|

काठमाडाैं : बेलायत नेपाल प्रज्ञा परिषदको अध्यक्षमा डा कृष्ण अधिकारी निर्विरोध चयन भएका छन्। 

हालै भएको निर्वाचनमा आगामी चार बर्षको लागि डा. कृष्ण अधिकारीको नेतृत्वमा तीन जना मुख्य कार्यकारी पदाधिकारीहरूको निर्विरोध चयन भएका हुन्। महासचिवमा लण्डन स्कुल अफ इकोनोमिक्सकी डा. पुनम यादव र कोषाध्याक्षमा बर्मिङ्घममा विश्वविद्यालयका डा. फ्रेजर सग्देन निर्वाचित भएका छन्।

परिषदले आयोजना गरेको १६ औं नेपाल अध्ययन दिवस (नेपाल कन्फरेन्स) को सिलसिलामा अप्रिल १७ मा दरहम विश्वविद्यालयमा बसेको साधारण सभाले उनिहरुलई चयन गरेको हो। 

अक्सोफोर्ड विश्वविद्यालयको मानवशास्त्र विभागका अनुसन्धानदाता डा. अधिकारी नेपाल अध्ययन केन्द्र बेलायतका संस्थापक सदस्य र पूर्व कार्यकारी निर्देशक हुन्। अध्यक्ष बन्नु अघि उनी उक्त परिषद्को महासचिव रहेका थिए । उनी परिषदको चौथो अध्यक्ष हुन्। यस अघि प्रा. सूर्य सुवेदी, प्रा. माइकल हट र प्रा. डेविड गेल्नरले सो पदमा रही सेवा गरि सकेका छन्। परिषदले प्रत्येक दुई  वर्षमा चार वर्षका लागि चार चार जना कार्यकारी सदस्यको निर्वाचन गर्दछ भने तीन जना पदाधिकारी छुट्टै निर्वाचन गर्ने गर्दछ। 

कुल ७० जनाको सहभागिता रहेको र दुई प्यानलमा सञ्चालन भएको उक्त कन्फरेन्सको सिलसिलामा लुम्बिनी म्युजियम, १९७७ को हिमालयन एक्पिडिसन, तिलौराकोट उत्खनन् को बारेमा थप विशेष प्रस्तुति र सेरा तामाङको मुख्य प्रस्तुति रहेको थियो।

यो सालदेखि युरोप वा दक्षिण एसियाका कुनै एक विश्वविद्यालयमा भर्ना भै नेपाल वा संसारभरिका नेपालीसँग सम्बन्धी विषयमा विद्यावारिधि गरेका विद्यार्थीहरूका लागि प्रतिस्पर्धात्मक रूपमा छनोट हुने गरी ‘विद्यावारिधि शोधपत्र पुरस्कार’ सञ्चालनमा ल्याइएको जनाइएको छ। परिषदका अनुसार सन् २०१८ को पुरस्कार कोपनहेगन विश्वविद्यालयकी डा. मरिना क्रोजेनेभिकाले  प्राप्त गरेकी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.