|
फाइल फोटो

भक्तपुरः आठ रात नौ दिन मनाइने साँस्कृतिक एवं ऐतिहासिक बिस्केट (बिस्का) जात्रा मंगलबार शुरु हुँदैछ। साँझ टौमढीस्थित पाँचतल्ले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै जात्राको शुरुवात गरिन्छ।

काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्रांगणबाट माथिल्लो (थने)  र तल्लो (क्वने) टोलका बासिन्दाले तानातान गर्दै जात्राको शुरुवात गर्छन्। रथ तान्नुअघि भैरवनाथको रथमा खड्ग, तरबार, निशान राख्ने विधान छ।
रथको अगाडि पाँच र पछाडि चार वटा डोरी समातेर जात्रालुले तान्ने गर्छन्।

जात्राको मुख्य आकर्षण नै रथ तानातान गर्नु हो। यसरी तानातान गर्ने क्रममा थनेतर्फ पहिला तानेर लानसके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः टौमढी हुँदै क्वनेतर्फको टेखापुखुसम्म ल्याएर त्यहाँबाट पनि फर्काएर गःहिटीमा रथ पुर्‍याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुन्छ। त्यसैगरी पहिले क्वनेतर्फ तानेर लानसके टेखापुखुसम्म ल्याउने र त्यहाँबाट पुनः टौमढी हुँदै दत्तात्रेय पुर्‍याएर त्यहाँबाट फर्काई गःहिटीमा रथ पुर्‍याउने चलन छ। 

जात्रामा रथ तान्ने परम्परागत रुट क्वनेतर्फ टौमढी, बुलुँचा, घट्खा, नासमना, मुलाखु, वंशगोपाल, तेखापुखुसम्म र थने (माथिल्लो टोल) तर्फ क्वाछें, साकोठा, सुकुलढोका, गोल्मढी, इनाचो, दत्तात्रेयसम्म लग्निन्छ। रथ तान्ने रुटका घरहरूमा २०७२ सालको भूकम्पले क्षति पुगेकाको र ती संरचना पुनर्निर्माणको चरणमा रहेकाले यो वर्ष टौमढीबाट क्वनेतर्फ बुलुँचा र थनेतर्फ साकोठासम्म मात्र रथ तान्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिए।

तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बली चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ। उक्त बलिपुजाको मासु प्रसादका रूपमा लाकुलाछेबासीलाई बाँडिन्छ, जसलाई स्थानीय भाषामा ‘स्याःक्वःत्याःक्वः’ भनिन्छ।

जात्राकोे चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह यसीं (हात नभएको लिङ्गो) उभ्याइन्छ भने साँझपखः तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ५५ हात लामो लिंगो भेलुखेलस्थित ल्योसिङ खेलमा उभ्याइन्छ। 

लिंगो उभ्याउने जात्रा अर्को आकर्षण हो। पुरानो वर्ष विदाइ र नयाँ वर्षको आगमनको पूर्व सन्ध्यामा लिंगो उभ्याउने गरिन्छ। लिंगोको कोखामा झुण्ड्याइएका दुई ध्वजाहरुलाई वीरध्वजा र विश्वध्वजा भनिन्छ। एकजोडी ध्वजाहरु फुकाएपछि एउटा संवत्सर फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने मान्यता छ। लिंगो उभ्याउन बाँधिएका आठवटा डोरीलाई अष्टमातृकाको प्रतीक मानिन्छ। लिंगो उभ्याउने क्रममा नवदुर्गा देवगण उपस्थित हुन्छ।

लिंगो उठाउनुभन्दा अघि खौमास्थित इन्द्रायणी देवीको त्वारिवा जात्रा र तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन छ। यी दुई जात्रा सकेर त्यहाँको विशेष प्रसाद लिंगो उठाउने ठाउँमा लगिन्छ।

लिंगो उठाएको हेर्नाले शत्रुहरु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यसलाई 'शत्रुहन्ता जात्रा' पनि भनिन्छ। यस दिन भैरवनाथ र भद्रकालीको रथ पनि लिंगो उभ्याउने स्थानमा पुर्‍याइन्छ। लिंगो उठ्नासाथ स्थानीय बाराही देवीको तिंप्वाः जात्रा मनाइन्छ।

बिस्का जात्राको पाँचौं दिन अर्थात् नयाँ वर्ष वैशाख १ गतेका दिन लिंगो ढालिन्छ। त्यसको लगतै खँला टोलमा भैरवनाथ र भद्रकालीको रथलाई एक आपसमा जुधाइन्छ। यसलाई स्थानीय भाषमा द्यः ल्वाकिगु जात्रा भनिन्छ। साँझपख दुमाजु देवीको जात्रा समेत गरिन्छ। जात्राको अन्तिम दिन भैरवनाथको रथलाई गःहिटीबाट पहिलो दिनमा जस्तो थने र क्वने टोलका बासिन्दाले तानातान गर्छन्।

आठौं दिन वैशाख ४ गते 'द्य स्वंग व्य्यु' जात्रा हुन्छ। यो दिन भक्तपुरबासीले परम्परागत भेषभूषामा सजिएर बाजागाजासहित नगरका ६० भन्दा बढी देवी देवतालाई गच्छेअनुसारका पकवान, मिठाइ, फलफूल, पैसा चढाउने गर्छन्। 

जात्रा शान्तिपूर्ण बनाउन प्रशासनको यस्तो तयारी
जात्रामा पहिलो र अन्तिम दिन रथ तान्ने क्रममा र लिंगो उठाउने बेलामा झडप हुने गरेको छ। त्यसैले सम्भावित झडप रोक्न र जात्रालाई व्यवस्थित रुपमा सम्पन्न गर्न यो वर्ष दिउँसो नै भैरवको रथ तान्ने तयारी भएको छ। रातको समयमा जात्रा सञ्चालन हुँदा रथले किचेर मानिसको मृत्यु हुने र जात्रा सञ्चालन हुने स्थानका घर र सार्वजनिक पाटी पौवामा समेत क्षति पुग्ने भएकाले त्यसलाई रोक्न समेत दिउँसो जात्रा शुरु गर्ने तयारी गरेको प्रजिअ पोखरेलले बताए।

जात्रालाई मर्यादित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न नेपाल प्रहरी ५ सय र ३ सय सशस्त्र प्रहरी परिचालन गरिने प्रजिअ पोखरेलले जानकारी दिए। ‘जात्रामा उच्छृंखल गतिविधि गर्ने र हुलदंगा मच्चाउन खोज्नेको पहिचान गर्न व्यापक रूपमा सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिनेछ’, उनले भने, ‘जात्रामा हुलदंगा गर्नेको पहिचानका लागि चोक–चोकमा जडान गरिएका सीसी क्यामेराको फुटेजका आधारमा जात्रापछि पनि नियन्त्रणमा लिई कारबाही गरिनेछ।’

रथमा अनियन्त्रित तरिकाले अत्याधिक मानिस चढ्ने र त्यसले गर्दा रथबाट खसेर घाइते हुनुका साथै रथले किचेर ज्यान समेत जाने गरेकाले त्यसलाई नियन्त्रण गर्न रथमा भैरव नाइके, गुठी र स्थानीय क्लबका सिमित पदाधिकारी मात्र चढ्ने व्यवस्था गरिएको छ। जात्रामा हुलदंगा गरी सुरक्षा व्यवस्थामा खलल पुर्याउनेलाई पक्राउ गरी सार्वजनिक अपराध ऐन अनुसार कारबाही गर्ने तयारी भएको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.