|

जाजरकोट : कर्णाली प्रदेशको बजेट विनियोजन सार्वजानिक भए पनि यहाँका ठूला जलविद्युत् आयोजना, राजमार्ग र नयाँ शहरको निर्माणको गति भने सुस्त छ। माथिल्लो कर्णाली जलविद्युत् आयोजना, कर्णाली पञ्चकोशी राजमार्ग, नलसिङगाड जलविद्युत् आयोजना, नयाँ शहर, मध्यपहाडी राजमार्ग, जाजरकोट जुम्ला सडक, भेरी ए,बी,सी र डी जलविद्युत् आयोजना कर्णाली प्रदेशका ठूला आयोजना हुन्।

यी आयोजना सम्पन्न भए स्थानीय उत्पादनको बजारसम्मको पहुँच, शहरीकरण र विद्युतीकरण तीव्र गतिमा हुनुकासाथै कर्णालीलाई विकास र समृद्धिको  पथमा लैजाने जनप्रतिनिधिहरूको दाबी छ। कर्णाली प्रदेशमा पर्ने दैलेखको राकम कर्णाली र पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको चौरजहारीमा नयाँ शहर निर्माण गर्ने भनिए पनि खासै काममा गति नदेखिएको स्थानीयको भनाइ छ।

स्थानीय सरकार गठनपछि आयोजनाको काम अगाडि बढेको दैलेखको आठबीस नगरपालिका प्रमुख खड्गराज उपाध्यायले बताए। उनले भने, ‘स्थानीयसँगको छलफलपछि जग्गा फुकुवा गरिएका छन्।’ अहिले राकम कर्णाली–४ को सेरावाडा र बगरखेतमा नयाँ शहरका लागि पूर्वाधार निर्माण गर्न डीपीआरको काम सुरु गरिएको छ। गतवर्ष आयोजनाले छ करोड ६८ लाख रुपैयाँ विनियोजन गरेको थियो। सडक निर्माण, सार्वजनिक जग्गा संरक्षणलगायतमा खर्च गरिएको शाहले बताए। यो वर्ष १० करोड विनियोजन भएको छ।

त्यस्तै, पश्चिम रुकुमको चौरजहारीमा आर्थिक वर्ष ०६८\६९ मै नयाँ शहर निर्माणको घोषणा गरिएपनि तीन वर्षअघि मात्रै काम सुरु भएको हो। सुरुवाती वर्षमा भवन डिभिजन कार्यालय, रोल्पाले हेर्दै आएको भएपनि गत वर्षदेखि चौरजहारीमै नयाँ शहर आयोजना कार्यालय स्थापना भएको छ।  आयोजनाको भवनसहित सडक, बसपार्क निर्माणको काम भइरहेको निमित्त आयोजना प्रमुख रञ्जनकुमार दासले बताए। त्यस्तै, चौरजहारीमा चक्रपथ निर्माणको काम भइरहेको छ। ४२ मध्ये १५ किलोमिटर ट्रयाक खोलिएको छ। त्यस्तै, मुख्य बजारको ७\८ किमी कालोपत्रे गर्न थालिएको छ।

सात सयजना अटाउने सभागृह र एकीकृत सेवा केन्द्रको डिजाइन भइरहेको छ भने जग्गा विकास कार्यक्रमअन्तर्गत छ सय रोपनी जग्गा छनोट गरिएको छ। सभागृह, एकीकृत सेवा केन्द्र र जग्गा विकासको काम यही वर्षबाट सुरु हुने दासले बताए। यो योजनाअन्तर्गत चौरजहारी नगरपालिका–१ देखि ५ वडामा नयाँ शहर निर्माण हुन लागेको हो। तीन वर्षमा १० करोड खर्च भइसकेको छ।

नलसिङगाडको डीपीआरमै ढिलाइ

जाजरकोटको नलगाड नगरपालिका–१ मा निर्माण हुने जलाशययुक्त नलसिङगाड जलविद्युत् आयोजनाको डीपीआरमै ढिलाइ भएको छ। नलगाड सरोकार समिति अध्यक्ष गणेशप्रसाद सिंहले भने, ‘डीपीआरको काममै ढिलाइ भइरहेको छ।’

