|

चैत २७, जसले मलाई नमीठो चोट पुर्‍याएको छ र त म यस दिनलाई भुल्न खोज्छु। तर जब यो दिन नजिकिँदै जान्छ, तब मलाई किनकिन नमीठो पीडा अनुभव हुन्छ।त्यसैले यस दिनलाई 'कालो दिन'को संज्ञा दिएको छु।

त्यो कालो चैत २७ गते, जसले मलाई अत्यन्तै ठूलो पीडा दियो, रुवायो र आजपर्यन्त बिर्सन नसक्ने कालो दिनको रूपमा रह्यो। बिर्सन त खास केही नहुनुपर्थ्यो तर खास थियो यस दिन र नै बिर्सन सकिएन।

२०७२ चैत २७ गते जसलाई मैले गुमाएँ, त्यो वास्तवमै मेरा लागि नमीठो पीडा थियो, गहिरो चोट थियो, बल्झिरहने घाउ थियो। र त आज चैत २७ गतेलाई फेरि सम्झिरहेको छु।आजभन्दा ठ्याक्कै दुई वर्षअघि मैले मेरो आत्मीय मित्र गुमाएँ- सशस्त्र प्रहरी निरीक्षक दुर्गाबाबु पाठकलाई। ऊ गाउँथ्यो, म सुन्थेँ, ऊ क्यारिकेचर गर्थ्यो, म हाँस्थेँ अनि सँगै पिएर हल्ला गर्थ्यौं अर्थात् भेट भएपछि विन्दास गफ हान्थ्यौँ, निस्फीक्री घुम्थ्यौँ अनि मस्त पिउँथ्यौँ तर अनियन्त्रित होइन।

चाहे जहाँ होस्, ऊ मेरो खास थियो, आत्मीय थियो अनि मिलनसार र कमेडियन। मनमा कुनै नकारात्मक भावना नभएको, इमान्दार, क्षमतावान्, जिम्मेवारी पूरा गर्न सक्ने अनि विन्दास। त्यसैले हाम्रो ‘ट्युनिङ’ मिल्यो कि! संगीतमा केही गर्दै थियो ऊ। सामान्य होइन, शब्द रचना, संगीत र स्वर आफैँ सिर्जना गर्न सक्ने खुबी थियो उसमा। मैले उसको सांगीतिक यात्रालाई सहयोग गर्थें। मिडियामा उसलाई अन्तर्वार्ता दिन प्रेरित गर्थें, ऊ खुसी हुन्थ्यो। किन यति धेरै मिल्थ्यौँ, खोई!

त्यसैले त कसैले भन्थ्यो- तपाईंहरू जुम्ल्याहा हो? अहँ, पटक्कै होइन, तर त्योभन्दा बढी। त्यसैले त लाग्छ, मैले जिन्दगीको निकै महत्त्वपूर्ण र आत्मीय व्यक्ति गुमाएँ। तर हामीले उसको सांगीतिक यात्रालाई जीवन्त राखेका  छौँ र हामी सि.सं. ७ का सम्पूर्ण ब्याचीहरूको प्रयासले 'दुर्गाबाबु पाठक स्मृति संगीत पुरस्कार' स्थापना गरेका छौँ, जुन हरेक वर्ष सशस्त्र प्रहरी परिवार महिला संघको वार्षिक उत्सवको अवसर पारेर नेपाल एपिएफ विद्यालयमा संगीततर्फ उत्कृष्ट हुने एक छात्र वा छात्रालाई प्रदान गरिन्छ। यसले उसको संगीतलाई जीवन्त राख्छ भन्ने हाम्रो ठम्याइ छ।

गाँउथ्यो मात्र होइन, दुर्गाबाबुका दुईवटा एल्बम बजारमा आइसकेका थिए। पुरस्कार पनि पाएको थियो।

रगतका नाता सबै प्रगाढ कहाँ भएका छन् र! त्यसैले त भावनाको नाता त्योभन्दा कयौँ गुणा बढी निकट हुन्छ, जीवन्त हुन्छ र आत्मीय पनि। सबैसँग तँतँ र मम गर्दै झगडा गर्ने अनि एकैछिनमा फेरि बोल्ने सम्बन्ध कहाँ हुन्छ र! त्यो थोरैसँग हुन्छ। त्यो थोरैमध्येको थियो ऊ मेरा लागि।

