|

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी सभापति शेरबहादुर देउवासहित पदाधिकारीलाई पार्टी कब्जा गर्न खोजेको आरोप लगाएका छन्। 

स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्न शुक्रबारदेखि पार्टी मुख्यालय सानेपामा सुरु केन्द्रीय कार्यसमिति बैठकमा सिटौलाले भने, ‘सभापतिज्यू तपाईंसहित चार/पाँच जना पदाधिकारी मिलेर पार्टी नै कब्जा त गर्न सक्नुहोला तर वामपन्थीको कब्जाबाट मुलुकलाई मुक्त गर्न सक्नुहुन्छ?’ बैठकपछि संचारकर्मीसँग सिटौलाले निर्वाचनमा पार्टी पराजित हुँदासमेत पदाधिकारीमा पार्टी र मुलुकप्रति चिन्ता नभएको भन्दै दुःख व्यक्त गरे। 

‘बेथितिको पराकाष्ठा निम्त्याउने तपाईंहरू नै हो’, सिटौलाले भने, ‘स्थानीय, प्रदेश, प्रतिनिधिसभामा पार्टीको तर्फबाट कोको उम्मेदवार थिए? हामीले कति मत ल्यायौँ? कति जनाले जिते? त्यसको कुनै रेकर्ड पदाधिकारीले दिन सक्नुभएन।’ उनले पार्टीले हाम्रो भनेर जिताएको वडा अध्यक्षलाई वामपन्थी सरकारले थर्काएर आफैँतिर लगिसकेको हुनसक्ने भन्दै केन्द्रीय कार्यसमितिलाई जानकारी दिन माग गरे। 

उनले मट्याङ्ग्रे पार्टीको सभापति हुनुभन्दा त प्रभावशाली पार्टीको साधरण सदस्य भएर बस्नु उपयुक्त हुने सुझाव नेतृत्वलाई दिएका थिए। उनले पार्टीलाई झनझन कमजोर बनाउने काम नगर्न पदाधिकारीसँग आग्रह गरेका थिए। उनले चुनावको समीक्षा भनेर बैठक बोलाए पनि पदाधिकारीबाट चुनाव सकिएको चार महिना बितिसक्दा पनि चुनावी समीक्षाका सम्बन्धमा प्रतिवेदन नै नआएको गुनासो गरे। 

सिटौलाले संविधान घोषणा हुन नदिने ठूलो दबाब भए पनि तत्कालीन पार्टी सभापति सुशील कोइराला नेतृत्वको सरकारले संविधान जारी गरिए पनि पार्टी नेतृत्वले त्यसको जस लिन नचाहनु दुखद् पक्ष रहेको बताए। संविधान जारी भएपछि सत्ता समीकरणको खेलमा नेतृत्वले गम्भीर त्रुटि गरेको जिकिर गर्दै सिटौलाले भने, ‘जहाँबाट सुशील कोइराला प्रधानमन्त्री उठ्नुभयो, त्यहीँबाट कांग्रेसलाई ठूलो क्षति भयो।’ 

उनले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख सबै कम्युनिस्ट पार्टीहरूको हातमा लैजान सभापति देउवा र नेता रामचन्द्र पौडेलको हात रहेको दाबी गरे। उनले प्रश्न गरे, ‘सुशीलदा'लाई प्रधानमन्त्रीमा उठाउन शेरबहादुरजी प्रस्तावक र रामचन्द्रजी समर्थक बस्नुभएको हो कि होइन?’ एमालेलाई प्रधानमन्त्री दिएर कांग्रेसले राष्ट्रपति नलिँदा गम्भीर त्रुटि भएको र त्यसको मनोवैज्ञानिक असर पार्टीका कार्यकर्ता, आमनागरिक, प्रहरी, प्रशासन, उद्योग व्यापार, संचार क्षेत्रमा परेको उनले बताए। 

सिटौलाले प्रचण्डलाई प्रधानमन्त्री बनाएर उनलाई एक वर्ष अड्याउन नसक्नु, दिनेश कोइरालालाई भरतपुरको प्रमुखमा उम्मेदवार बनाएपछि प्रचण्डलाई खुसी बनाउने नाममा दिनेशको उम्मेदवारी रद्द गरी केन्द्रबाटै प्रचण्डकी छोरीलाई नगर प्रमुखमा समर्थन गर्नु कांग्रेस नेतृत्वको ऐतिहासिक भूल भएको आरोप लगाए।

