|

काठमाडौं : काठमाडौंको रत्नपार्क, वीर अस्पताल, न्यूरोड गेट र सुन्धारा आसपासको क्षेत्रमा हमेशा भीडभाड रहन्छ। पैदलयात्रीको ठेलमठेल र गाडीहरुको ताँतीको बीचमा यहाँ धेरै यस्ता व्यक्तिहरु भेटिन्छन्, जसले यही भीडभाडको सदुपयोग गरेर आफ्नो जीविका चलाइरहेका छन्। त्यसैमध्येमा पर्छन् आफूलाई भविष्यज्ञाता भन्दै हात हेर्नेहरु पनि। निधारमा रातो टीका, सम्भव भएसम्म पहेँलो पहिरन र नभए कम्तिमा एउटा रामनामी, ग्रहदशाका केही पुस्तक र पात्रो, झट्ट हेर्दा यही हो उनीहरुको हुलिया। 

काभ्रेको बनेपाका ५३ वर्षीय राम कार्कीले यहाँ बसेर भविष्य बताउन थालेको चार वर्ष पुग्यो। उनको दैनिकी बिहान चार बजेबाट नै सुरु हुन्छ। प्रत्येक बिहान बनेपाबाट नै यहाँसम्म आउने गरेका कार्कीले धेरैथरीका मानिसको हात हेरेका छन्।

ती मध्ये कतिपयले विश्वासका साथ हात हेराएको त कतिपयले हाँसी मजाकका रुपमा देखाएको अनुभव उनीसँग छ। समग्रमा भन्नुपर्दा सबैभन्दा धेरै जिज्ञासा प्रेम र वैवाहिक जीवनबारे आउने गरेको उनले सुनाए। 'कतिपयले विश्वासको साथ हात हेराउँछन्, केही हाँसी मजाकको शैलीमा पनि आउँछन्,' उनले भने, 'धेरैजसो युवा-युवतीले आफ्नो प्रेम सम्बन्धबारे नै जिज्ञासा राख्ने गरेका छन्।'

यसरी दुनियाँको हात हेरेर भविष्य बताउँदै सडकको धुलो खानुको एउटै उद्देश्य जीविका चलाउनु हो र त्यो चलेकै छ।

यसै स्थानमा भेटिने अर्की पात्र हुन् ४८ वर्षीया हरिमाया परियार। उनले यसरी भविष्य बताउन थालेको ७ वर्ष भयो। आफूमा श्री स्वस्थानी माताको शक्ति रहेको दाबी गर्ने उनी हरेक दिन बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म रत्नपार्कस्थित पिपलको बोटमुनि भेटिन्छिन्। उनले गरेका भविष्यवाणीहरु मिले/मिलेनन् त्यो छुट्टै पाटो होला तर, यसले उनको गुजारा भने राम्रैसँग चलेको छ। चारजना सदस्य रहेको परिवार यहीँको आम्दानीले पालिँदै आएको छ।

हरिमायालाई हात देखाउने मानिसहरु थरी-थरीका हुन्छन्। 'आर्मी, पुलिस, व्यापरीदेखि बाटो हिँड्ने युवा-युवतीसम्म हात हेराउन आउँछन्,' उनी भन्छिन्, 'म सित हात हेराएर गएपछि तपाईंले हेरको मिलेन भन्न आजसम्म कोही आएको छैन।'

भविष्य बताएबापत प्रतिव्यक्ति ५० देखि १५० रुपैयाँसम्म लिने गरेको र अशक्तलाई नि:शुल्क भविष्य बताउने उनी दिनमा ५/७ सय कमाउँछिन्। कहिलेकाहिँ दिनभरी कुरेर रित्तो हात फर्किनु परेको अनुभव पनि उनीसँग छ।
हरिमाया र राम त प्रतिनिधी पात्रमात्र हुन्। यसक्षेत्रमा त्यस्ता कैयन व्यक्ति छन्, जसले यही फूटपाथको सहारामा जीविका चलाइरहेका छन्। कुनै बेला घण्टौँ कुर्दा पनि कोही आउँदैन, कुनैबेला भीड थामिसाध्ये हुँदैन। कहिले घाम, कहिले छायाँ, तर पनि जसोतसो जिन्दगी चलेकै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.