|

जाजरकोट : फलामे लट्ठा (लहरा) मा राखेर यातायातका साधनहरू नदी तारिन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ। तर यो सत्य घटना हो जाजरकोट-डोल्पा सडक खण्डकाे। जाजरकोट-डोल्पा सडक खण्डमै सवारी साधनहरू संचालन भएका तर पुल निर्माण हुन नसकेका विभिन्न ठाउँमा यसरी नै  फलामे लट्ठाबाट भेरी नदी तारिने गरिन्छ। 

करिव पाँच वर्षदेखि यस सडक खण्डमा चल्ने यातायातका साधनहरू फलामे लट्ठाका भरमा भेरी नदी तार्ने गरिदै अाइएकाे छ। सडक खण्डको निर्माण कार्यले गती लिएसँगै यहाँका आधा दर्जन ठाउँमा यातायातका साधनहरू नदी तार्नका लागि फलामे लट्ठामा भर पर्नुपर्ने वाध्यता छ। ११७ किलोमिटर सडक खण्ड मध्ये १०० किलोमिटरभन्दा बढी सडकको निर्माण कार्य पूरा भएको छ। सडक निर्माण पूरा भएका ठाउँमा पुलहरू निर्माण नहुँदा दैनिक फलामको लट्ठाका भरमा जीप, ट्याक्टर र अन्य सवारी साधन भेरी नदीमा वारपार गराइन्छ। एकपटक फलामको लट्ठाबाट सवारी साधन तारेको ५० हजारदेखि ८० हजार रुपैयाँसम्म शुल्क लाग्ने गर्दछ। 

रुकुमको आठविसकोट नगरपालिकाको राडीवाट जाजरकोटको नलगाड नगरपालिका आठमन्मैमा फलामको लट्ठामा यातायातका साधनहरू तारिन्छ। त्यस्तै गरी नलगाड नगरपालिका ११ को तल्लुदेखि रुकुमको आठविसकोट नगरपालिकाको गोतामकोट अनाहबीचको भेरी नदीमा पनि फलामकै लट्ठाबाट यातायातका साधनहरू वारपार गर्ने चलन छ। यहाँ पनि यातायातका साधन वारपार गरेको ५० हजारदेखि ८० हजार रुपैयाँसम्म शुल्क तिर्नुपर्ने वाध्यता रहेको छ। 

कहाँ-कहाँ निर्माण भएनन् पुल?

जाजरकोट डोल्पा सडक खण्डभित्र निर्माण भएको सडकमा ठेकेदारको लापरवाहीका कारण पुल निर्माण भएका छैनन्। पुल निर्माण नहुँदा दैनिक लट्ठाको भरमा यातायातका साधनहरू नदी तारिने गरिएका छन्। चिसापानी वैरीतालबीचमा भेरी नदीमा पनि पुल निर्माण कार्य सम्पन्न नभएर स्थानीयले सास्ती भाेग्नु परेको हाे। निर्माण कार्य पूरा हुने समय बितिसक्दा पनि यहाँ मोटेरेवल पुल बनिसकेकाे छैन।

रुकुम आठविसकोट नगरपालिका राडी-जाजरकोट नलगाड नपा मन्मैबीचमा रहेको भेरी नदीमा पुल निर्माणका लागि राज्यको ध्यान नजाँदा सास्ती हुँदै आएको छ। त्यस्तै जाजरकोट तल्लु र रुकुम अनाहबीचमा रहेको भेरी पुल निर्माण हुन बाँकी रहेको छ। त्यस्तै यो सडक खण्डका बीचमा रहेका साना खोलाहरूमा दर्जन पुल निर्माण नहुँदा यहाँका स्थानीयले सास्ती भोग्दै आएका छन्। 

नेपाली सेनाले सडक निर्माण कार्य पूरा गरे पनि राज्यले पुल निर्माणमा ध्यान नदिँदा सास्ती भोग्नु परेको हो। यस सडक खण्डको छेपारेदेखि डोल्पाको त्रिवेणीसम्म आधा दर्जन पुल निर्माण गर्नुपर्ने देखिन्छ। दैनिक सो सडक खण्डमा दुई दर्जनभन्दा बढी जीप, वस, ट्याक्टर र ट्रक सञ्चालन हुने गर्दछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.