संस्कृतिविद् भन्छन्, विश्व, बिसिक, बिस्क, बिस्का हुँदै बिस्केट

|

भक्तपुर : बिस्केट जात्रा भक्तपुरमा नौ दिन आठ रात मनाइन्छ। मध्यपुर थिमी, नगदेश र बोडेमा तीन दिन। भक्तपुरको यति प्रसिद्ध जात्राका विषयमा भने फरक–फरक किसिमका किंवदन्ती चलेको पाइन्छ। 

जात्राका ऐतिहासिक पक्षका सम्बन्धमा थिमीमा प्राप्त नेपाल संवत् ५०० को तमसुक पत्रमा विश्व केतुलाई सम्झाउने पर्यायको रूपमा 'बिसिक' शब्द उल्लेख भएको पाइएको संस्कृतिविद् एवं इतिहासविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन्। उनका अनुसार भक्तपुर टौमढीस्थित यक्ष मल्लको पालाको शिलालेखमा पहिलो पल्ट जात्रालाई सम्बोधन गर्दा 'विश्वजात्रा' उल्लेख गरिएको छ।

त्यसैगरी भक्तपुरको राजदरबारमा नेपाल संवत् ८०८ र ८१८ को राजा जितामित्र र भूपतिन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा 'विस्क्यात' शब्द उल्लेख छ। तलेजुमा अहिलेसम्म चल्ने बिस्का जात्राको संकल्प पूजामा विश्वजात्रा महापर्व उच्चारण गरिन्छ। ‘यी प्रमाणका आधारमा 'विश्वकेतु' संस्कृत शब्द हो। पछिल्लो कालखण्डमा नेवारी नामकरण अनुसार बिसिक, बिस्क, बिस्का हुन पुगेको हो', श्रेष्ठ भन्छन्, 'त्यसैको अपभ्रंश भएर बिस्केट भएको हो। नेवारीमा अहिले पनि बिस्का जात्रा भनिन्छ।’

श्रेष्ठका अनुसार यो जात्रा विश्वनाथ भैरवको मात्र नभई उनकै शक्ति भद्रकालीको पनि हो। विश्व भैरवनाथको प्रतीक लिंगोमा फहराइने एकजोडी ध्वजा (हलिपत) साक्षात\ भैरव र भद्रकालीको हो। 'यसलाई जबरजस्ती वि को अर्थ सर्प र स्यातको अर्थ मारियो भन्ने अर्थमा बिस्क, बिस्का, बिस्केत चल्दै आएको भम्र फैलाइएको छु, उनले भने, ‘नाम, प्रमाण र भाषाविज्ञानकै सहारा लिएर भन्ने हो भन्ने वि को अर्थ हो पुरानो।'

नवदुर्गा गणलाई वि त्वंकेगु भन्दा तान्त्रिक विधिपूर्वक पुरानो रगत खुवाउने प्रचलन अहिलेसम्म छ। 'जात्राको विषयमा अहिलेसम्म चलेका प्रमाण, अभिलेख र मल्लकालीन राजा जगतप्रकाश मल्लदेखि शाहवंशीय राजा त्रिभुवन, राजा ज्ञानेन्द्र र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले फेरेका ध्वजा हेर्ने हो भन्ने विश्वकेतु, वीरध्वजा लेखिएको छ', श्रेष्ठ भन्छन्, 'यसैले विश्वनाथको ध्वजा विश्वध्वजा हो। वीरध्वजा हो भन्ने कुरा स्पष्ट छ। यसमा वीर भनेर भैरवको बाहन वीर बेताललाई भनिएको हो।'

यी तथ्यहरूले यो ध्वजा विश्वध्वजा र वीरध्वजा मान्न सकिने संस्कृतिविद् श्रेष्ठको भनाइ छ। उनका अनुसार नागनागिनी भनेर प्रचार गरिनु गलत हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.