|

भक्तपुर : महाविनाशकारी भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि भक्तपुरका सम्पदाहरुले पुननिर्माण कार्यमा गति लिन सकेका छैनन्। ०७२ बैशाख १२ र २९ गतेको भूकम्पले क्षति भएका पुरातात्विक एवं ऐतिहासिक महत्वका सम्पदाहरुको सम्बन्धित निकायबीच समन्वय हुन नसक्दा पुनर्निर्माण कार्यले गती लिन नसकेको हो।

भूकम्पले जिल्लामा १०६ वटा सम्पदा पूर्णरुपमा क्षति भएको थियो भने १२६ वटा सम्पदा आशिंक क्षति भएको दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालय भक्तपुरको तथ्याङकमा उल्लेख छ। ती सम्पदामध्ये अहिले जम्मा दुई दर्जन जतिको मात्र पुनर्निर्माण कार्य सम्पन्न भइसकेको छ।

यो हुनुमा पुरातत्व विभाग, नगरपालिका र सम्बन्‍धित निकायबीच समन्वय, बजेट, दक्ष जनशक्ति र आवश्यक सामग्रीको अभावले गर्दा पुरातात्विक एवं ऐतिहासिक महत्वका सम्पदाहरुको पुनर्निर्माण कार्यमा ढिलासुस्ती हुन पुगेको हो।

दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालय भक्तपुरले भूकम्पपछि तत्काल सुधार कार्यक्रमअन्‍तर्गत तलेजुको सैनिक आवास गृह, दरबार स्क्वायरको जगन्नाथ मन्दिर, गोलमढीको गणेश मन्दिर, मध्यपुर थिमीको महालक्ष्मी र चोडे गणेश मन्दिर, चाँगुनारायण मन्दिर, यन्त्र वत्सला मन्दिरको मर्मत तथा सुधार गरिसकेको जनाएको छ।

भूकम्पले जिल्लाका आशिंक क्षति पुगेको सम्पदाको उद्दार कार्यसँगै ती सम्पदाहरुको निर्माण कार्य जोड दिएको दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालय भक्तपुरका इन्‍जिनियर मोहन श्रेष्ठले जानकारी दिए।

उनले पोस्‍ट डिजास्टर निड एसेन्ट(पिडिएनए)अन्‍तर्गत परेका सम्पदाहरु फसी देवल-शिलु महादेव तव सत्तल(लामो पाटी) र राष्ट्रिय कला संगहालय, अनन्त लिंगेश्वर महादेव र सिद्धि लक्ष्मी मन्दिरको पुनर्निर्माण कार्य भइरहेको जानकारी दिए। ‘पिडिएनएअन्तर्गत चाँगुनारायण मन्दिर र दक्षिण बाराही मन्दिरको भने पुनर्निर्माण कार्य सम्पन्न भइसकेको छ,’ उनले भने।

इन्‍जिनियर श्रेष्ठले पुनर्निर्माणको कार्य सकेसम्म छिटो गर्दै आएको दाबी गर्दै भने, ‘सम्पदालाई पुरानै स्वरुप दिनुपर्ने भएकाले जनशक्ति भए पनि हचुवाको भरमा काम गर्न नमिल्ने भएपछि अलि ढिलाइ भएको हो।’

दरबार क्षेत्रको फसी देगः(शिलु महादेव) ४ करोड २२ लाख, तव सत्तल ३ करोड १२ लाख, सिद्धिलक्ष्मी मन्दिर २ करोड २२ लाख, १ करोड ११ लाखको लागतमा दधिकोटको अनन्तलिंगेश्वर महादेव मन्दिरको  पुनर्निर्माण कार्य भइरहेको इन्‍जिनियर श्रेष्ठले जानकारी दिए।

इन्‍जिनियर श्रेष्ठले बहुवर्षीय कार्यक्रमअन्‍तर्गत पोस्‍ट डिजास्‍टर्ड रिकभर फाउण्ड (पिडिआरएफ) मा परेका २८ वटा सम्पदाहरुमध्ये चाँगुको सरस्वती मन्दिर, महामञ्जु श्री क्षेत्र र भक्तपुरको महालक्ष्मी देवगृहको पुनर्निर्माण कार्य सम्पन्न गरिसकेको जानकारी दिए।

सूर्यविनायकको आमा गणेश मन्दिर र थिमीको चोडे गणेशको पाटीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। बाकी रहेका सम्पदाहरुको पनि पुनर्निर्माण कार्यका लागि आवश्यक छलफल भइरहेको जानकारी दिँदै उनले भने, 'नियमिततर्फ परेका तीनवटा सम्पदाहरु द्वयमाजु परिसर संरक्षण, गोपीनाथ मन्दिर संरक्षण र तलेजु संरक्षणको कार्य पनि भइरहेको छ। सम्पदा पुनर्निर्माणको लागि आवश्यक काठ र दक्ष जनशक्तिको अभावले  पनि पुनर्निर्माणले सोचेजस्तो गति लिन नसकेको हो।'

जिल्लामा अहिले सम्पदा संरक्षण र पुनर्निर्माणका लागि नेपाल सरकार, भक्तपुर नगरपालिका, थिमी नगरपालिका र हेरिटेज कन्जरभेसन एण्ड इनभारोमेन्टल फाउडेसनलगायतका संघ संस्थाले काम गरिरहका छन्।

भक्तपुर नगरपालिकाले हालसम्म दरबारस्क्वायर प्रवेश गर्ने ऐतिहासिक खौमा प्रवेशद्वार, ५५ झ्याले दरबारको दक्षिण पूर्वी कुनामा रहेको नारायण मन्दिर र दरवार स्क्वायर परिसरको अग्लो बद्रीनारायण मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न गरिसकेको छ।

पिडिएनएअन्तर्गत परेका अर्को दुईवटा सम्पदा वत्सला दुर्गा मन्दिर १ करोड २८ लाख ६२ हजार २ सय १३, केदारनाथ मन्दिर ७२ लाख ६३ हजार ३ सय ९७ रुपैयाँको लागतमा पुननिर्माण कार्य गरिरहेको नपाका सम्पदा प्रमुख रामगोविन्द श्रेष्ठले जानकारी दिए।

उनले खौमा प्रवेशद्वारसँगै दरवार स्क्वायरको त्रिविक्रम नारायण मन्दिर, हरिहर नारायण मन्दिर, दत्तात्रय स्क्वायरमा रहेको भीमसेन सत्तल ममर्त र लक्ष्मी नारायण मन्दिरको ममर्त कार्यसमेत नपाको बजेटमा सम्पन्न गरेको जानकारी दिए।

नपाले ऐतिहासिक सिद्धपोखरीको पर्खाल मर्मत तथा रंगरोगन, गपलीस्थित ढुंगेधारा उत्खनन, द्यननी इनार उत्खनन, ध्वनन्चा ढुंगेधारा संरक्षण, लःघुपाटी संरक्षणको कामसमेत सम्पन्न गरिसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.