हो, हामी मिल्थ्यौँ, असाध्यै। यसको अर्थ हाम्रो कुरा मिल्थ्यो र ऊ मेरा लागि खास थियो, त्यो शब्दमा वर्णन गर्न कहाँ सकिन्छ! त्यसैले त आज मलाई हामी एउटै घरका जस्तो लाग्छ। बुबा, आमा, दाजु, भाउजू अनि दिदी, भान्जीहरू सबै आफ्ना लाग्छन्। उहाँहरूलाई जति सम्झन्छु, भेट्न मन लाग्छ तर सबै कुरा सोचेजस्तो नहुने, खोइ किन?

कमाण्डो जस्तो कडा प्रकृतिको तालिम! अहँ, ऊ रत्तिभर हार खाँदैनथ्यो। थकित र गलेका साथीहरूलाई मीठो गीत सुनाउँथ्यो अनि जोश जाँगर र ऊर्जा प्रदान गर्थ्यो। त्यसैले त ऊ सबै माझ लोकप्रिय थियो। फुर्तिलो थियो, अब्बल थियो, क्षमतावान् पनि। तर दैवको लीला! वि.सं. २०७२ चैत २७ गते चितवनबाट काठमाडौं आउँदै गर्दा धादिङको मलेखुमा भएको अकल्पनीय दुर्घटनामा उसले आफूलाई बचाउन सकेन। उसलाई बचाउने डाक्टरको प्रयास पनि असफल भयो। सायद भगवानलाई पनि असल व्यक्ति धेरै प्यारो लाग्छ कि!

त्यसपछि मलाई पेन्टागन अँध्यारो भयो, विरानो भयो र सुनसान लाग्यो। मैले त्यहाँ सुत्न छोडिदिएँ किनकि बिहान उठेर भवन नै उचालौँला जस्तो गरी गाउने मीठो स्वर अब त्यहाँ गुञ्जिन छोड्यो। सबैलाई हसाउन सक्ने, भुलाउन सक्ने प्रतिभा विलीन भयो तर अझ उसको याद र माया कहाँ भुल्न सक्छु र! न त यो भुल्न सक्ने विषय नै हो।

सम्बन्ध गाढा हुन रगतको नाता हुनुपर्छ भन्ने छैन। रगतका नाता सबै प्रगाढ कहाँ भएका छन् र! त्यसैले त भावनाको नाता त्योभन्दा कयौँ गुणा बढी निकट हुन्छ, जीवन्त हुन्छ र आत्मीय पनि। सबैसँग तँतँ र मम गर्दै झगडा गर्ने अनि एकैछिनमा फेरि बोल्ने सम्बन्ध कहाँ हुन्छ र! त्यो थोरैसँग हुन्छ। त्यो थोरैमध्येको थियो ऊ मेरा लागि। मलाई चिन्नेजति सबैले बुझ्दैनन् वा बुझ्ने कोसिस गर्दैनन्, र त भन्छन्- घमण्डी छ, फुर्ती गर्छ, अटेरी छ वा मिल्न नसक्ने छ। तर जसले बुझ्थ्थ्यो, मजाले बुझेको थियो। र त त्यति धेरै नजिक थियौँ ऊ र म।

साँच्चै मेरो मनले भन्छ- रहरलाग्दो नजिक थियौँ हामी। त्यसैले सशस्त्र प्रहरी निरीक्षक प्यारो स्व. दुर्गाबाबु पाठकप्रति दोस्रो पुण्य तिथिमा हार्दिक श्रद्धान्जलि र उसले 'पंक्षी' एल्बममा गाएका यी शब्द, उसैका निम्ति-

‘मरेर गए ईश्वरको दरबार बाँचुन्जेल नहोस् केही कमी,

आजको मिलन भोलिको छुटन सम्झना रहिरहोस् नौ जुनी।’

लेखक सशस्त्र प्रहरी निरीक्षक हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.