|

जाजरकोट : विनाजानकारी ९० दिनसम्म लगातार गयल भए कुनै पनि कर्मचारीलाई स्वतः जागिरबाट हटाउन सकिने प्रावधान छ तर ११ वर्षसम्म कार्यालयमा हाजिर नहुँदा पनि जिल्ला अस्पताल जाजरकोटमा कार्यरत एक स्वास्थ्यकर्मीको जागिर कायमै छ। 

अस्पतालमा कार्यरत छैटौं तहका स्वास्थ्य सहायक धनिकलाल यादव २०६४ देखि सम्पर्कविहीन छन्। उनी कहाँ छन्, के गरिरहेका छन्, अस्पताललाई जानकारी छैन तर उनी कार्यरत दरबन्दी उनकै नाममा ‘होल्ड’ छ।

स्वास्थ्य सेवा ऐन र नियमावली अनुसार ९० दिनसम्म विनासूचना कार्यालयमा अनुपस्थित भए विभागीय प्रमुखले स्वतः अवकाश दिने प्रावधान छ। उनलाई कारवाहीका लागि सम्बन्धित निकायमा पटकपटक लिखित पत्राचार गरे पनि कार्यान्वयन नभएको अस्पताल प्रशासनले जनाएको छ। पटकपटक पत्रिकामा डाक्टरको विषयमा पत्रचार गर्दा पनि सम्पर्कमा आएका छैनन्। 

अस्पतालका प्रशासन प्रमुख दशरथ लामिछानेका अनुसार पाउने सबै विदा यादवले सकिसकेका छन्। यो अवधिमा उनले कार्यालयबाट तलब समेत लिएका छैनन्। स्रोतका अनुसार मेडिकल अधिकृतको अध्ययन पूरा गरिसकेका यादवले सर्लाहीको लहानमा निजी क्लिनिक सञ्चालन गरेर बसिरहेका छन्।

नियमित हाजिर भएर पाउने सुविधा भन्दा निजी क्लिनिकमा धेरै पैसा कमाइ हुुने त छँदैछ पहुँचको भरमा यसरी नै जागिर जोगाउन सकिए पेन्सन लगायतका सुविधा उपयोग गर्न पनि उनले जागिर जोगाएर बसेका छन्। 'हाजिर हुन आउनेबारे उनको घरमा पत्रचार गरिएको छ, सञ्चारमाध्यमबाट सार्वजनिक सूचना गरिएको छ', अस्पतालका प्रशासन प्रमुख लामिछानेले भने, 'तर कारवाही हुन सकेन।' 

लामो समय विना सुचना अनुपस्थित हुने स्वास्थ्य सहायक यादवलाई अवकाश गर्न सक्ने अधिकार स्वास्थ्य सेवा विभागलाई छ तर कानुनी झमेलाका कारण बर्खास्त नहुँदा उनको पद लामो समय देखि होल्ड भएर बसेको छ। 'उहाँलाई कारवाही नभएसम्म पदपूर्तिसमेत हुन सक्दैन', लामिछानेले भने, 'जसले गर्दा उपचार सेवा समेत प्रभावित भएको छ।’

अस्पताल प्रमुख डा. केशरजंग कार्कीले लामो समय देखि अस्पतालमा कार्यरत स्वास्थ्य सहायक सम्पर्कविहीन हुँदा उपचार सेवा प्रभावित भएको स्वीकार गरे। 'यादवलाई कारवाही गरी पदपूर्ति गर्न बारम्बार विभागमा ताकेता गरे पनि सुनुवाइ भएन', उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.