|

काठमाडौं/जनकपुरधाम : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार जनकपुरमा दुई घण्टा बिताउने छन्। निकै व्यस्त भ्रमण तालिकासहित प्रदेश २ को अस्थायी राजधानी जनकपुरबाट सुरु हुने दुईदिने भ्रमणमा भारतीय प्रधानमन्त्री मोदीले जानकी मन्दिरमा पूजापाठ, रामायण सर्किटको उद्घाटन र जनकपुर–अयोध्या बस सेवा उद्घाटन तथा नागरिक अभिनन्दन कार्यक्रममा सम्बोधन गर्ने तय भएको वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावास कार्यालयका महावाणिज्यदूत बीसी प्रधानले जानकारी दिए।

जानकी मन्दिरका महन्थका उत्तराधिकारी (छोटे महन्थ) रामरोशनदास वैष्णवले दिएको जानकारीअनुसार, प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री मोदी दुवै जनाले पूजा गर्नसक्ने गरी मन्दिरले तयारी गरेको छ। तर मन्दिरमा मोदीलाई स्वागत गर्ने प्रधानमन्त्री ओलीले मोदीसँगै पूजा गर्ने वा नगर्ने एकीन जानकारी मन्दिरलाई छैन। मन्दिरका छोटे महन्थ वैष्णवले करिब आधा घन्टा मोदीले पूजा गर्ने अनुमान गर्दै भने, ‘आधा घण्टाको पूजापछि प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले रामायण सर्किटको संयुक्त उद्घाटन गर्ने कार्यक्रम रहेछ।’ त्यसलगत्तै जनकपुर–अयोध्या बस सेवाको पनि दुई देशका प्रधानमन्त्रीले संयुक्त उद्घाटन गर्ने कार्यक्रम छ।

जनकपुरका तीन वटै कार्यक्रम सकेपछि भारतीय प्रधानमन्त्री मोदी सीधै काठमाडौं जाने कार्यतालिका रहेको वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावास कार्यालयले जनाएको छ। भारतीय प्रधानमन्त्री मोदी आफ्नै एटीआर विमानबाट जनकपुर अवतरण गर्ने जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। कार्यक्रम सकेलगत्तै उनी आफ्नै एटीआर विमानबाट काठमाडौं जाने भारतीय महावाणिज्य दूतावास कार्यालयका महावाणिज्यदूत बीसी प्रधानले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.