४१० मेगावाट क्षमताको यो आयोजनाको विद्युतगृह नलगाड नगरपालिका–७ दल्लीमा रहनेछ। बारेकोट गाउँपालिका–८ अँधेरी खोलामा जलाशययुक्त बाँध निर्माण हुनेछ। अँधेरी खोलाबाट ८.२५ किलोमिटर लामो सुरुङमार्फत दल्लीस्थित विद्युतगृहमा पानी खसालिनेछ। यसका लागि कालिमटीदेखि अँधेरी खोलासम्मको १० किलोमिटरमध्ये तीन किलोमिटर पहुँच मार्ग मात्रै निर्माण भएको छ। त्यस्तै, कालिमटीदेखि खनटाकुरा हुँदै सिर्के अँधेरी खोलासम्म वैकल्पिक पहुँचमार्ग निर्माणका लागि भर्खरै ठेक्का दिइएको छ।

स्मेक कम्पनीले बाँधस्थल र विद्युत् गृहको डीपीअार बनाउने जिम्मा लिएको थियो। ४० प्रतिशत काम सकिएको आयोजनाका प्रतिनिधि नरेन्द्रसिंह भण्डारीले बताए । ३ सय ५० मिटरभित्र भूमिगत विद्युत गृह निर्माण गरिनेछ। भेरी नगरपालिका–१ रिम्नामा रहेको १५ क्विन्टलको जेनेरेटर र २४ क्विन्टलको ड्रिलिङ मेसिन ल्याएपछि भर्खर काम सुरु भएको छ। अहिले सम्म ३३ मिटर भुमिगत सुरुङ्ग निर्माण गरिएको छ।

कर्णालीमा  सडकको यस्तो छ गति

सुर्खेतदेखि दैलेखको पश्चिमी भूभाग, कालिकोट हुँदै जुम्ला जाने कर्णाली राजमार्गको दूरी २३७ किलोमिटर छ। यसको विकल्पमा सुर्खेत देखि दैलेख, कालिकोट हुँदै जुम्ला जोड्ने सडक निर्माणाधीन छ। यसलाई पञ्चकोसी राजमार्गको रूपमा अगाडि बढाइएको छ। दैलेखका प्रदेश सभा सदस्य अम्मरबहादुर थापाका अनुसार, यो सडक सञ्चालनमा आए कर्णाली राजमार्गभन्दा ७० किलोमिटर छोटो हुनेछ। यो सडक मुगु हुँदै चीनको नाग्चेनाँग्लासम्म जोड्ने तयारी रहेको थापाले बताए।

सुर्खेतदेखि दैलेखसम्मको ६५ किलोमिटर पक्की सडक छ। दैलेखदेखि कालिकोटको सिमानासम्म ३२ किलोमिटर सडकको स्तरोन्नति भइरहेको छ। गतवर्ष पाँच करोड रुपैयाँ खर्च गरिएको थियो। दैलेखबाट कालिकोटको पद्मघाट जोड्न पक्की पुल आवश्यक छ। यो राजमार्ग निर्माणका लागि पनि पहल गर्ने सांसद गजेन्द्रबहादुर महतले बताए। जसले कर्णालीको यात्रा सहज हुने स्थानीयको भनाइ छ।

डोल्पामा सडक निर्माणमा सेना

डोल्पा सदरमुकाम दुनैलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने सडक निर्माणमा नेपाली सेना खटिएको छ। जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत श्रीविण्डे–त्रिपुराकोट खण्डमा निर्माण कार्य भइरहेको छ। १ सय १७ दशमलव ७ किमीमध्ये १ सय १४ दशमलव ७ किमी सडक निर्माण भइसकेको छ। श्रीविण्डे–त्रिपुराकोट खण्डमा रहेको भीरमा निर्माण कार्य भइरहेको छ।

यसलाई चीन र भारत जोड्ने सडकमा रूपमा लिइएको छ। उपल्लो डोल्पाबाट मोरिम्ला नाका हुँदै चीनसँग र बाँकेको रुपैडिया नाका हुँदै भारतसँग जोडिनेछ। यो चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो सडक भएको डोल्पाका सांसद सत्य पहाडीले बताइन् । उनका अनुसार चीनको मोरमिलादेखि डोल्पाको दुनैसम्म १२० किमी, दुनैदेखि जाजरकोटसम्म ११७ किमी र जाजरकोटबाट नेपालगञ्ज १६७ किमी छ। यो सडकमा तीनवटा पुल बनाउन बाँकी छ।

कर्णाली  प्रदेशको अर्को गौरवको आयोजनाका रूपमा हेरिएको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको उत्पादन क्षमता ९०० मेगावाट छ। निर्यातमुखी आयोजना भएकाले यसबाट स्थानीय बासिन्दाले १२ प्रतिशत सेयर र रोजगारी पाउनेछन्। जसले गर्दा यो आयोजनालाई प्रदेश ६ को गतिलो आम्दानीको स्रोतका रूपमा हेरिएको छ। सन् २००८ मा यो आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी जीएमआरलाई दिइएको थियो। १० वर्ष बितिसक्दा जग्गा विवाद र स्थानीय बासिन्दाको अवरोधमै आयोजना रुमलिइरहेको छ।

