|

काठमाडौं : २०६९ सालमा नेपाल लोकदोहोरी प्रतिष्ठान उपत्यका समन्वय समितिले आयोजना गरेको प्रथम राष्ट्रिय पूजा लोकदोहोरी अवार्ड कार्यक्रम काठमाडौंमा नवगायकको रूपमा उद्घोषकले नाम लिने क्रममा थिए। सबैको मुटुको धड्कन तेज हुँदै थियो। मुटुको धड्कन बढ्दै जाँदा 'सानु कहाँ छौ?' दोहोरी गीतबाट नवगायकको रूपमा मेक्सम खाती क्षेत्रीको नाम उच्चारण भयो।  त्यसै बखत काठमाडौंदेखि ४०५ किलोमिटर टाढा रहेको दाङको नारायणपुरमा बलबहादुर खाती क्षेत्री र यशोदा खातीको घरमा छोरा पुरस्कृत भएको हल्ला एक कान, दुई कान हुँदै आइपुग्यो।

'तिम्रो छोराले हाम्रो गाउँको नाम राख्ने भो', छिमेकीले मेक्समका बारे अनेक अपेक्षा र प्रशंसाको वाणी फुक्दा बाबुआमाले खुसीका आँसु झारे। आफ्ना छोराछोरीले गरेको कामले प्रशंसा पाउँदा कुन बाबुआमालाई खुसी नलाग्ला र? त्यस्तो खुसी न भन्न सकिन्छ, न लेख्न नै, मात्र महसुस गर्न सकिन्छ। त्यसै वर्ष रापती म्युजिक अवार्डबाट पुरस्कृत भएका थिए उनी।

धेरै अवार्ड कार्यक्रममा यो गीत नोमिनेसनमा पर्‍यो। मेक्सम भन्छन्, 'आज म जे छु, त्यो सब यही 'सानु कहाँ छौ' गीतले छु। यदि त्यो गीतलाई दर्शकले मन नपराइदिएको भए सा‌ंस्कृतिक लाइनमा त हुन्थेँ तर यति चर्चित हुन्नथेँ।' उनको जिन्दगीको टर्निङ प्वाइन्ट बनिदियो उक्त गीत। त्यसपछि उनले अरूका एल्बममा धेरै गीत गाए।

पुर्ख्यौली घर गुल्मी, दाङ जन्मथलो सपनाको भारी बोकेर २०६६ मा काठमाडौं आए उनी। काठमाडौं आएको पहिलो दिन नै दोहोरी साँझमा पुगेका उनी त्यहाँको रमझमले तानिए। दुई चार दिनपछि भक्तपुमा दोहोरी साँझमा काम गर्न थाले उनले। दिउँसो पशुपति क्याम्पसको पढाइ, बेलुका दोहोरी साँझ, रातको दुई/तीन बजे फर्कने सिलसिला जारी थियो। यति धेरै दु:ख हुन्थ्यो कि कहिलेकाहीँ सबै कुरा छाडेर घर नै फर्किएझैँ हुने। 

तर दु:खको 'बाउन्ड्री' कट्न नपाउँदै पुन: उनी आफूलाई सम्हालिहाल्थे रे! धत्, काठमाडौं संघर्ष गर्न आएको हुँ, नाम कमाउन आएको हुँ, यतिको मिहिनेत त गर्नै पर्छ। तनमनमा गीतका भाकाहरू सलबलाइरन्थ्यो। विस्तारै दोहोरी साँझमा गीत गाउँदा गाउँदै केही रकम जम्मा गरे उनले। उनको गायनमा परिपक्वता आउँदै गयो। केही वर्षको मिहिनेतपश्चात २०६८ मा उनले 'सानु कहाँ छौ' गीत रेकर्ड गरे। यो गीत बजारमा आइसकेपछि मात्र उनले संगीत सिकेका हुन्।

विगत चार वर्षदेखि गुरुकुल पाठशाला बागबजारमा संगीत सिकिरहेका छन् उनले। संगीत सिक्नुअघि साथीहरूले भन्थे रे 'स्वर बिग्रन्छ, विचार गरेस्।' साथीहरूको त्यस्तो सुझाव सम्झँदै उनले भने, 'अचेल त लाग्छ, त्यो गीत आज निकाल्न पाएको भए कमजोरीहरू अझ कम गर्न सक्थे हुँला।'

