी हुन् भने भण्डारीचाहिँ मदन भण्डारीसँगको वैवाहिक सम्बन्धमा बाँधिएपछि राजनीतिमा अझ सक्रिय भएकी हुन्।

भण्डारीको राजनीतिक उचाइ पनि पति मदन भण्डारीको रहस्यमय मृत्युपछि चुलिएको हो। अनेरास्ववियुको राजनीतिमा लागेकी विद्या पाण्डेको विवाह मदन भण्डारीसँग गराउन तत्कालीन मालेका नेता अशोक राई र प्रदीप नेपालको भूमिका थियो।

राईका बाबु दिवानसिंह मोरङको बेलबारीमा केही समय बसोवास गरेका थिए भने विद्या भण्डारी बेलबारीमै बसेर नक्सालस्थित भानु मेमोरियल बोर्डिङ स्कुलमा पढाउँथिन्। भण्डारी र राई दुवैले जन्मस्थान भोजपुर र कर्मस्थल बेलबारीलाई छोडिसकेका छन्। राईको जन्म भोजपुरको छिनामखुमा भएको हो भने भण्डारीको जन्म मानेभञ्ज्याङमा भएको हो।

दुवै जनाले हाल काठमाडौंको बुढानीलकण्ठमा घर बनाइसकेका छन्। दुवैका दुई छोरी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.