आयोजनास्थल वरपर पर्ने रूख कटान, स्थानीयलाई दिनुपर्ने मुआब्जालगायतका विषय टुंगो लागेका छैनन् दैलेखको आठबीस नगरपालिका–१ डाबमा बाँध निर्माण गरिनेछ। करिब ५८ मिटर अग्लो बाँधमा संकलन हुने पानीलाई दुईवटा सुरुङमार्फत अछाममा निर्माण गरिने विद्युत गृहमा खसालिनेछ। लगानी बोर्ड र जीएमआर कम्पनीबीच सन् २०१४ मा आयोजना विकास सम्झौता भएको थियो।

सम्झौताको दुई वर्षभित्र वित्तिय व्यवस्थापन गर्नुपर्ने भए पनि जीएमआरले अहिलेसम्म लगानी जुटाउन सकेको छैन। निर्यातमुखी परियोजना भएकोले ‘क्रस बोर्डर गाइड लाइन’ का लागि भारत सरकारबाट प्रस्ताव आएको छ। सो अनुसार कागजात तयार गर्ने काम भइरहेको छ। दुवै पक्षको सहमतिपछि हरियाणा र बंगलादेशसँग बिजुली खरिद सम्झौता हुने जनाएको छ। तर, स्थानीय बासिन्दा भने आयोजना बन्नेमा अझै विश्वस्त भैसकेका छैनन्।

मध्यपहाडी राजमार्गको काम सुस्त

राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्गले कर्णाली प्रदेशका तीन जिल्लालाई समेट्छ। १ हजार ७६५ किलोमिटरमध्ये यो प्रदेशका रुकुम पश्चिममा ७४, जाजरकोटमा ८२ र दैलेखमा १२४ गरी २८० किमि पर्छ। ट्र्याक खोलिएको भए पनि कालोपत्रे भने भएको छैन। यसले कर्णाली प्रदेश  मा बजार र पहुँचको विस्तार गर्ने दैलेखका प्रदेश सभा सदस्य अम्मरबहादुर थापाको भनाइ छ। प्रदेश सरकारको नीति तथा कार्यक्रममा यी सबै कुरा समेटिए पनि अहिलेसम्म कामको गति निराशाजनक नै छ।

जाजरकोट जुम्ला सडक काम निराशाजनक

जाजरकोट हुँदै जुम्ला जोड्ने सडकको काम निकै सुस्त भएको छ। पाँचकाटियाबाट बारेकोट हुँदै  जुम्ला लिने सडकमा बीच , बीचमा आ आफ्ना भूगोल पायक पर्ने ठाउँमा सडक लिन खोज्दा सडक निर्माणमा ढिला भएको छ। अहिले सम्म खलंगादेखि पाँचकाटिया हुँदै फुलचाउँलीसम्म मात्र सडक निर्माण भएको छ। पर्याप्त बजेट अभावमा समेत यो सडक निर्माणमा ढिला भएको छ।

दाङ हुँदै रारा जोड्ने सडकको नयाँ रुट बन्दै

दाङ बाट सल्यान, रुकुमका भाग हुँदै जाजरकोट सदरमुकाम छोएर जुम्ला हुँदै रारा पुग्ने सडकको नयाँ रुट निर्माणका लागि छलफल सुरु भएको बन तथा वातारवण मन्त्री शक्तिबहादुर बस्नेतले बताए। यो रुट निर्माण भएसँगै नौ घण्टामै रारा पुग्न सकिने उनको दाबी छ। यसको डीपीअारको काम सुरु गर्न आउँदो आर्थिक वर्षमा काम सुरु हुने छ।

अर्गानिक प्रदेशको अवधारणा

कर्णाली प्रदेशले १० बटा जिल्लालाई विभिन्न कार्यक्रम दिएर अर्गानिक प्रदेश बनाउने नीति लिएको छ। त्यसका लागि स्थानीय उत्पादन बढाउनु पर्नेमा प्रदेश सरकारको जोड छ। आयात मात्र होइन निर्यात पहिलो प्राथमिकता कर्णाली प्रदेश सरकारको मुख्य जोड भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले बताए। जलस्रोत, खनिज पदार्थसँगै जडिबुटीको मुख्य भण्डार मानिने कर्णाली प्रदेशलाई समृद्ध बनाउनका लागि लगानीमैत्री वातावरण बनाउने मुख्य चुनौती छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.