|

जाजरकोट  ः डोल्पाका विभिन्न पाटनहरूमा प्रवेश गर्ने यार्सा संकलकहरूबाट दुई दिनमा ४० लाख १९ हजार ९ सय प्रवेश शुल्क संकलन भएको छ।

डोल्पाका एक दर्जनभन्दा बढी यार्सा पाटनहरूमा जिल्लाभित्र र जिल्लाबाहिरका बासिन्दाहरू संकलन गरिरहेका  छन्। शेफोक्सुन्डो राष्ट्रिय निकुञ्‍जभित्र पर्ने यार्सा पाटन मंगलबारदेखि खुला भइसकेको छ भने आधा दर्जन सामुदायीक वनहरूमा यही  १० गते पाटन खुला गरिँदै छ। 

डोल्पाको सुलिगार्ड कार्यालय, तोईजम कार्यालय र धो कार्यालयबाट गरी मंगलबार ’क’ वर्गका १ हजार ६३ जना ’ख’ वर्गका ६ सय १४ जना र ’ग’ वर्गका ८ सय ३५ जना यार्सा संकलकहरू प्रवेश गरेको छन् भने दोस्रो दिन ’क’ वर्गका ८४ जना ’ख’ वर्गका २७ जना र ’ग’ वर्गका ८४ जना यार्सा संकलकहरू पाटनमा प्रवेश गरेको शे फोक्सुन्डो राष्ट्रिय निकुञ्‍ज सुलिगाड डोल्पाका सहायक संरक्षण अधिकृत प्रकाश उप्रतीले बताए। 

डोल्पा जिल्ला भौगोलिक विकट र सञ्चार माध्यम नभएकोले अन्य प्रवेश नाकाहरूबाट उठेको प्रवेश शुल्कको विवरण आउन नसेको शे फोक्सुन्डो राष्ट्रिय निकुञ्‍ज सुलिगाड डोल्पाले जानकारी दिएको छ।

गत वर्षझैँ यो वर्ष पनि वन क्षेत्रमा पर्ने समुदायलाई ’क’ वर्ग जिल्लाभित्रका समुदायलाई ’ख’ वर्ग र जिल्लाबाहिरका समुदायलाई ’ग’ वर्गमा विभाजन गरिएको छ भने पाटनमा प्रवेश गरेबापत ’क’ ले १ हजार ’ख’ ले २५ सय र ’ग’ वर्गका समुदायले ३ हजार ५ सय प्रवेश शुल्क तिरेर प्रवेश  गर्नुपर्नेछ। यार्सा संकलकहरूलाई एक महिनाको समय अवधि दिइएको छ। प्रायः जसोे संकलकहरु एक महिनामा यार्सा टिप्ने अनि वर्षभरी घरखर्च र बालबालिका पठनपाठनमा खर्च चलाउने गर्दछन्।

पाटनमा गस्ती कक्षा सञ्चालन

विद्यार्थीलाई यार्सा पाटनमै कक्षा नछुटोस् भनी शिक्षक र विद्यार्थीहरु पाटनमै कक्षा सञ्चालन गरेका छन्। घुम्ती विद्यालय सञ्चालन अनुदान कार्यक्रममार्फत ६ वटा यार्सागुम्बा पाटनमा घुम्ती विद्यालय सञ्चालन गरिएको शिक्षा विकास तथा समन्वय एकाइका शाखा अधिकृत सिंहराज डाँगीले जानकारी दिए। हिमाली यार्सा पाटनमा अध्यापन गराएबापत एक शिक्षकले २० हजारका दरले तलब पाउनेछन्।

घुम्ती विद्यालयमा पढ्न आउने विद्यार्थीहरूका लागि किताब, कापी, कलम, खाजाको व्यवस्थासमेत गरिएको छ। डेढ महिना सञ्चालन हुने घुम्ती कक्षाका लागि एउटा कक्षाका लागि तीनजना शिक्षक र एक प्रधानाध्यापक संयोजक रहने गरी जनशक्तिको व्यवस्थापन गरिएको शिक्षा अधिकृत डाँगीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.