उनको अर्को प्रश्न थियो, ‘कमल थापा नेतृत्वको राप्रपा, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र महन्थ ठाकुर नेतृत्वको राजपालाई कांग्रेसले समर्थन गर्नुपर्ने तर उनीहरूले हाम्रा उम्मेदवारलाई हराउन लाग्नु के नेतृत्वको कमजोरी होइन?' उनले चुनावी रणनीति र तालमेल गर्न नेतृत्वले नजानेको आरोप पनि लगाए। 

चुनावमा जाँदा कांग्रेसको एजेण्डा संघीयता, समावेशी लोकतन्त्र, गणतन्त्र खोसिएको, हामीले स्वीकार्न र अपनत्व लिन नसकेको चुनाव व्यवास्थापनमा त्रुटि भएको, निर्णय प्रक्रियामा त्रुटि भएको, संसदीय बोर्ड, केन्द्रीय सम्पादन समिति ठूलो र विधानविपरीत गठन गरिएको, समानुपातिकको लिस्ट संसदीय समितिकै सदस्यलाई नदेखाई मनोमानी गरेको सिटौलाको आरोप थियो। 

निर्वाचनबाट कांग्रेसलाई ठूलो क्षति भएको, प्रदेश र केन्द्रमा प्रतिपक्षमा बसे पनि कांग्रेसको तागत कमजोर भएको उनले बताए। उनले वाम सरकारको सत्ताको प्रभाव सर्वसाधारण जनतामा पर्न थालेको र यस्तो दबाबलाई थेग्न नयाँ ढंगले नीति, संस्कार, व्यवहार, निर्णय प्रक्रिया र सिद्धान्तमा आमूल परिवर्तन जरुरी भएको बताए। पार्टीको महाधिवेशन तत्काल गर्नुपर्ने भन्दै सिटौलाले त्यो सम्भव नभए महासमिति बैठक बोलाउन माग गरे।

संविधानको अक्षरश: पालना वर्तमान सरकारबाट हुनेमा आशंका देखिएको भन्दै सिटौलाले भने, ‘चुनौतीलाई सामना गर्न महासमिति बैठकमा छलफलमा गर्ने एजेण्डा पदाधिकारीले केन्द्रीय कार्यसमितिमा ल्याउनुपर्छ। भीडबाट ताली बजाएर प्रस्ताव पारित गर्न पाइँदैन। पार्टी अब पुरानो संस्कारबाट चल्दैन।' कांग्रेसभित्र सामन्ती संस्कारको अन्त्य नभएको भन्दै उनले पार्टीभित्र आज नातावाद, कृपावाद, पैसावाद छ भनेर आलोचना हुने गरेको छ।

उनले अब पार्टीको नीति, सिद्धान्त, संस्कार, व्यवहार, संरचना र नेतामा परिवर्तन हुनुपर्ने भन्दै पदाधिकारीहरू अब कोषाध्यक्षको राष्ट्रिय भेला जता हुन्छ, उतै लुरुलुरु गएर पार्टी गतिशील नहुने बताए। उनले भने, ‘जिल्ला कोषाध्यक्षलाई त पार्टीले कार्यक्रम दिएर बोलाउनुपर्छ, निर्देशन दिनुपर्छ। भोलि सचिवको, पर्सि सहसचिव र अर्को दिन उपसभापतिले राष्ट्रिय सम्मेलन भनेर बोलाउने अनि पदाधिकारी त्यतै दौडन मिल्दैन। कोषाध्यक्षको राष्ट्रिय भेला गर्ने प्रवाधान पार्टी विधानमा छैन।’

शुक्रबार बिहान साढे ११ बजेदेखि सुरु बैठक दिउँसो २ बजेसम्म चलेर स्थगित भएको थियो। पुन: ४ बजे बसेको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले नाम नटिपाएपछि शनिबार ११ बजेसम्म स्थगित गरिएको थियो। शुक्रबारको बैठकमा पूर्व महामन्त्री प्रकाशमान सिंह, सिटौला र केन्द्रीय सदस्य डा. नारायण खड्काले धारणा राखेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.