लोकदोहोरी गीतहरू हुन् वा आधुनिक तथा सुगम संगीतका लागि, संगीत सिक्नु एकदमै अनिवार्य रहेको बताउँछन् उनी। उनका दाजु नरेश खाती क्षेत्री  पनि नेपाली सांगीतिक क्षेत्रमा रहेकाले आफूलाई संगीतमा लाग्न प्रेरणा मिलेको उनी बताउँछन्। उनी भन्छन्, 'दाइ आफैँ पनि राम्रो गीत गाउने मान्छे हो। तर आफ्नो गाउने कलालाई मारेर मलाई प्रेरित गर्नुहुन्छ। मेरा लागि संगीत भर्नुहुन्छ।' लोक, आधुनिक, पप सबै प्रकारका गीत गाउन खुबी राख्ने उनले ०७१ सालमा 'आई लभ यु' गीत बजारमा ल्याए। त्यसलाई श्रोताले खुबै मनपराए। उनका 'लाहुरे हो कि ड्राइभर', 'रुँदैरुँदै तिम्रो शहर', 'गुल्मी जाने हो', 'व्युटी व्यूटी छ', 'माया नमार'लगायतका गीतहरू बजारमा आइसकेका छन्।

बाल्यकालदेखि नै गीत संगीतमा रुचि राख्ने उनी सानै उमेरमा विमलराज क्षेत्री, रामजी खाँड, राजु परियारका गीत सुनेर हुर्किए। रेडियोमा उनीहरूका गीत सुन्दा एक दिन म पनि यस्तै हुन्छु भन्ने सपना सजाउँथे रे उनी। उनी भन्छन्, 'गीत गाउने रहर पूरा भयो। गीतले नाम र दाम पनि दियो।' उनको स्वर रामजी खाँडसँग मिल्नु अर्को दुर्भाग्य हो। उनी आफैँ यो कुरा स्वीकार्छन्। रामजी खाँडको स्वरसँग उनको स्वर मिल्ने हुँदा उनको संघर्षले अझ केही समय पिछा छोड्ने वाला भने छैन। उनी भन्छन्, 'यही कारण पनि मैले संघर्ष अझ कडा गर्नुपर्छ, पृथक र सुन्दर गीत गाउन सक्नुपर्छ। यसै क्षेत्रमा टिकिरहन आज पनि संघर्षरत छु। हेरौँ, कहाँसम्म पुगिन्छ।'

उमेरले भर्खर २२ कटेका उनी लोकभाकाहरू पछिल्ला दिनमा खस्किँदै गएकामा दुखी छन्। लोकभाका, दु:ख-वेदना, सामाजिक संस्कार, संस्कृति, प्रेम, समाज, वातावरणलगायतका सबै कुराहरूलाई समेटेर गीत सिर्जना गर्न चुक्नु विडम्बना भएको उनको भनाइ छ।  बजारले पनि सस्ता गीत सुनिदिने, नाम र दामको लोभमा सर्जकले पनि मिहिनेत नगरी अश्लील, दुई अर्थ लाग्ने गीत रेकर्ड गरिदिँदा लोक संगीतको मर्ममाथि नै नकारात्मक प्रभाव परेको मेक्सम बतारउँछन्। वागमतीले बिगारेको आफ्नो स्वरूप हेर्दै  उनले भने, 'सबै कलाकार त्यस्ता छैनन् तर नराम्रो काम एउटाले गरिदिए मात्र पनि पुग्छ। कहिलेकाहीँ लोक संगीतमा नै लामो जिन्दगी बिताएका हरिदेवी कोइराला, लक्ष्मी न्यौपाने, बीमाकुमारी दुरा, शर्मिला गुरुङ, बमबहादुर कार्कीलगायतका अग्रजहरूले के सोच्दा हुन् भन्ने लाग्छ।'  

गीतका एल्बम निकालेर प्रशस्त सम्पति कमाइन्छ भन्ने धारणा त्यागेका उनले गायनमा लागेर सामान्य जीवन बाँच्न सकिने प्रशस्त सम्भावना महोत्सव तथा स्टेज प्रोग्रामहरूले दिएको चाहीँ सत्य रहेको बताए। 'तर राम्रोलाई भन्दा हाम्रोलाई प्राथमिकता दिने तथा नातावाद र कृपावाद प्रवृत्ति हावी रहेकाले राम्रा सर्जकको पलायन हुने अवस्था छ', उनी भन्छन्, 'यस्तो प्रवृत्ति हट्न सके राम्रा सर्जक पलायन हुने अवस्था आउने थिएन।'

पैसाको आडमा भन्दा पनि कला र क्षमता हुनेले सांगीतिक क्षेत्रमा काम गरिदिए संगीतको मर्म नमर्ने उनको तर्क छ। रोधीघरमा दुई महिना मादल बजाएर सिधै गीतमा संगीत भर्नेहरू पनि यहाँ प्रशस्त रहेका बताउँदै उनी भन्छन्, 'गीतमा संगीत गर्नु, गीत लेख्नु विद्यालयमा गरिने कार्यक्रम जस्तो होइन। एउटा गीत बजारमा निस्किनेवित्तिकै लाखौँ श्रोतामाझ पुग्छ। हाम्रा संस्कृति, संस्कार झल्किने गीत भए भने सकारात्मक प्रभाव पर्छ नत्र आमश्रोतामाझ नकारात्मक असर त पर्छ नै, त्योभन्दा बढी हाम्रा लोक संगीत नै धरापमा पर्न सक्छन्।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.